काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले जाजरकोट भूकम्पबाट पीडितहरूलाई राहत वितरण प्रभावकारी बनाउन आग्रह गरेका छन् । आयोगले प्रभावित जिल्लाहरूको स्थलगत अनुगमनपछि शुक्रबार आयोगले सरकारलाई राहत वितरण प्रभावकारी बनाउन निर्देशन दिएको हो ।
आयोगले भूकम्पपछि उद्धार, राहत र उपचारमा तीन तहका सरकार, राजनीतिक, दल, अधिकारकर्मी, नागरिक समाज लगायत सबै पक्षले देखाएको क्रियाशीलतालाई सकारात्मकरुपमा लिएको भन्दै प्रशंसा गरेको छ ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले शुक्रबार विज्ञप्तिमार्फत् भूकम्पबाट घरबास गुमाएका पीडितहरुको लागि खाद्यान्नको व्यवस्था गर्न, चिसो मौसमबाट सुरक्षित रहन आवास र न्यानो कपडाको पर्याप्त व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । त्यस्तै, विपद्पश्चात सामूहिक बसाईको अवस्थामा पानी, शौचालय, सरसफाईलगायतका अभावका कारण हुन सक्ने विभिन्न किसिमका सरुवा रोग र महामारीको जोखिमबाट सुरक्षित राख्नकालागि समेत आवश्यक पहल गर्न आग्रह गरेका छन् ।
‘राहत सामग्रीहरु उल्लेख्य मात्रामा संकलन भएको, तर जिल्ला विपद् व्यवस्थापन समितिमा सवारी साधनको अभाव र ढुवानीका लागि रकम अभावका कारण सम्बन्धित वडा कार्यालयमा पठाई वितरण गर्ने क्रममा ढिलाई भइरहेको देखिएको छ । रुकुम जिल्लाको आठबीसकोट नगरपालिका- १४ स्थित छेपारे गाउँमा राहत स्वरुप वितरण गरिएका त्रिपालहरुबाट शीत चुहिने गरेको र तल ओछ्याइएका मेट्रेसहरु पातलो भई तलबाट चिसो आउने भएका कारण सुत्केरी महिला, बालबालिकाहरु र ज्येष्ठ नागरिकहरु बढी प्रभावित भएको, चिसो बढ्दै गइरहेको अवस्थामा न्यानो कपडाको अपर्याप्तता र त्रिपालको बसाइका कारण सुत्केरी, बालबालिका, बिरामी र जेष्ठ नागरिकहरुमा समस्या देखिएको, भूकम्प प्रभावित क्षेत्रका अधिकांश विद्यालय भवनहरु क्षतिग्रस्त हुँदा विद्यालय बन्द भएको देखिएको छ,’ आयोगले भनेको छ ।
आयोगले भूकम्पमा परेका महिला र बालबालिकाहरुमा डर र त्रासको अवस्था रहेको, शौचालयको अभावका कारण महिनावारी भएका महिला र बालिकाहरुले थप समस्या भोग्नुपरिरहेको लगायतका तथ्यहरु अनुगमनबाट पाइएको जनाएको छ ।
