भूकम्पपीडितको आँगनमा चेली न भैली

जाजरकोट र रुकुम पश्चिममा पनि फूल त फुलेका छन्, तर घर सग्ला छैनन् । माइतीको मृत्यु भएको छ, दिदीबहिनीको घरमा पनि शोक छ, कोही घाइते छन् । कोही जाडोले बिरामी, यस्तोमा कसरी तिहार मनाउने ?

कार्तिक २६, २०८०

कृष्णप्रसाद गौतम, महेश केसी

(रुकुम पश्चिम र जाजरकोट) — रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१ चाइना बगरमा भत्किएका घरछेउमा लहरै राखिएका त्रिपाल छेउछाउ कोही पारिलो घाममा यत्तिकै बसिरहेका छन् त कोही कामकाज गर्दै छन् । एउटा त्रिपाल नजिकै रेडियोमा बजिरहेको छ, ‘भैलिनी आइन् आँगन, गुनियो चोली मागन... हे औंसी बार गाईतिहार भैलो... ।’ 

तिहार सुरु भएसँगै रेडियोमा बजेको यो गीतअनुसारको कुनै माहोल छैन यस ठाउँमा । स्थानीय आइती पुन भन्छिन्, ‘रेडियोमा तिहारका गीत बज्छन् । मन धुरुधुरु रुन्छ । हामीलाई त यो बेला के तिहार, के चाडबाड ?’ तिहार सुरु भइसके पनि रुकुम पश्चिमका भूकम्पपीडितहरूमा चाडको कुनै रौनक 

छैन । आफन्त र घरबास गुमाएकाहरू कसरी दिन कटाउने र प्राण जोगाउने भन्ने पीरमा छन् । आठबिसकोट नगरपालिका–१४ की मनकला महतराले सुनाइन्, ‘दसैंपछि तिहारको पर्खाइ त थियो तर त्योभन्दा अघि नै भूकम्पले केही बाँकी राखेन ।’

झन्डै ५ वर्षपछि असोज अन्तिम साता जाजरकोटको नलगाड नगरपालिका–१ च्युरीगाउँका भीमसेन विक दसैं मान्न घर फर्किए । भारतमा एक्स्काभेटर चलाउने उनी परिवारसहित उतै बस्थे । तिहार मानेर फर्किने योजनासहित पत्नी कमला र ४ वर्षीय छोरा सञ्जय लिएर गाउँ आएका भीमसेनको परिवार नै गत शुक्रबारको भूकम्पमा अस्तायो । ‘परिवारको सहारा नै उही थियो, तिहार मानेर फर्किन्छु भन्यो, दसैं मात्र मानेर फर्किएको भए परिवार बच्ने रहेछ,’ उनका ५० वर्षीय बाबु हस्तबहादुर विकले भने, ‘न परिवार रह्यो, न सम्पत्ति नै । पूरै गाउँले एकसरो त्रिपाल र कम्बलको भरमा रात बिताउन बाध्य छौं ।’ 

 छोरा, बुहारी र नाति एकै झमटमा गुमाएका हस्तबहादुर अहिले पत्नी महिमीसँग छन् । भूकम्पमा परी च्युरीगाउँका मात्रै १३ जनाको ज्यान गयो । सबैको सामूहिक अन्त्येष्टि गरिएयता गाउँ पूरै शोकमा डुबेको छ । ‘यहाँ कोही पनि तिहार मनाउने अवस्थामा छैनौं,’ स्थानीय अगुवा सुरेश विकले भने, ‘१०/१५ परिवारका दरले सामूहिक रूपमा बारीमा बसिरहेका छौं, पुरिएका सामान काम नलाग्ने भएपछि राहतको त्रिपाल र कम्बलले चिसो रात थेग्नै मुस्किल भइरहेको छ ।’ झन्डै ८० घरधुरी रहेको च्युरीगाउँमा तिहारको सुरसार त छैन नै, खेतीपातीको काम पनि ठप्प छ । दसैंपछि अधिकांश स्थानीय खेत जोत्ने र गहुँ छर्ने तयारीमा थिए । यहीबेला भूकम्प आएपछि खेतबारीको काम त्यसै लथालिंग भएको अर्का युवा बलवीर विकले बताए । 

‘पोहोरसम्म यतिबेला तिहारको रौनक सुरु भइसक्थ्यो, देउसीभैलोको तयारीमा हुन्थ्यौं, पकाउने र घर सफाइको चटारो हुन्थ्यो । अहिले घर वरिपरि फूलहरू फुलेका त छन्, तर घर भत्किएका छन्,’ उनले भने । 

‘छिमेकमा शोक छ, कतिपय घाइते छन्, कोही चिसोले बिरामी भइरहेका छन्, यस्तोमा कसरी तिहार मनाउने ?,’ उनले बताए । च्युरीगाउँभन्दा झन्डै डेढ घण्टा पैदल दूरीको भेरी नगरपालिका–१ रावत गाउँ पनि शोकमा डुबेको छ । भूकम्पका कारण यहाँ मात्रै १६ जनाको ज्यान गएको छ । ‘पारि रुकुमतिरका गाउँमा मादल बजेको सुनिन्छ, तर हाम्रोतिर भने मन भत्भती पोलिरहेको छ,’ स्थानीय अंगबहादुर नेपालीले भने, ‘यो तिहार त हाम्रा लागि दशाजस्तै भयो ।’ भूकम्पमा परी उनको घर पूरै भत्किएको छ भने ८ जनाको परिवार एउटा त्रिपालको भरमा ओत लागेको छ, चिसोले सुत्नै सकिन्न, तपतपी शीत चुहिन्छ, दिनहुँजसो कोही न कोही बिरामी परिरहेका छौं ।’ 

 वडा १ का स्थायी बासिन्दासमेत रहेका भेरी नगर कार्यपालिका सदस्य डोटे नेपालीले झन्डै ९० घर रहेको गाउँमा कसैले पनि तिहारको तयारी नगरेको बताए । ‘हाम्रा दिदीबहिनीका घर पनि भूकम्पले ढलेका छन्, बारीमा त्रिपाल टाँगेर बसिरहेका छौं,’ उनले भने, ‘हामीसँग न तिहार मनाउने खर्च छ न पर्याप्त खाद्यान्न नै, दिदीबहिनीको अवस्था पनि उस्तै हुँदा तिहारका लागि आफन्तलाई निम्ता गर्न पनि सकिएन ।’ यस्तो अवस्थामा घर वरिपरि फुलेका सयपत्री, मखमलीलगायत फूलले पनि गिज्याइरहेको जस्तो लाग्ने उनले बताए । 

सदरमुकाममा पनि भूकम्पपीडितका लागि राहत लिएर आउने र भूकम्पको अनुगमन गर्नेको मात्र चहलपहल देखिएको स्थानीय वासुदेव शर्माले बताए । ‘चाडबाडको चहलपहल त छुट्टै हुन्थ्यो, किनमेल गर्ने, धनतेरसमा नयाँ सामान खरिद गर्नेको भीड हुन्थ्यो,’ उनले भने, ‘काग तिहारकै १/२ दिनअघि घर लिप्ने, रंगरोगन गर्ने, सेल–फिनी पकाउने, भैली खेल्नेलगायतका रौनक हुन्थ्यो, सबै पीडितले एकसरो त्रिपाल पनि पाएका छैनन्, पीडितको घरमा खाने अन्नसमेत छैन ।’ भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले चाडबाडकै समयमा नसोचेको विपद् हुँदा सबैतिर निराशा छाएको बताए ।

 भूकम्पका कारण जाजरकोटका झन्डै ३४ हजार र रुकुम पश्चिममा पनि १० हजार परिवार घरबाहिरै छन् । त्यसमध्ये आधाजसोलाई राहत गए पनि पुग्दो छैन । ‘एउटा त्रिपाल र कम्बलको भरमा ९ जनाको परिवार छ, पुरिएका लुगा निकालेर जसोतसो चिसो रात काटिरहेका छौं,’ भेरी–२ का अहिभान केसीले भने, ‘राहतको एक बोरा चामल पनि सकिन थाल्यो, अरू राहत नआए तिहारमा भातै खान नपाइएलाजस्तो छ ।’ भूकम्पमा मानवीय क्षति नबेहोरे पनि बाहुनथानमा तिहारको रौनक नभएको उनले बताए । 

 अघिल्लो वर्षको तिहारमा सपरिवार भेला भएर रमाइलो गरेको मिठो सम्झना छ । यसपालि भूकम्पले आफन्त बितेपछि गाउँ शोकमा भएको बताउँदै मनकलाले थपिन्, ‘आँगन छेउमा हजारी फुलेका छन् । तर के गर्नु फूलहरूसँग हेराहेर मात्रै भइरहेको छ । यसपल्टको तिहार यस्तै भयो ।’ 

 आठबिसकोट ज्यामिरेका रमेश मल्लले देउँसीभैलो खेलेर रमाइलो गर्ने भनेर बनाएको दसैं लगत्तैको योजना त्यसै तुहिएको बताए । ‘गाउँकै युवा क्लबबाट देउसी खेल्ने भनेर साथीभाइ जुट्दै थियौं । एक्कासि भूकम्प आएपछि सबै योजना सिसा झैं फुट्यो,’ उनले भने । 

 रुकुम पश्चिमका भूकम्पपीडित आँखैअघि अस्ताएका आफन्त र भत्किएको घर हेरेर बसिरहेका छन् । छेउछाउ कतै पनि तिहारको छनक नभएको भन्दै सानीभेरी–४ गोलचौरकी सावित्री चन्द भन्छिन्, ‘सबैतिर सुनसान छ । सबैको अनुहार मलिन छ । यस्तो बेलामा के तिहार, के चाडबाड ।’

जाजरकोट भुकम्प

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully