चौरजहारीमा भूकम्प प्रतिरोधी नमुना घर निर्माण सुरु 

कार्तिक २५, २०८०

रुकुम पश्चिम — भूकम्पले प्रभावित रुकुम पश्चिमको चौरजहारी नगरपालिका-६ फारुलामा भूकम्प प्रतिरोधी नमुना घर निर्माण सुरु भएको छ । भूकम्पले पूर्णरुपमा भत्किएका चार घर परिवारका लागि भूकम्प प्रतिरोधी घर नमुनाको रुपमा निर्माण कार्य अघि बढाइएको हो । 

नगरपालिकारका पूर्वमेयर विशाल शर्माको नेतृत्वमा चार घरको पुनःनिर्माण सुरु भएको हो । पहिलो चरणमा स्थानीय स्रोतसाधन परिचालन गरी चार घर नमुनाको रुपमा निर्माण गरिन लागिएको उनले बताए । ‘यो पुनःनिर्माण अभियानलाई नगरपालिकाभर संचालन गर्ने तयारी छ,’ उनले भने, ‘सरकारको मुख ताक्नुभन्दा स्थानीय स्रोतसाधन प्रयोग गरी भूकम्प प्रतिरोधी घर बनाउने अभियानको सुरु गरेका हौँ ।’

भूकम्प प्रभावितका लागि नमुना घर निर्माण अभियानमा माओवादी नगर कमिटी, वाईसीएल, स्थानीय व्यक्तिलाई जोडेको शर्माले बताए । ‘एउटा त्रिपाल वितरण गर्न तीनजना उभिनुभन्दा दीर्घकालीन हिसाबले बस्न मिल्ने घर बनाउनुपर्छ भनेर यो अभियान सुरु गरिएको हो,’ उनले भने, ‘यसमा अरु पार्टीले प्रत्येक वडामा यो अभियान सुरु गरे भूकम्पपीडित चिसोमा कठ्यांग्रिनु पर्दैन ।’ 

स्थानीय काठ, ढुंगा, बालुवाका साथै सिमेन्ट, जस्तापाता र छड प्रयोग गरी भूकम्प प्रतिरोधी घर निर्माण गर्न लागिएको शर्माले बताए । ‘हामीले हरेक दिन ५० व्यक्ति सहभागी भएर काम थालेका छौँ,’ उनले भने ।

पहिलो चरणमा कालो कामी, कमल बिक, चन्द्री बोहरा र चन्द्रबहादुर बुढाथोकीको घर निर्माण सुरु भएको छ । यो अभियानलाई नगरपालिकाले पनि अघि बढाउने कार्यकारी अधिकृत शेरप्रसाद ढकालले बताए । ‘स्थानीय स्तरमा पनि पुनःनिर्माण अभियान चलाउने तयारी हुँदैछ,’ उनले भने, ‘किनभने चार हजार घर बस्नै नमिल्ने गरी क्षति पुगेकाले स्थानीय सहभागितालाई पुनर्निर्माणमा जोड्ने योजना बन्दैछ ।’ स्थानीय स्रोतसाधन प्रयोग गरेर अस्थायी बसोबास बनाउने तयारी भइरहेको हो । 

कात्तिक १७ मा गएको भूकम्पले चौरजहारी नगरपालिकाका १४, १३, १२, ६, १०, ७ मा सबैभन्दा बढी क्षति भएको छ । भूकम्पबाट यो नगरपाकिालमा २३ घाइते र एक जनाको मृत्यु भएको थियो । 

नगरपालिकाले दिएको विवरणअनुसार १ हजार ८ सय ९५ घर अति जोखिम र ४ हजार ५ सय जोखिमयुक्त छन् । ७ हजार घरधुरीमध्ये करिब ३ हजार घरमात्र कम जोखिममा छन् ।

नगरपालिकाले भूकम्प प्रभावितलाई उद्धार र उपचारपछि पहिलो चरणमा त्रिपाल र ब्लांकेट वितरण गरिसकेको जनाएको छ । ‘त्रिपाल र कम्बल पुर्‍याउने अभियान सकिएको छ,’ ढकालले भने, ‘स्थानीय साधन र स्रोत परिचालन गरी न्यानो अस्थायी बास बनाउने योजना बनेको छ । पराल, मकैको ढोड, खर प्रयोग गरेर बसोबास बनाउन सहयोग गर्छौँ ।’

संयुक्त परिवारका लागि सानो त्रिपाल अपुग हुन सक्ने भएकाले थप दिनेबारे छलफल चलिरहेको पनि स्थानीय तहका अधिकारीले जानकारी दिएका छन् । अरु पालिकाको तुलनामा कम भौतिक क्षति भएकाले राहत अपेक्षाअनुसार संकलन नभएको पालिकाले जनाएको छ ।

‘त्रिपाल, कम्बल, ब्लांकेट, विपन्न परिवारलाई खाद्यान्न संकलन गर्‍यौ । ठूलो परिवारलाई साना त्रिपालले पुग्दैन,’ ढकालले भने, ‘सात हजार घरधुरीका लागि अझै राहत सामग्रीको आवश्यकता छ ।’

नगरपालिकाले हालसम्म ५ हजार १ सय ४८ त्रिपाल, ३ हजार ५ सय ४० ब्लांकेट, ७ सय ९२ बोरा चामल प्राप्त भएकोमा ५ हजार ७८ त्रिपाल, ३ हजार २७० वितरण ब्लांकेट र १ सय ३६ बोरा चामल वितरण भइसकेको जनाएको छ ।

यसैबीच चौरजहारी नगरपालिका मेयर पुष्प वादी आफै भूकम्पपीडित भएका छन् । नगरपालिकाको वडा नम्बर चार मनकोट टाकुराका दुई घर बस्नै नमिल्ने गरी क्षति पुगेकाले उनको परिवारको त्रिपालमा बास भएको हो । 

जाजरकोट भुकम्प

Link copied successfully