परकम्प निरन्तर, नास्ट र विज्ञ टोलीले थाल्यो सूक्ष्म अध्ययन
रामीडाँडा, जाजरकोट — जाजरकोटको बारेकोट रामीडाँडामा ६.४ म्याग्निच्युडको भूकम्प गएयता ४ सय ८३ पटक परकम्प आएका छन् । गत शुक्रबार मध्यरातमा गएको भूकम्पपछि विज्ञहरूले स्थलगत निरीक्षण गरी सूक्ष्म अध्ययन सुरु गरेका छन् । नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठान (नास्ट) र नेपाल भूकम्प मापन तथा अनुसन्धानको विज्ञ टोलीे भूकम्प केन्द्र (इपिसेन्टर) र आसपास क्षेत्रको प्रारम्भिक अध्ययन गरी फर्केको छ ।
भूकम्प अध्ययनका लागि नास्ट र भूकम्प अनुसन्धान केन्द्रले रुकुम र जाजरकोटको दुई–दुई ठाउँमा भूकम्प मापन प्रविधि संयन्त्र (सिस्मोमिटर) जडान गरेको छ । नास्टले बारेकोट रामीडाँडा केन्द्रबिन्दु सीमा जोडिएको कुशे गाउँपालिका, रुकुम पश्चिमको खलंगा र गोतमकोट र भूकम्प मापन केन्द्रले बारेकोटमा २ भूकम्प मापन यन्त्र जडान गरिएको नास्ट र भूकम्प अनुसन्धान केन्द्रले जनाएका छन् । यो क्षेत्रमा परकम्पन अझै पनि गइरहेको जाजरकोट र रुकुम पश्चिमको स्थलगत अध्ययन गरेका भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रका लोकविजय अधिकारीले बताए । उनले यो क्षेत्रमा अझै जोखिम भएको बताए ।
‘नेपालमा हरेक दिन १० भूकम्प गएको रेकर्ड भइरहेको छ । गत शुक्रबारदेखि यो शुक्रबारसम्म ४ सय ८३ भूकम्पका झट्का गइसकेकाले जोखिम अझै छ भन्न सकिन्छ,’ उनले भने, ‘हालसम्म अनुसन्धानले भूकम्पबाट जोखिम क्षेत्र पत्ता लगाउन सकिन्छ । जमिनमुनि भूकम्पको शक्ति कति छ जान्न सकिन्छ,’ उनले भने, ‘तर कहिले जान्छ भन्न सकिँदैन । कुनै एक दिन निश्चिम रूपमा जान्छ ।’ उनले भूकम्प प्रतिरोधी संरचना बनाए मात्र जोगिन सकिने बताए । ‘नेपाल जहिले पनि भूकम्पको जोखिम क्षेत्रमा पर्छ, त्यसबाट जोगिन बलियो संरचना बनाउनुपर्छ,’ उनले भने ।
नास्टका भूकम्पविद् शिव सुवेदीले नयाँ जडान भएका भूकम्प यन्त्रको माध्यमबाट थप अनुसन्धान गर्न सजिलो हुने बताए ।‘भूकम्प केन्द्र रामीडाँडा वरपरको क्षेत्रमा तीनवटा यन्त्र जडान भएकाले अब जाने प्रत्येक भूकम्पको रेकर्ड हुनेछ,’ उनले भने, ‘यन्त्र जडान गरेपछि त्यसले निरन्तर भूकम्प गएको जानकारी दिइरहेको छ ।’ अब जाजरकोट, रुकुममा जाने भूकम्पका साना, ठूला झट्काको रेकर्ड हुनेछ ।’ विज्ञका अनुसार भूकम्प मापन यन्त्र टाढा हुँदा कहिलेकाहीं केन्द्रबिन्दु फरक पर्न सक्छ ।
‘यन्त्र जडान भएपछि अब भूकम्प गएकै ठाउँमा केन्द्र रेकर्ड हुनेछ,’ उनले भने, ‘हाल राखिएका तीन यन्त्रले राम्रोसँग नापिरहेका छन् । हाल आइरहेका परकम्पलाई विश्लेषण गरिनेछ ।’ अधिकारीले ठूलो भूकम्पले क्षति पुर्याउने भए पनि साना झट्काको अध्ययन उत्तिनै महत्त्वपूर्ण हुने बताए । ‘स–साना भूकम्पको सूक्ष्म अध्ययनबाट त्यो क्षेत्र कति जोखिम छ भन्ने थाहा हुन्छ,’ उनले भने, ‘अब जाजरकोट भूकम्पको पनि त्यसरी नै अध्ययन हुनेछ ।’
भूकम्प अध्ययन केन्द्रका भूकम्पविद् अधिकारीले यो क्षेत्रमा भूकम्पीय जोखिमबारे थप अध्ययन हुने बताए । प्रारम्भिक अध्ययनले रामीडाँडापूर्व ठूलीभेरी र सानीभेरी करिडोर र थम्कमा पहाड भएका क्षेत्रमा बढी क्षति पुर्याएको उनले बताए । ‘भूकम्पले केन्द्रबिन्दु वरपर टोपोग्राफिकल (भौगोलिक बनावट) का आधारमा बढी क्षति गरेको देखियो,’ उनले प्रारम्भिक अध्ययनपछि भने, ‘ठूली र सानोभेरी किनारामा बलौटे माटो छ ।
जाजरकोट थाप्ले, नलगाड चिउरी, रुकुम पश्चिम आठबिसकोट ज्यामिरे अलि माथि थुम्कोमा छन् । यस्तो भूबनोटमा धेरैबेर भूकम्पको झट्का रहने भएकाले क्षति पनि बढी भयो,’ उनले भने, ‘अर्को चट्टान भएको भूबनोटबाट भूकम्पको तरंग छिटो जान्छ । त्यहाँ तुलनात्मक रूपमा कम क्षति हुन सक्छ ।’ उनले यो भूकम्पले भूकम्पीय दृष्टिकोणले कमजोर संरचनाका कारण मानवीय र भौतिक क्षति भएको बताए ।
विज्ञका अनुसार ५ म्याग्निच्युडका ३२ वटा भूकम्प गयो भने ६ म्याग्निच्युडका भूकम्प बराबरको इनर्जी बाहिरिन्छ । त्यसैगरी ७ म्याग्निच्युड बराबरको इनर्जी बाहिरिन ५ म्याग्निच्युडका हजार वटा भूकम्प जानुपर्दछ । शुक्रबार राति जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएको भूकम्पले जाजरकोटका चार र रुकुमका तीन पालिकामा बढी क्षति पुर्याएको छ । १ सय ५३ को मत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् ।
भूकम्पले ३५ हजार परिवार घरबारविहीन बनेका छन् । जाजरकोट र रुकुम पश्चिमलगायत १३ जिल्लामा १७ हजार ७ सय ९२ घर पूर्ण रूपमा भत्किएका छन् । त्यस्तै १७ हजार ५ सय २९ कच्ची घर चर्किएकाले बस्न नमिल्ने अवस्थामा छन् ।
