माग र आवश्यकताका आधारमै राहत सामग्री वितरण गरिएको छ : शर्मा

कार्तिक २३, २०८०

महेश केसी

रुकुम पश्चिम — रुकुम पश्चिमका प्रतिनिधिसभा सदस्य तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले माग र आवश्यकताकै आधारमा जिल्लामा राहत सामग्री वितरण गरिएको बताएका छन् ।

बिहीबार सानीभेरी गाउँपालिका कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा शर्माले जिल्लामा आउने हरेक राहत सामग्रीलाई जिल्ला प्रशासन कार्यालय दर्ता गरेर एकद्वार प्रणालीमार्फत नै सम्बन्धित स्थानीय तह हुँदै वडाबाट वितरण गर्नेगरी मिलाइएको बताएका हुन् ।

बिहीबारको कान्तिपुरमा ‘भूकम्प राहतमा पूर्वअर्थमन्त्री शर्माको संवेदनहीन राजनीति’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।  शर्माले पीडितहरूको अवस्था, माग र आवश्यकताका आधारमा नै राहत सामग्रीको वितरण गर्दै भने, ‘राहत सामग्री थुप्रिने र पीडितले नपाउने अवस्था छैन । रुकुम पश्चिम, जाजरकोट र भूकम्प प्रभावित अन्य जिल्लामा आवश्यकताका आधारमा नै राहत सामग्री पुगिरहेको अवस्था छ ।’

पूर्वमन्त्री शर्माले भूकम्पपीडितलाई तत्काल त्रिपाललगायतका अस्थायी सामग्री मात्र वितरण गरिएको बताउँदै सधैं यसरी भने नचल्ने बताए । ‘त्रिपाल दिने भनेको तत्कालको कुरा हो । पीडितका लागि अस्थायी बासस्थलका लागि जस्ता पाताले छाएको टहरा बनाउने र त्यसपछि पुनर्निमाणमा लाग्नुपर्छ,’ उनले भने, ‘पुनर्निर्माण भनेको घर मात्रै नभएर विकासका अरु आधारभूत पूर्वाधारहरुको पनि निर्माण गर्ने भनेको हो ।’

जाजरकोट भुकम्प

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully