राहतमा राजनीतिक पक्षपात भएको भन्दै संसदीय समितिसमक्ष पनि गुनासो

 इपिसेन्टर जाजरकोटको रामीडाँडामा अझै पुगेन राहत, राति तापक्रम एक डिग्रीसम्म झर्दा पनि एउटा कम्बलबिनै रात काट्दै भूकम्पपीडित 

कार्तिक २४, २०८०

गंगा बिसी र महेश केसी

जाजरकोट — भूकम्प प्रभावित क्षेत्रमा अनुगमनमा गएको संसदीय समितिले पनि राहत वितरण सन्तुलित नभएको र आवश्यकताभन्दा पनि पहुँचको भरमा वितरण भइरहेको गुनासो संकलन गरेको छ । प्रभावित दुवै जिल्लालाई लक्षित गरी गएको राहत माओवादी नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले आफ्नो निर्वाचन क्षेत्र रुकुम पश्चिमतर्फ तान्दा जाजरकोटवासीको पीडा थपिएको छ ।

जाजरकोटका लागि राहत बोकेर हिँडेका ट्रक शर्माको निर्देशनमा सल्लीबजारबाट बलपूर्वक रुकुम पश्चिमतर्फ लगिएको समाचार कान्तिपुरले बिहीबार प्रकाशित गरेको थियो । यसपछि सत्तापक्षका नेता शर्माले दुवै जिल्ला प्रशासन कार्यालयबाट त्यस्तो राहत सामग्री आएको अभिलेख नरहेको विज्ञप्ति जारी गर्न लगाएका छन् । जाजरकोटमा त्यो सामग्री पुगेकै छैन भने रुकुम पश्चिममा पनि अभिलेख नगरी रातारात बाँडिएको कान्तिपुर समाचारमा उल्लेख थियो । 

स्थलगत अनुगमनमा रहेका राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले कान्तिपुरसँग भने, ‘काठमाडौंबाट हिँडेको राहत सामग्री बीचमै कहाँ हरायो भन्ने प्रश्न छ । बाटोमा कतै रोकिएको छैन । यसले झनै ठूलो रहस्य खडा गरेको छ । यसको खोजबिन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्छ । काठमाडौंबाट पठाइएका सामान बीचबाटै गायब हुन थाल्यो भने झनै ठूलो समस्या निम्त्याउँछ । यसको जानकारी सरकारले छिटो दिनुपर्छ ।’

भूकम्पको केन्द्रबिन्दु जाजरकोटका २० प्रतिशत पीडितका घरमा अहिलेसम्म सामान्य राहत पनि पुगेको छैन । ‘रुकुम पश्चिममा १६ हजार ५ सय ७० घर भत्किएका छन् । पूर्वमन्त्री जनार्दन शर्माले नै १८ हजारभन्दा बढी घर क्षति पुगेको दाबी गर्नुभएको छ । उता, जाजरकोटमा भने ८० प्रतिशत प्रभावितले राहत पाएकै छैनन्,’ संघीय संसद्को राज्य व्यवस्था समितिका सभापति खतिवडाले कान्तिपुरसँग भने । 

संसदीय समितिले दल विशेषले, नेता विशेषले पीडितलाई समान व्यवहार गरेनन् भन्ने आएको गुनासो संकलन गरेको छ । 

‘आफ्नो मतदाता र निर्वाचन क्षेत्र नभएका स्थानमा राहत प्याकेज कम जाने गरेको गुनासो हामीले पनि सुन्यौं । राहत वितरण गर्दा कार्यकर्ता, निर्वाचन क्षेत्र, जातपात, धर्म हेरेर दिन हुन्न । यस्तो बेलामा पार्टीभन्दा माथि उठेनौं, जातभात भन्यौं, मेरा पार्टीका कार्यकर्ता र मेरो क्षेत्र भन्यौं भने अर्को अपराध हुन्छ । यस्तो अपराध कसैले गर्न हुन्न,’ समितिका सभापति खतिवडाले भने ।

उता, माओवादी नेता तथा पूर्वअर्थमन्त्री शर्माले पत्रकार सम्मेलन गरी दिएको अभिव्यक्तिले पहुँच प्रयोग गरेर राहत सामग्री आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित गरेको पुष्टि गरेको छ । राहत वितरणका लागि सरकारले एकद्वार प्रणाली लागू गरेको छ । तर, शर्माले भने सिधै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई फोन गरेर आफ्नो क्षेत्रमा राहत सामग्री वितरण गरेको जनाएका छन् । 

जाजरकोटका लागि काठमाडौंबाट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रक सल्लीबजारबाट रुकुम पश्चिमतर्फ मोडिएको थियो । यो सामान खोजबिन हुँदा बुधबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा सोलार वितरण गर्न थालिएपछि ट्रक फेला परेको हो । जाजरकोटको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले आफ्नो जिल्लातर्फ आइरहेको तीन ट्रक राहत सामग्री बाटोबाटै ‘हाइज्याक’ गरिएकामा विरोध गरेका थिए । उनको भनाइ थियो, ‘राहत वितरणमा सत्ताको दुरुपयोग भइरहेको छ, पीडितलाई आवश्यकताका आधारमा होइन, आफ्ना मतदाता पहिचान गर्दर् ैराहत वितरण भइरहेको छ ।’ भूकम्पको केन्द्रबिन्दु जाजरकोटको बारेकोट गाउँपालिका प्रमुख वीरबहादुर गिरीले भूकम्पपीडित परिवारलाई एक–एक वटा पाल र कम्बलसमेत दिन नसकिएको बताए । भूकम्पको केन्द्रबिन्दुमा भएको भौतिक क्षतिलाई पहुँचवालाहरूले गम्भीर रूपमा नलिएका कारण पहिलो चरणको अत्यावश्यक राहत पुर्‍याउन कठिन भएको उनको भनाइ छ । भने, ‘हामीले व्यवस्था गरेको र सहयोग प्राप्त सबै राहत वितरण गरिसकेका छौं, सबै भूकम्पपीडितलाई एकसरो पाल र कम्बल पनि पुर्‍याउन बाँकी छ ।’

गाउँपालिकाका अनुसार करिब ९५ प्रतिशत घरमा बस्नै नमिल्ने गरी क्षति पुगेको छ । सोमबारको दोस्रो परकम्पपछि घरमा क्षति नपुगेका परिवार पनि घरभित्र पस्न डराइरहेका छन् । केन्द्रबिन्दु रामीडाँडामा र सिर्पाचौर वरपरका गाउँमा चिसो बढिरहेकाले उनीहरूको अवस्था झन् जटिल बन्दै गएको छ । 

 गाउँपालिकाले आफैं व्यवस्था गरेको र सहयोग प्राप्त त्रिपालको भरमा प्रभावित क्षेत्रका बासिन्दा बसिरहेका छन् । रामीडाँडा र सिर्पाचौरलगायत ठाउँको तापक्रम राति एक डिग्रीसम्म झर्ने भएकाले भूकम्पपीडितलाई पाल, ओढ्ने र ओछ्याउने न्याना कपडाको अभाव भएको स्थानीयको भनाइ छ । 

 गाउँपालिकाका ४ हजार ४ सय १७ घरमध्ये २ हजार ५ सय ४ घरमा पूर्ण क्षति भएको छ भने १ हजार ६ सय ९७ घर बस्न नमिल्ने अवस्थामा छन् । पालिकामा कम जोखिम भएका घरहरूको संख्या २१६ मात्र छ । बारेकोट जाने बाटोको नलगाड खोलामा पक्की पुल नभएका कारण ठूला मालवाहक गाडी पुग्न कठिन छ ।

 रामीडाँडा स्वास्थ्यचौकी प्रमुख विष्णुराज ज्योतिले हरेक दिन चिसोबाट हुने बिरामीको संख्या बढ्दै गएको बताए । ‘यो अति चिसो हुने ठाउँ हो । पातलो त्रिपालमुनि महिला, बालबालिका, बूढाबूढीले रात काट्नुपरेको छ । यही चिसोका कारण सुत्केरी, गर्भवती, बालबालिका र दमका रोगीलाई समस्या छ,’ उनले भने । स्थानीय शिक्षक रीताकुमारी बोहराले पहिलो काम खुला ठाउँमा बस्न बाध्य व्यक्तिलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् । ‘घर ढलेका, बस्न नमिल्ने गरी चर्किएका व्यक्तिहरूले सबै कपडा निकाल्न सकेका छैनन् । राहतका न्याना लुगा र म्याट सबैलाई पुगेको छैन,’ उनले भनिन्, ‘चिसो दिनदिनै बढ्दै गएकाले अब पीडितलाई चिसोबाट जोगाउन ध्यान दिनुपर्छ ।’

बारेकोटको रामीडाँडाको दलित गाउँमा यसअघि पनि ठूला विपत्ति आइसकेका छन् । २०६६ मा रामीडाँडामा हैजा फैलिँदा ११ को मृत्यु भएको थियो । त्यसलगत्तै झाडापखालाबाट करिब ३ सय बिरामी परेका थिए । भूकम्पका कारण फेरि महामारीको जोखिम आउन सक्ने स्थानीय स्वास्थ्यकर्मीको भनाइ छ । रामीडाँडामा २०७१ मा पहिरो आएर ११ जना व्यक्तिको ज्यान गयो । रामीडाँडाको उत्तरतर्फ पहिरो जाँदा २ जना अझै बेपत्ता छन् । रामीडाँडा गाउँको वरिपरि ठूला पानीका मुहान छन् । 

 गाउँभन्दा माथि यसअघि पनि जमिन धाँजा फाटेको स्थानीय विष्णुराज ज्योतिले बताए । ‘हरेक वर्ष वर्षाका बेला हाम्रा खेतका सिमाना आफैं पुरिने देखिएको छ । जमिन तल सरेको छ,’ उनले भने, ‘बेलाबेला सुक्खा मौसममा खोलाको पानी आफैं धमिलो आएको हुन्छ ।’ 

खानी तथा भूगर्भ विभाग र नास्टको विज्ञ समूहले रामीडाँडाको अवलोकन गरी फर्केको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र अनुसन्धान विभागकी प्रमुख एवं भूगर्भविद् मोनिका झाले यसअघि पहिरो गइरहने भएकाले रामीडाँडाको भौगोलिक संरचना कमजोर हुन सक्ने बताइन् । ‘जमिन धाँजा फाट्ने, ठूलो पहिरो जाने स्थानको भौगोलिक संरचना कमजोर हुन्छ । रामीडाँडा वरिपरि त्यस्तो छ भने भूगोल कमजोर हुनुपर्छ,’ उनले भनिन्, ‘त्यो क्षेत्रको अध्ययन गर्नुपर्ने जरुरी देखिएको छ ।’ गत वर्ष बारेकोटको सार्की गाउँमा पहिरो जाँदा ठूलो धनजनको क्षति भएको थियो ।

जाजरकोट भुकम्प

गंगा

Link copied successfully