काठमाडौँ — उपराष्ट्रपति रामसहायप्रसाद यादवले आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने भएका छन् ।
उपराष्ट्रपति यादवको सचिवालयमा कार्यरत अन्य कर्माचारीहरुले पनि आफ्नो पारिश्रमिकबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गर्ने भएका छन् ।
सचिवालयमा कार्यरत कर्मचारीको हकमा भने विज्ञ (सल्लाहकार) हरुबाट १५ दिन, प्रमुख स्वकीय सचिव र सहायक स्वकीय सचिव वा सो सरहको कर्मचारीहरुबाट सात दिन, स्वकीय उपसचिव र अधिकृत वा सो सरहको कर्मचारीबाट पाँच दिन र राजपत्र अनंकित वा सो सरहको कर्मचारीबाट तीन दिनको पारिश्रमिक रकम सहयोग गर्न लागिएको बताइएको छ । उपराष्ट्रपति यादवको प्रेस सल्लाहकार दिनेश यादवले एक विज्ञप्ति जारी गर्दै सो विषयको जानकारी दिएका हुन् ।
गत शुक्रबार जाजरकोट केन्द्रविन्दु भए गएको भूकम्पमा परी हालसम्म १५४ जनाको ज्यान जानुका साथै सयौं घाइते भएका छन् भने हजारौं घरबारविहिन भएका छन् ।
