बिरामी पर्नेमा धेरै सुत्केरी, बालबालिका र वृद्धवृद्धा
सल्यान — जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पले घर भत्किएपछि दार्मा गाउँपालिका २, लिरापाजाका वर्ष ८० का वृद्ध हर्क खत्री पाँच जनाको परिवारसहित शुक्रबारदेखि नै भत्किएको घर नजिकै त्रिपाल टाँगेर बस्दै आएका छन् ।
चिसोले गर्दा उनलाई रुघाखोकीले ग्रस्त बनाएको छ । उनको स्वर बसेको छ भने दम पनि बढेको छ । उनी मात्र नभइ उनका तीन नातीनतिना र बुहारी सीता केसिलाई पनि रुघाखोकी समस्या देखिएको छ ।
दार्मा गाउँपालिका–५, लिरेडाँडाकी वर्ष १९ की बिन्दु खड्का सुत्केरी भएको जम्मा १९ दिन भयो । शुक्रबार रातिदेखि त्रिपालमुनि बस्नु पर्दा उनको शरिर सुन्निएको छ । उनलाई उठनबस्न समेत कठिनाई हुने गरेको छ । त्रिपालमा बस्नु पर्दा न उनले स्याहार पाएकी छिन्, न उनको बच्चाले । उनी भन्छिन, ‘न त ओढ्ने गतिलो कपडा छ, न ओछ्याउने । जमिनबाट आउने चिसोले गर्दा मेरो शरिर सुन्निएको छ । चारैतिर दुख्छ । छेवैमा आगो बालेपनि कुनै फाइदा छैन । चिसोकै कारण सानो बच्चा रातभर सुत्दैन, रोइरहन्छ । बच्चालाई निमोनिया होला भन्ने डर लाग्न थालेको छ ।’
यस्तै, बछेलाकी वर्ष ४४ की धनी केसीलाई समेत चिसोले गर्दा रुघाखोकी लागेको छ । रातको समयमा सित पर्दा त्रिपालबाट चुहिने र चिसो हावा भित्रै पस्ने गर्दा उनको आठ जनाको परिवारमध्ये चार जनामा शरिर दुख्ने, ज्वरो आउला जस्तो हुने समस्या देखिएको छ ।
यी तीन मात्र नभई भूकम्पले घर भत्किएपछि त्रिपाल टाँगेर खुला स्थानमा बस्दै आएका दार्मा गाउँपालिकाका अधिकांश सुत्केरी, बालबालिका र वृद्धवृद्धा दिन प्रतिदिन बढदै गएको चिसोका कारण बिरामी पर्न थालेका छन् । सुत्केरी तथा बालबालिकाले त स्यहार समेत पाउन सकेका छैनन् । त्रिपालको चारैतिर हावा छिर्ने, गतिलो आढ्ने ओछ्याउने नभएको र रातको समयमा परेको सित त्रिपालबाट चुहिएर कपडा भिज्ने जस्ता कारणले गर्दा बालबालिका, सुत्केरी, वृद्धवृद्धा बिरामी पर्न थालेका हुन् ।
चिसोका कारण दार्मा गाउँपालिकाका मात्र ४ सय सुत्केरी, ४ सय ३७ बालबालिका र ५ सय बढी वृद्धवृद्धा प्रभावित भएका छन् । एकातिर भूकम्पको त्रास र अर्कोतिर यताउती गर्न कठिनाई हुन थालेपछि सुत्केरी, बालबालिका र वृद्धवृद्धालाई सहज रुपमा स्वास्थ्यसेवामा कठिन भएको छ । बिरामी पर्न थालेकाले सम्बन्धित निकायले उपचारका लागि स्वास्थ्यकर्मीको टोली पठाउन समेत आग्रह गरेका छन् ।
१२ जनाको परिवार रहेको बछेलाका वर्ष ५० का वीरबहादुर खड्काले त्रिपालको बासका कारण चिसोले गर्दा घरका चार जनामा रुघाखोकी र ज्वरोको समस्या देखिएको बताए । रुघाखोकी र ज्वरोको समस्या देखिएपनि उपचारका लागि कतै नगएको उनले जानकारी गराए । ‘भूकम्पले घर भत्किँदा भएका लत्ताकपडा घरमा पुरिएका छन् । भित्र पसेर निकाल्न सक्ने अवस्था छैन । गतिलो ओढ्ने ओछ्याउने छैन । त्रिपाल टाँगेपनि रातमा परेको सितले ओढेको कपडा भिजेको हुन्छ । त्यत्ति मात्र नभई त्रिपालका कुनाकुनाबाट हावा छिर्छन् । जमिनबाट त्यत्रिकै चिसो आउँछ । चिसोका कारण बिहान उठ्ने बेला हातखुट्टाका जोर्नी पुरै दुख्छन्,’ उनले भने ।
दार्मा गाउँपालिका–५, भालुखोलाकै ३ महिने सुत्केरी वर्ष २३ की पुष्पा केसीले त्रिपाल टाँगेर बस्नु पर्दा चिसोले तीन दिनदेखि लगातार टाउको दुख्ने मात्र नभई शरीर सुन्निन थालेको र बच्चालाई खोकीको समस्या देखिएको बताइन् । शरीर सुन्निएकाले कामकाज गर्न गाह्रो हुने गरेको उनले जानकारी गराइन् । ‘त्रिपाल टाँगेर के गर्नु हावा छिर्छ । चिसो त्यत्तिकै बढेको छ । २४ सै घन्टा आगो बाल्न सकिँदैन । के गर्नु, कष्ट उठाउँदै बस्नु परेको छ,’ उनले भनिन्, ‘सम्बन्धित निकायले एक थान कम्मल र त्रिपाल दिएपनि त्यसले खासै राहत भएको छैन । बच्चालाई निमोनिया होला भन्ने डर लाग्न थालेको छ ।’ भूकम्पका कारण त्रिपालमा बस्नु पर्दा आफू र बच्चाले स्याहार पाउन नसकेको र पौष्टिक खानपानमा पनि कठिनाई भएको उनको भनाइ छ ।
यता कुमाख गाउँपालिकाका वर्ष ५५ का दलबहादुर बुढाथोकीले भने चिसोका कारण परिवारका ६ जना सदस्यलाई टाउको दुख्ने समस्याले सताएको बताए । भूकम्पले घर बस्नै नमिल्ने गरी चर्किएपछि एउटा त्रिपाल र केही ओढ्ने, ओछ्याउने कपडाको भरमा रात काट्दै आएको उनले जानकारी गराए । ‘चिसोका कारण सबैलाई कपडा नपुग्ने भएको र अर्कोतिर डरका कारण रातमा निद लाग्न छाडेको छ,’ उनले भने ।
पालिका भरी एक वर्षमुनिका ४ सय सुत्केरी रहेका, ४ सय ३७ बालबालिका र ५ सय बढी वृद्धवृद्धा रहेकामा चिसोका कारण बिरामी बढ्न थालेका दार्मा गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए । धेरैजसोमा रुघाखोकी र ज्वरोको समस्या देखिएको उनले जानकारी गराए । उनका अनुसार दिनप्रतिदिन बढेको चिसो र चिसोबाट बच्नका न्यानो कपडाको अभावमा बालबालिकामा निमोनियाको खतरा बढेको छ ।
चिसोका कारण बालबालिकालाई निमोनिया र सुत्केरी तथा वृद्धवृद्धालाई अन्य रोगबाट बचाउन विभिन्न निकायले उपलब्ध गराएको कम्मल वितरण गर्दै आएको दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले बताए । बालबालिका, सुत्केरी, वृद्धवृद्धा समस्यामा नपरुन् भनेर स्वास्थ्यकर्मीको टोली घरघरमा खटाएर लगत संकलन गर्न थालिएको उनले जानकारी गराए । ‘वृद्धवृद्धा, बालबालिका, सुत्केरी बिरामी हुने बित्तिकै तत्काल उपचार गराउने छौं । त्यहि भएर लगत संकलन गरिरहेका छौं,’ उनले भने । उनले भूकम्पबाट पीडित भएका परिवारलाई खानपानका साथै बालबालिका र सुत्केरीको स्याहारमा ध्यान दिन आग्रह गरेका छन् ।
यता कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवि खड्काले चिसाको कारण त्रिपालमा बस्दै आएका ३३ परिवारका १ सय ५० भन्दा बढी प्रभावित भएका बताए । चिसोबाट बचाउन उनीहरुलाई पालिकाले त्रिपाल उपलब्ध गराउने भन्दा अन्य राहतको सामग्री उपलब्ध गराउन नसकिएको उनले जानकारी गराए । उनका अनुसार भूकम्पबाट पालिका भर ५ घर क्षति भएका छन् । उनले सम्बन्धित निकायमा राहतको लागि आग्रह समेत गरेका छन् ।
