न्यायाधीशको तलब भूकम्पपीडितलाई

कार्तिक २५, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठकले जाजरकोट र रुकुमका भूकम्पपीडितलाई तीनै तहका न्यायाधीशहरूको केही दिनको स्वैच्छिक तलब काटेर सहयोग गर्ने निर्णय गरेको छ । 

फुलकोर्टले प्रधानन्यायाधीश तथा सर्वोच्चका न्यायाधीशहरूको ७ दिन, उच्चका न्यायाधीशहरूको ५ दिन र जिल्लाका न्यायाधीशहरूको तीन दिनको तलब भूकम्पपीडितका लागि दिने निर्णय गरेको हो ।

त्यस्तै, अदालतका राजपत्रांकित विशिष्ट तथा प्रथम श्रेणीका कर्मचारीबाट ३ दिन, अधिकृतस्तरका कर्मचारीको दुई दिन र अन्य कर्मचारीको एक दिनको तलब स्वैच्छिक रूपमा उठाएर पीडितलाई दिने निर्णय भएको सर्वोच्चले जनाएको छ ।

गत १७ गते शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी दुई जिल्लामा ठूलो धनजनको क्षति भएको छ । भूकम्पमा परी १ सय ५३ जनाको मृत्यु भएको छ ।

जाजरकोट भुकम्प

कान्तिपुर

Link copied successfully