‘नेपालमा हरेक दिन १० भूकम्प गएको रेकर्ड भइरहेको छ । गत शुक्रबारदेखि यो शुक्रबारसम्म ४८३ भूकम्पका झट्का गइसकेकोले जोखिम अझै छ’
रामीडाँडा, जाजरकोट — जाजरकोटको बारेकोट रामीडाडामा ६.४ म्याग्निच्युडको भूकम्प गएयता ४ सय ८३ पटक पराकम्पन आएका छन् । गत शुक्रबार गएको भूकम्पपछि विज्ञहरुले स्थलगत निरक्षण गरी सुक्ष्म अध्ययन सुरु गरेको छन् ।
नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठान (नास्ट) र नेपाल भूकम्प मापन तथा अनुसन्धानको विज्ञ टोलीे भूकम्प केन्द्र (इपिसेन्टर) र आसपास क्षेत्रको प्रारम्भिक अध्ययन गरी फर्केको छ । भूकम्प अध्ययनका लागि नास्ट र भूकम्प अनुसन्धान केन्द्रले रुकुमको दुई र जाजरकोटको दुई ठाउँमा भूकम्प मापन प्राविधिक यन्त्र (सिस्मोमिटर) जडान गरेको छ ।
नास्टले बारेकोट रामीडाँडा केन्द्रविन्दु सीमा जोडिएको कुशे गाउँपालिका, रुकुम पश्चिमको खलंगा र गोतमकोट र भूकम्प मापन केन्द्रले बारेकोट २ भूकम्प मापन यन्त्र जडान गरिएको नास्ट र भूकम्प अनुसन्धान केन्द्रले जनाएका छन् । यो क्षेत्रमापराकम्पन अझै पनि गइरहेको जाजरकोट र रुकुम पश्चिमको स्थलगत अध्ययन गरी फर्केका भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रका लोकविजय अधिकारीले बताए । उनले यो क्षेत्रमा अझै पनि जोखिम भए पनि अर्को ठूलो भूकम्प कहिले जान्छ भन्ने एकीन भने गर्न नसकिने बताए ।
‘नेपालमा हरेक दिन १० भूकम्प गएको रेकर्ड भइरहेको छ । गत शुक्रबारदेखि यो शुक्रबारसम्म ४८३ भूकम्पका झट्का गइसकेकोले जोखिम अझै छ भन्न सकिन्छ,’ उनले भने, ‘हालसम्म अनुसन्धानले भूकम्पबाट जोखिम क्षेत्र पत्ता लगाउन सकिन्छ । जमिनमुनि भूकम्पकमो शक्ति कति छ जान्न सकिन्छ,’ उनले भने, ‘तर कहिले जान्छ भन्न सकिँदैन । यो मान्छे जन्मेपछि मर्छ तर कहिले भन्ने थाहा हुँदैन भने जस्तै हो । भूकम्प पनि कहिले जान्छ भन्न सकिँदैन । कुनै एक दिन निश्चित रुपमा जान्छ ।’
उनले भूकम्प कहिले जान्छ भनेर डराएर नभई भूकम्प प्रतिरोधी संरचना बनाए मात्र जोगिन सकिने बताए । ‘नेपाल जहिले पनि भूकम्पको जोखिम क्षेत्रमा पर्छ, त्यसबाट जोगिन बलियो संरचना बनाउनुपर्छ,’ उनले भने ।
नास्टका भूकम्पविद् शिव सुवेदीले नयाँ जडान भएका भूकम्प यन्त्रको माध्यामबाट थप अनुसन्धान गर्न सजिलो हुने बताए ।
‘भूकम्प केन्द्र रामीडाँडा वरिपरिको क्षेत्रमा तीनवटा यन्त्र जडान भएकाले अब जाने प्रत्येक भूकम्पको रेकर्ड हुनेछ,’ उनले भने, ‘यन्त्र जडान गरेपछि त्यसले निरन्तर भूकम्प गएको जानकारी दिइरहेको छ ।’ अब जाजरकोट, रुकुममा जाने भूकम्पका साना, ठूला झट्काको रेकर्ड हुनेछ ।’
विज्ञका अनुसार भूकम्प मापन यन्त्र टाढा हुँदा कहिलेकाँही केन्द्रविन्दु फरक पर्नसक्छ । ‘यन्त्र जडान भएपछि अब भूकम्पको गएकै ठाउँमा केन्द्र रेकर्ड हुनेछ,’ उनले भने, ‘हाल राखिएका तीन यन्त्रले राम्रोसँग नापिरहेका छन् । हाल आइरहेका पराकम्पलाई विश्लेषण गरिनेछ ।’
उनले ठूलो भूकम्पले देखिने गरी क्षति पुर्याउने भए पनि साना झट्काको अध्ययन उति नै महत्त्वपूर्ण हुने बताए । ‘सानासाना भूकम्पको सुक्ष्म अध्ययनबाट त्यो क्षेत्र कति जोखिम छ भन्ने थाहा हुन्छ,’ उनले भने, ‘अब जाजरकोट भूकम्पको पनि त्यसरी नै अध्ययन हुनेछ ।’
भूकम्प गएको मात्र ४ सय ८३ पटक पराकम्पन गइसकेकाले यसले अझै निरन्तरता पाउने विज्ञको भनाइ छ । भूकम्प अध्ययन केन्द्रका भूकम्पविद् अधिकारीले यो क्षेत्रमा भूकम्पीय जोखिमबारे थप अध्ययन हुने बताए र उनले प्रारम्भिक अध्ययनले केन्दको रामीडाँडा पूर्व ठूलीभेरी र सानीभेरी करिडोर र थम्कमा पहाड भएका क्षेत्रमा बढी क्षति पुर्याएको बताए ।
‘भूकम्पले केन्द्रविन्दु वरिपरि टोपोग्राफिकल (भौगोलिक बनावट) आधारमा बढी क्षति गरेको देखियो,’ उनले प्रारम्भिक अध्ययनपछि भने, ‘ठूली र सानोभेरी किनारामा बलौटे माटो छ । जाजरकोट थाप्ले, नलगाड चिउरी, रुकुम पश्चिम आठबिसकोट ज्यामिरे अलि माथि थुम्कोमा छन् । यस्तो भूबनोटमा धेरैबेर भूकम्पको झट्का रहने भएकाले क्षति पनि बढी भयो,’ उनले भने, ‘अर्को चट्टान भएको भूबनोटबाट भूकम्पको तरंग छिटो जान्छ । त्यहाँ तुलनात्मक रुपमा कम क्षति हुन सक्छ ।’ उनले यो भूकम्पले भूकम्पिय दृष्टिकोणले कमजोर संरचनाका कारण मानवीय र भौतिक क्षति भएको बताए ।
विज्ञका अनुसार ५ म्याग्निच्युडका ३२ वटा भूकम्प गयो भने ६ म्याग्निच्युडका भूकम्प बराबरको इनर्जी बाहिरिन्छ । त्यसैगरी ७ म्याग्निच्युड बराबरको इनर्जी बाहिरिन ५ म्याग्निच्युडका हजार वटा भूकम्प जानुपर्दछ ।
शुक्रबार राति जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएको भूकम्पले जाजरकोटका चार र रुकुमका तीन पालिकामा बढी क्षति पुर्याएको छ । एक सय ५७ को मत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते भए ।े भूकम्पले ३५ हजार परिवार घरबारविहीन भएका छन् । जाजरकोट र रुकुम पश्चिमलगायत १३ जिल्लामा १७ हजार ७ सय ९२ घर पूर्ण रूपमा भत्किएका छन् । त्यस्तै १७ हजार ५ सय २९ कच्ची घर चर्किएकाले बस्न नमिल्ने अवस्थामा छन् ।
