कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

हराउँदै पाल्पाली करुवा

कच्चा पदार्थ र कामदार अभाव हुँदा पाल्पामा रहेका १८ मध्ये १७ परिवारले करुवा बनाउन छाडे, पाल्पाले कमाएको करुवा ख्याति मेटिने चिन्ता
माधव अर्याल

पाल्पा — चितवनबाट तानसेन घुम्न आएकी ३५ वर्षीया प्रिया अधिकारीले टुँडिखेलमा राखिएको १४ फिट अग्लो र ४ सय केजी तौलको करुवाको सामुन्नेमा फोटो खिचिन् । सँगै गएका साथीहरूले पालैपालो फोटो खिचेपछि उनीहरूले जिज्ञासा राखे, ‘साँच्चै पाल्पाली करुवा बनाउने उद्योग कता छ ?’

हराउँदै पाल्पाली करुवा


उद्योग वाणिज्य संघ पाल्पाले २०७० सालमा जिल्लाको परिचय जोडिएको करुवाको इतिहास जगेर्ना गर्न भन्दै टुँडिखेलमा करुवाको ठूलो प्रतिमूर्ति निर्माण गरेको हो । बज्राचार्य वर्कसपका दिनेश बज्राचार्यले झन्डै तीन महिना लगाएर यो करुवा तयार गरेका थिए । तानसेन–६ का वडाध्यक्ष सागरमान महर्जनले यो करुवा अहिले मेला, पर्व, आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण बनेको बताए । तर, पाल्पा आएका आन्तरिक पर्यटकलाई देखाउनका लागि पाल्पासँग यही करुवाको मूर्तिमात्रै रहला कि भन्ने चिन्ता बढ्दै गएको छ । किनकि, परम्परागत सीपमा आधारित करुवा उद्योगको संख्या बर्सेनि घट्दै गएको छ । करुवा बनाउन जान्ने सीप भएकाहरू पनि यो पेसाबाट पलायन भइरहेका छन् ।

२०५५ सालसम्म पाल्पाको पहिचान थियो, ‘पाल्पाली करुवा’ । ‘द्वन्द्वकाल (२०५१–२०६२) पछि बिस्तारै पर्यटकीय गतिविधि शून्य भयो,’ तानसेन–३, टक्सारका उद्योगी दीपेन्द्र बज्राचार्यले भने, ‘त्यसपछि करुवा बिक्री हुन छाड्यो ।’ उनका अनुसार विदेशी पर्यटकले पाल्पाली करुवा बढी मन पराउँथे । मुलुकमा द्वन्द्व सुरु भएपछि पर्यटक आउन छाडे । त्यसपछि करुवाको बिक्रीमा पनि कमी आयो ।

हातैले एक महिना लगाएर बनाइने पाल्पाली करुवालाई उच्च गुणस्तरीय पनि मानिन्थ्यो । तानसेन नगरपालिकाका सूचना अधिकृत भरत आचार्यले दैनिक २ सयको हाराहारीमा फोटो खिच्नेहरू आउने गरेको बताउँदै उनीहरूमध्ये धेरैले हातैले बनाउने करुवाको विषयमा जिज्ञासा राख्ने गरेको बताए ।

अधिकृत आचार्यले करुवा बनाएको हेर्न पनि संयोग जुर्नुपर्ने अवस्था आएको बताए ।

उद्योगी धीरेन्द्रलाल शाक्यले हातैले करुवा बनाउने प्रक्रिया लामो हुने र यो झन्डै महिना दिनसम्म चल्ने बताए । धीरेन्द्रका बुबा ८६ वर्षीय रामलाल शाक्यका अनुसार तानसेनमा करुवा उद्योग राणाकालमा सुरु भएको हो । ‘राणाहरूले काठमाडौंका नेवार कालिगडलाई टक अर्थात् सिक्का छाप्न तानसेन ल्याएका थिए,’ उनले भने, ‘पश्चिमको शासन गर्ने थलो भएकाले यहाँ ती कालिगड ल्याएर काममा लगाएका हुन् ।’

पाल्पामा करुवा बनाउने परम्परागत पेसा अँगालेकाहरू बसोबास गर्ने टोलको नाम नै टक्सार टोल छ । टक काट्नेहरूका परिवारले टोलको नाम नै ‘टक्सार’ राखेको यहाँका पुराना बासिन्दा दिलबहादुर शाक्यले बताए । ‘करुवा बनाउने काम पनि उनीहरूले नै सुरु गरेका हुन्,’ उनले भने, ‘अहिले टक्सारको सिक्का छाप्ने चलन छैन । त्यस्तै पहिले जस्तो प्रत्येक घरमा करुवा पनि बनाउने चलन हटिसक्यो ।’ कुनै बेला यसै टोलका १८ घरपरिवारले करुवा बनाउने गरेकामा अहिले एक परिवारबाहेक सबै पलायन भएको ८६ वर्षीय रामलालले बताए । पछिल्लो समय कच्चा पदार्थको कमी, कामदारको अभाव, मेसिनले बनेका करुवा बजारमा छ्यापछ्याप्ती आएपछि यहाँका करुवा लोप हुन लागेको उनको गुनासो छ ।

तानसेन नगरपालिका–३, टक्सारमा तीन पुस्तादेखि तानसेन करुवा उद्योग सञ्चालित छ । जसलाई अहिले हाँकिरहेका छन्, प्रदीप बज्राचार्यले । प्रदीपका हजुरबा स्वर्गीय सूर्यमान बज्राचार्यले ‘पाल्पाली करुवा’ को डिजाइन निकालेका थिए । उनले नै अहिले देखिने पाल्पाली करुवाको १ सय ८ वर्षअघि सुरुवात गरेको प्रदीपले सुनाए । ‘पैसा कमाउन अब त्यस्तै हो, पुरानो भएकाले नाम र इज्जत पाइएको छ,’ प्रदीपले भने, ‘तानसेन आउने जो–कोही करुवा खोज्दै यहाँ आउँछन् । त्यसैमा आनन्द मिलेको छ ।’

करुवा बनाउनेहरूको संख्या अहिले घट्दै गएको प्रदीपले बताए । कतिपयले करुवाको वैकल्पिक काम पित्तलबाट बन्ने झल्लरी, पानस, गजुर, मूर्ति बनाउन थालेको उनले बताए । १० वर्षअघिसम्म करुवा बनाउने उद्योग तीन घरमा उद्योग चले पनि अहिले प्रदीप जिल्लाका एक्ला उद्योगी हुन् । उनले पहिले प्रतिपरिवारले वर्षको ५ हजार बढी करुवा बनाउने गरेको इतिहास रहेको बताउँदै अहिले वर्षमा मुस्किलले २ हजार तयार पारिरहेको बताए । ‘व्यावसायिक छैन । कसैले अर्डर गर्दा मात्र बनाउने गरिन्छ,’ उनले भने, ‘बाहिरका कामदार पाउन छाडिएकाले घरपरिवार मिलेर बनाउने हो ।’

तानसेन टक्सारमा बनाइने करुवा पुराना काँसका भाँडा गालेर बनाइन्छ । थोत्रा काँस पाल्पा र छिमेकी जिल्लामा पाउन छाडेको उद्योगी प्रदीपले बताए । पुराना काँसका भाडा संकलन गर्न बाँके, बर्दिया, दाङ, रूपन्देही, नवलपरासी, कपिलवस्तु, नारायणगढ, पोखरा, काठमाडौंसम्म प्रतिनिधि राख्नुपरेको छ । ‘पुराना थोत्रा काँस र तामा गालेर राङ्ग बन्छ,’ उनले भने, ‘पाल्पाली करुवाको विशेषता यही हो । बाहिरबाट बनेर आउने करुवा ढलोटको हुन्छ । टल्काउन पित्तल राखिएको हुन्छ ।’

पाल्पा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्षसमेत रहेका करुवा उद्यमी उत्तममान बज्राचार्यले पुराना काँसका भाडा सहजै पाउन छोडिएको बताए । ‘बजारमा मेसिनले बनाएर आएका करुवा धेरै सस्तोमा पाइन्छ,’ उनले भने, ‘त्यसले गर्दा पाल्पाली करुवा महँगो भनेर खरिद गर्न नचाहने भएकाले पनि बनाउन नखोजिएको हो ।’ उनका अनुसार कार्यालयहरू वा संघसंस्थाले उपहार दिँदा सस्तो र मेसिनले बनाएको करुवा उपहार दिने चलनले गर्दा पनि हातले बनाएका करुवा बिक्री हुन छोडेको तर्क गरे । बजारमा सस्तोमा पाइने करुवामा बेलुका पानी राखेर बिहान पिउँदा तम्तमिएको हुने उनले बताए । तर, असली पाल्पाली करुवामा पानी जति दिन राखे पनि केही नहुने उनको दाबी छ ।

‘हामीले थोत्रा काँस नै किलोको १ हजार ५ सय रुपैयाँसम्म तिर्नुपर्छ,’ उनले भने, ‘मैनदेखि लिएर अन्य खर्च लागतअनुसारको पाइँदैन ।’ उद्योगी प्रदीपका अनुसार करुवा बनाउन मिहिनेत बढी छ । माटो र मैनको फर्मा बनाउनुपर्छ । दुई–तीन पटक रातो (लेसिलो) माटोले लिपेर सुकाउनुपर्छ । माटोबाट बनेको करुवाको स्वरूपलाई भट्टी (इट्टा पोलेजस्तै) मा पोल्नुपर्छ । त्यसपछि फर्मामा काँस र तामाबाट गालेको झोल राखेपछि करुवाले आकार लिन्छ । यसलाई टल्काउन समय लाग्छ । चरा अलग्गै बनाउनपर्छ ।

टक्सार टोलकै उद्योगी मनिन्द्र र दीपेन्द्र बज्राचार्यले १० वर्षअघिसम्म करुवा निर्माण गर्थे । ‘हाम्रा बाजे काठमाडौंबाट आएर यहाँ धातुकला, टक काट्ने, मूर्ति बनाउने गरेको भन्ने बुबाले सुनाउनु हुन्थ्यो,’ उद्योगी मनिन्द्रले भने, ‘बाजे, बुबा हुँदै हामी पनि यही पेसामा छौं ।’ अहिले करुवा बजारमा बिक्री गर्न समस्या छ । बाहिरबाट पाल्पाली करुवा चाहियो भने मात्र अर्डरअनुसारको बनाउन अहिले पनि सकिने उनले बताए । ‘मेसिनबाट बनेका नक्कली करुवा र हामीले बनाउने करुवामा धेरै फरक छ भन्ने बुझाउन सकेका छैनौं,’ उनले भने, ‘मेसिनबाट बनेका ढलोटको करुवा धेरै सस्तो पर्ने भएकाले त्यही खरिद गरेको पाइन्छ ।’

बजारको समस्या, कालिगड नपाउने र काँसको उपलब्धता नभएपछि अहिले पित्तलका अन्य सामग्री निर्माण गर्ने गरेको उद्योगी मनिन्द्रले बताए । ‘धेरथोर पुस्तान्तरणको पनि समस्या होला,’ मनिन्द्रले भने, ‘हाम्रा छोराछोरीले दुःख गर्न नचाहेर पनि हो जस्तो लाग्छ ।’

बजारमा हातैले बनाएको करुवा महँगो भएकाले बिक्रीमा समस्या छ । ‘हातैले बनाएको एउटा काँसको करुवा सबैभन्दा सानो कम्तीमा २ हजार ५ रुपैयाँ पर्छ,’ मदनपोखरा ढाका पसलकी प्रोप्राइटर व्यापारी शितम भण्डारीले भनिन्, ‘तर सोही करुवा अन्य सामग्री प्रयोग गरेर मेसिनले बनाएको भने ७ सयदेखि एक हजारमा पाइन्छ ।’

तानसेन करुवा उद्योगमा काम गर्ने बाहिरी कामदार तीन वर्षअघिसम्म एक जना मात्र थिए, तानसेन नगरपालिका–११, बन्दीपोखरा, जुकियाका लेखबहादुर विक । तीन वर्षअघि तानसेन नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र ग्रामीण आर्थिक विकास संघ (रेडा) ले तालिम सञ्चालन गरेपछि विकले आफ्नै उद्योग खोले । उनले १० वर्ष तानसेन करुवा उद्योगमै सहयोगी भएर काम गर्थे । २०७८ सालमा उद्योग सुरु गरे पनि बजारमा बिक्री गर्न नसक्दा ६ महिनादेखि बन्द छ ।

पछिल्ला दिनमा प्रदीपका घरपरिवारका सात जनाले उद्योग धानेका छन् । पहिचान बोकेको ‘पाल्पाली करुवा’ उद्योग पछिल्लो समयमा सीप र प्रविधि हस्तान्तरण हुन सकेन । ‘तालिम लिएर आउने हो भने मैले काममा लगाउँछु भनेकै थिएँ,’ प्रदीपले भने, ‘घरेलु, उद्योग वाणिज्य संघ, नगरपालिकालाई सीप सिकाउँछु भनेको छु । तर भनेजस्तो भएन । कामदार नै पाइँदैन । सीप सिक्नै खोज्दैनन् ।’

नेपालगन्ज र पोखरामा बन्ने करुवा र पाल्पाली करुवामा फरक हुने स्थानीयको दाबी छ । ‘हामीले बनाउने करुवामा काँस शुद्धता हुन्छ,’ उद्योगी प्रदीपले भने, ‘तर, अन्य करुवाको यस्तो हुँदैन ।’ बजारमा मेसिनबाट ढलोटको करुवा बढी बिक्री हुने भएकाले पाल्पाली करुवा खोज्न पनि कम आउने गर्छन् । ‘यसको महत्त्व बुझेका र जानेकाले मात्रै खोज्न आउने हुन्,’ उद्योगी उत्तमले भने, ‘मेसिनबाट बनेका करुवा नै सस्तो मूल्यमा किन्ने गर्छन् ।’

अहिलेसम्म यहाँ मैन, भट्टी, माटो, देवलमाटोकै प्रयोग गरेर पाल्पाली करुवा बनाइन्छ । अझैसम्म मेसिनको प्रयोग गरिएको छैन । यहाँ उत्पादन हुने हस्तकला प्रयोग हुने भएकाले आकर्षक हुन्छ । ‘मेसिनबाट बनेको करुवाको फिनिसिङ हेरेरै चिन्न सकिन्छ,’ उद्योगी बज्राचार्यले भने, ‘डिजाइन भने चोरेका छन् ।’ तानसेनमै मेसिनबाट बनेको करुवालाई ‘पाल्पाली’ भनेर व्यापारीले बिक्री गर्छन् । कतिपयले पाल्पाली करुवा कस्तो हो भनेर चिन्न सक्दैनन् । यहाँ बन्ने करुवा पछिल्लो समय जापान, बेलायत, अमेरिका र थाइल्यान्डमा बस्ने नेपालीले घरमा सजाउन, पानी पिउनका लागि लैजाने गरेको उद्योगीले बताए । मुलुकभित्रका पर्यटक, सरकारी कार्यालयले मेसिनबाट बनेका ‘नक्कली पाल्पाली करुवा’ खरिद गर्ने गरेको उद्योगी बज्राचार्यको गुनासो छ ।

भारतबाट कच्चा पदार्थ ल्याउन पहल गर्नुपर्ने उद्योगी बज्राचार्यले बताए । गाउँघरमा रहेका काँसका पुराना, थोत्रा र फुटेका थाल, कचौराहरू सकिंदै गए । स्थानीय तह, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ, जिल्ला समन्वय समितिले पनि यसमा चासो नदेखाएको उद्योगी बज्राचार्यको गुनासो छ । पाल्पाली हातैले बनाउने करुवा उद्योगका विषयमा स्थानीय तह र प्रदेश सरकारसँग कुरा भइरहेको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताए । ‘अब नयाँ ढंगले अघि बढ्ने सोंच बनेको छ,’ उनले भने ।

सरकारी निकाय वा संघसंस्थाको तालिम लिनेमा महिला र पुरुष दुवै हुन्छन् । तर महिलाले काम गर्न झन्झटिलो मानेर सुरु नै गर्दैनन् । ‘पुरुष पनि तालिम लिन्छन्, त्यसपछि लगानी गर्न डराउने र झन्झटिलो काम भन्ने गर्छन्,’ उनले भने, ‘त्यसैले पनि काम गर्ने मान्छे पाउनै समस्या छ ।’ करुवा बनाउने सीप नयाँ पुस्तामा हस्तान्तरणको प्रयास पनि नभएको होइन । २०७७ सालमा तानसेन नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र ग्रामीण आर्थिक विकास संघ (रेडा) ले तालिम सञ्चालन गर्दा १३ जनाले सीप सिके ।

त्यसमध्ये चार जनाको समूहले नयाँ उद्योग खोले । पाल्पाली ब्रान्डेड करुवा उद्योग सुरु गरे पनि कच्चा पदार्थको अभाव र बजारमा महँगो भएर बिक्री गर्न धौधौ भएपछि ६ महिनादेखि बन्द भएको छ । तीन जना समूहबाट बाहिरिए । उद्योगी लेखबहादुर विकले २०७९ सालमा तानसेन गैरागाउँको उद्योग तानसेन–११, जुकिया बन्दीपोखरामा सारे । ‘मैले करुवा बनाउने सीप टक्सारमै रहेको तानसेन करुवा उद्योगबाट सिकेको हो,’ उनले भने, ‘करुवा उद्योग खोले पनि बजारमा बिक्री गर्न समस्या भयो ।’

तीन महिना आधारभूत र पुनः १५ दिनसम्म लिएको सीपलाई प्रयोग गरेर उद्योग खोलेको उनले बताए । त्यसअघि उनले करुवा उद्योगमा सहयोगी कामदार भएर काम पनि गरेका हुन् । उद्योग खोल्नका लागि नेपाल बैंकबाट सहुलियत व्याजदरमा १० लाख ऋण लिए । थप ६ लाख लगानी थियो । ‘काम सुरु गरियो तर बजारमा बिक्री गर्नै समस्या भयो,’ उद्योगी लेखबहादुरले भने, ‘उद्योग खोले पनि यसलाई टिकाउने वातावरण नै तयार भएन ।’

तालिम दिने संस्थाले पहिलो पटक उत्पादन भएको खरिद गरेको थियो । पछि बजारका भाँडा पसल, ढाका पसलमा लगेर दिए पनि बिक्री नै नभएको जवाफ आउने गरेको उनले बताए । ‘हामीसँग प्रशस्त पुँजी छैन,’ उनले भने, ‘त्यसैले लगानी गरेर राख्न सकिएन । त्यसैले अहिले बन्द गरेको छु ।’ नगर सरकार, प्रदेश र संघीय सरकारले बजार व्यवस्थापन र लगानीमैत्री वातावरण बनाउने हो भने पुनः उद्योग सञ्चालन गर्न सकिने उनले बताए ।

प्रकाशित : कार्तिक २४, २०८० ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?