वनजंगल खुम्चिँदा र जंगली जनावरको संख्या बढ्दा २ वर्षमा गयो १० जनाको ज्यान, पर्सा राष्ट्रिय निकुञ्जबाट स्थानीयलाई लाभभन्दा सास्ती बढी
पर्सा — ठोरी गाउँपालिका–५ सुवर्णपुरकी शान्तिमाया दोङ अहिले उदास–उदास देखिन्छिन् । भदौ १३ गते दिउँसो १ बजेतिर शान्तिसँगै खाना खाइवरी उनका पति कान्छालाल बस्तुभाउ चराउन घरनजिकैको जंगल छिरेका थिए । साँझसम्म पति घर नफर्केपछि शान्ति छरछिमेकीलाई लिएर खोज्न निस्किइन् । घरबाट झन्डै सय मिटर पर पति र बस्तुभाउ मृत अवस्थामा भेटिए । स्थानीयले चाल पाइहाले, क्षतविक्षत शव बाघकै आक्रमणबाट भएको हो ।
‘खाना खाएपछि म बरन्डाको खाटमै निदाएछु, उहाँ मेरो टाउकामा सिरानी राखेर जानु भएछ,’ शान्तिले भनिन्, ‘के थाहा त्यही अन्तिम दिन थियो भन्ने । घटना थाहा पाएपछि त म बेहोस नै भएँ । मेरो त संसार नै उजाडियो ।’ यस घटनाको तीन दिनपछि नरभक्षी बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज र चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले डार्ट गरी लठ्याएर नियन्त्रणमा लिएको थियो ।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गरेबापत शान्तिमायाले चुकाएको मूल्य त एउटा प्रतिनिधि उदाहरण मात्रै हो । निकुञ्जकै अभिलेखअनुसार आर्थिक वर्ष २०७८/०७९ र ०७९/८० मा मात्रै जंगली जनावरको आक्रमणबाट १० जना स्थानीयले ज्यान गुमाइसकेका छन् । वर्षौंदेखि पर्सा राष्ट्रिय निकुञ्ज छेउछाउका गडुवालाइन, बोथेटोल, छघरे, आठघरे, बाघमोर्चलगायतका बस्तीमा वन्यजन्तुको आक्रमणको डर त छँदै छ, निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनासँग पनि स्थानीयको द्वन्द्व बेलाबखत सतहमा प्रकट भइरहेको हुन्छ ।
ठोरी गाउँपालिका–४ विजयबस्तीका लेखबहादुर श्रेष्ठको घरमा ज्यालादारीमा काठ चिर्ने काम गरिरहेका बेला जिराभवानी गाउँपालिका–२ वसन्तपुरका ६० वर्षीय शर्मा खाँव थारू र उनका साथी सुरेश हजरा दुसादसहित घरधनी लेखबहादुर र स्थानीय तुलबहादुर श्रेष्ठ, मीनप्रसाद श्रेष्ठ र ढकबहादुर गोलेलाई ०७८ वैशाख १२ मा नेपाली सेनाले पक्राउ गर्यो । सबैलाई अवैध रूपमा काठ चिरान गरेको मुद्दा चलाइयो । उनीहरू निकुञ्जको आधाभारस्थित कार्यालयमा एक महिना र त्यसपछि वीरगन्ज कारागारमा पाँच दिन कैद बसे । सबैसँग निकुञ्ज प्रशासनले जनही १ लाख ७० हजार रुपैयाँ धरौटी माग गर्यो । नगद तिर्ने हैसियत भएका नगद धरौटी राखेर तारिखमा छुटे । तर थारू र दुसाद भने नगदको व्यवस्था गर्न नसकेपछि निकुञ्ज कार्यालयमा नगद धरौटीको ग्यारेन्टीबापत लालपुर्जा धरौटी राखेर तारिखमा छुटे ।
सुरेश हजरा दुसाद
सगोलका ५ दाजुभाइको संयुक्त नाममा रहेको १ बिघा ३ कट्ठा खेत धरौटी राखेर छुटेपछि पनि थारूका तनाव घटेका छैनन् । ‘कतिपय दाजुभाइलाई छोरीको विवाह गर्नु छ, कतिपयलाई औषधोपचार गर्नु छ,’ तारिख धाउँदा–धाउँदा थाकेका थारूले भने, ‘निकुञ्ज प्रशासनले कि त छिटो मेरो मुद्दाको सुनुवाइ गरेर सजाय दिने वा सफाइ दिने गरोस् । नत्र मलाई फेरि जेल हालेर सगोलको जग्गा फुकुवा गरोस् ।’
दुसाद पनि ४ कट्ठा जग्गाको लालपुर्जा निकुञ्ज कार्यालयमा धरौटीमा राखेपछि मात्र छुटेका हुन् । अहिले तारिखपिच्छे निकुञ्ज कार्यालय आधाभारमा पुग्छन् । पटक–पटक तारिखमा धाउँदा उनीहरू थकित भइसके । ‘एक पटक तारिख लिएर आउँदा १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म खर्च हुन्छ,’ दुसादले भने, ‘अझ कति दिन तारिखमा बस्नुपर्ने हो, ठेगान छैन, हामी मजदुरी गरेर परिवार पाल्ने मान्छे, एक दिन तारिखमा जाँदा घरमा चुलो नबल्ने चिन्ता हुन्छ ।’ धरौटीमा छुटेपछि उनीहरूको मुद्दाको पहिलो तारिख ०७८ असार ६ गते थियो । २४ पटक तारिख धाउँदा पनि उनीहरूको मुद्दाको फैसला भएको छैन । उनीहरूको २५ औं तारिख असोज ७ मा परेको छ ।
दोङ, थारू र दुसादका प्रतिनिधि घटना नै काफी छन्, स्थानीयले निकुञ्जबाट लाभभन्दा सास्ती बेहोरिरहेका छन् भनेर देखाउन । भित्र्याउन तयार बालीनाली जंगली चित्तल, बँदेल, हात्तीजस्ता जनावरले सखाप पारेको पीडा त उनीहरूको साझा कथा हो । ‘अहिले धानको बाला फुट्ने बेला भएको छ, निकुञ्जबाट बँदेल आएर हैरान पार्न थालिसके,’ थारूले भने, ‘अन्न बाली मात्र होइन, तरकारी बाली पनि नष्ट पार्छन् ।’
जिराभवानी–१ का ३५ वर्षीय जितेन्द्र यादव पेसाले कुखुरा पालक हुन् । ०७८ असारको अन्तिम साता उनको गाउँ छेउकै कुलोमा एउटा बँदेल मृत अवस्थामा फेला पर्यो । स्थानीयले बँदेलको मासु बाँडेर खाए । घटना बाहिरिएपछि सोही दिन मासु खानेमध्येका सिकिन्द्र दास थारू पक्राउ परे । जितेन्द्र, राजेन्द्र पासवान, सोहन पासवान, धीरज चौधरी, रामेश्वर साह, हरिनारायण शर्मा र राजेन्द्र श्रेष्ठले भने तारिख खेपे । करिब डेढ वर्ष मुद्दा खेपेर गत मंसिरमा सबै आरोपीले सफाइ पाए । तर उनीहरू निकुञ्ज प्रशासनले फेरि दुःख दिने हो कि भन्ने डरमै छन् ।
निकुञ्ज बाहिर आएर मरेको बँदेलको मासु खाँदा आफूहरूले यति सास्ती खेप्नुपर्छ भनेर सपनामा पनि नचिताएको जितेन्द्रले बताए । ‘न हामी निकुञ्ज पसेका थियौं, न हामीले निकुञ्जबाहिर आएको वन्यजन्तु मारेका थियौं,’ उनले भने, ‘निकुञ्जका वन्यजन्तु र वन पैदावार चलाउँदा कडा कानुन लाग्छ भन्ने ज्ञान आफूमात्र नभई निकुञ्जको छेउछाउ मध्यवर्ती क्षेत्रका अधिकांश बासिन्दालाई छैन ।’
निकुञ्ज छेउछाउका स्थानीय आफूहरूले निकुञ्जको पैदावारको सहज उपभोग गर्न नपाए पनि वर्षौंदेखि निकुञ्ज र वन क्षेत्र जोगाएर राखेको बताउँछन् । उनले गाउँका २ दर्जन बढी स्थानीय अझै पनि विभिन्न मुद्दामा निकुञ्जको तारिख खेपिरहेको बताए । ‘सामान्य अवस्थामा मात्र नभई तस्करहरू सक्रिय हुँदा स्थानीयले नै ज्यानको जोखिम मोलेर प्रतिकार गर्दै आएका छन्,’ जितेन्द्रले भने, ‘वन र वन्यजन्तु जोगाउने मध्यवर्ती क्षेत्रका बासिन्दालाई सरकारले स्याबासी दिनुपर्नेमा अनेक कानुनको दायरामा बाँधेर राख्न खोज्छ ।’
चार वर्षअघि ठोरी गाउँपालिकाका सबै वडालाई लक्षित गरी निकुञ्ज प्रशासनकै पहलमा निकुञ्ज र मानव बस्तीबीच विद्युतीय तारबार जडान गरेको छ, जसले निकुञ्जका वन्यजन्तु बालीनालीमा पस्ने समस्या समाधान भए पनि यही तारबारले गर्दा स्थानीय जंगलबाट घाँस–दाउरा गर्न वञ्चित भइरहेका छन् । ठोरी गाउँपालिका–४ विजयबस्तीका गणेशबहादुर श्रेष्ठ निकुञ्जबाट मध्यवर्ती क्षेत्रका बासिन्दाले कुनै फाइदा नपाएको बताउँछन् । ‘पहिले कम्तीमा सहजै घाँस–दाउरा गर्न पाइन्थ्यो,’ उनले भने, ‘अहिले त त्यो पनि पाइँदैन । मर्दापर्दा पनि शव जलाउन काठ पाइँदैन, काठ किन्न भारत पुग्नुपर्छ ।’
वन्यजन्तुले पुर्याएको क्षतिको गुनासो स्थानीयबाट दैनिकजसो सुनिरहेको जिराभवानी गाउँपालिका–१ का वडाध्यक्ष रामशरण खवास थारूले बताए । पर्सा राष्ट्रिय निकुञ्ज मात्र नभई सीमावर्ती भारतको वाल्मीकि टाइगर रिजर्भबाट गाउँ पस्ने वन्यजन्तुले स्थानीयलाई सास्ती दिइरहेको उनले सुनाए । ‘जिराभवानीका शान्ति टोल, काठमाडौं टोल र हरैया र सखुवनियाबाट नीलगाई, बँदेल, चित्तलजस्ता वन्यजन्तु गाउँ पसेर स्थानीयको बालीनाली नष्ट गर्छन्,’ उनले भने, ‘निकुञ्जले क्षतिपूर्ति दिन्छु भन्छ तर क्षतिपूर्ति लिन निकुञ्ज कार्यालय धायेको धायै गर्नुपर्छ ।’
जितन चौधरी
जिराभवानी गाउँपालिका–१ का जितन चौधरीले गत वर्ष १५ कट्ठामा गहुँ बाली लगाएका थिए । सबै बाली भित्र्याउन पाएको भए उनले २४ क्विन्टल गहुँ भित्र्याउँथे । तर पाक्ने बेलाको गहुँ बारीमा चैतको अन्तिम साता निकुञ्जबाट आएका नीलगाई र बँदेलको झुन्ड छिरेर नोक्सान गरेपछि उनले डेढ क्विन्टल मात्र गहुँ भित्र्याए । ‘बर्सेनि यस्तै पीडा दोहोरिन्छ,’ उनले भने, ‘अहिले धानका बाला फुटिरहेको छ, बँदेलले र चित्तलले आतंक मच्चाएका छन् ।’ जिराभवानी गाउँपालिका–१ कै भीमलाल स्याब्रोको ४ कट्ठा खेतमा लगाएको मकै जेठको अन्तिम साता निकुञ्जबाट आएको बँदेलको झुन्डले नष्ट गरिदियो । ‘६/७ वटा बँदेल खेतमा पसेर बाली नष्ट गरिदिए,’ उनले भने, ‘४/५ दिन नरुंगे बँदेलले सम्पूर्ण बाली नै नष्ट गरिदिन्छन् ।’
मध्यवर्ती क्षेत्रका बासिन्दाहरूको दुःख यतिमै सकिँदैन । जिराभवानी गाउँपालिका–२ शान्ति टोलस्थित एक घरमा ८१ वर्षीय लोकराज पौडेल र श्रीमती ७३ वर्षीया दधीमाया पौडेल दम्पती मात्रै छन् । ०७९ पुस ११ को मध्यराति मस्त निद्रामा उनीहरू तर्सिए । निकुञ्जबाट आएको हात्तीले काठको घर भत्काउन थालेपछि उनीहरूको होसहवास उडेको थियो । ‘धन्न हात्तीले भान्छा कोठाको छानो भत्काएर १ बोरा चामल मात्रै खायो,’ दधीमायाले भनिन्, ‘घटनापछि निकुञ्ज प्रशासनमा १० हजार रुपैयाँ क्षतिपूर्ति दाबी गरेर निवेदन दियौं । तर ६ हजार मात्रै हात पर्यो । त्यो पनि पटक–पटक ताकेता गरेर ।’ दधीमायाले निकुञ्ज स्थापना भएपछि आफूहरूजस्ता मध्यवर्ती क्षेत्रका बासिन्दालाई फाइदाभन्दा घाटा नै बढी भएको अनुभव सुनाइन् । ‘पहिला जंगलबाट सहजै काठ दाउरा ल्याएर खाना पकाइन्थ्यो, अहिले त्यो पनि पाइँदैन,’ उनले भनिन्, ‘अहिले हाम्रो जीउज्यान र बालीनालीसमेत जोखिममा छ ।’
यहाँ बाघको संख्या बढेसँगै क्षति पनि उत्तिकै भएको छ । पर्सा निकुञ्जमा १२ वर्षमा बाघको संख्या झन्डै १० गुणाले बढेको छ । सन् २००९/१० मा गरिएको गणनामा निकुञ्जमा केवल ४ वयस्क बाघ थिए । २०२२ मा आइपुग्दा त्यो संख्या बढेर ४१ पुगेको छ । आव ०७८/७९ मा वन्यजन्तुले निकुञ्ज छेउका मानव बस्तीका सर्वसाधारणलाई क्षति गरेका घटनाको संख्या १ सय ६७ रहेको थियो । उक्त वर्ष ३ जना सख्त घाइते भएका थिए भने ५ सर्वसाधारणको ज्यान गएको थियो । ४३ पशुधनको क्षति निकुञ्जका वन्यजन्तुले गरेका थिए । वन्यजन्तुले २८ घरगोठको क्षति गरेका थिए । आव ०७९/८० मा निकुञ्जका वन्यजन्तुले सर्वसाधारणलाई क्षति पुर्याएको घटना अढाई गुणाले बढेर ४ सय २४ पुगेको छ । यस वर्ष निकुञ्जका वन्यजन्तुले ८ जनालाई सख्त घाइते बनाएको छ भने ५ सर्वसाधारणको ज्यान लिएको छ । यस वर्ष हात्तीले २ सय ४२, बाघले ८३, जंगली बँदेलले ४७, चितुवाले ४६, गैंडाले ५ र भालुले १ पशु चौपायको क्षति गरेका छन् ।
बर्सेनि वन्यजन्तु र मानवबीचको द्वन्द्व बढिरहेको पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण एवं सूचना अधिकृत सूर्य खड्काले बताए । ‘निकुञ्ज र मानव बस्तीबीच तारबार गरेर मात्र जनावरको मानव बस्ती प्रवेश रोक्न वा घटाउन सकिँदैन,’ उनले भने, ‘हात्तीका लागि एकखाले र बाघ, भालुका लागि अर्कोखाले तारबार गर्नुपर्ने हुन्छ, जुन असम्भव र अव्यावहारिक छ ।’
वन्यजन्तु पीडितलाई राहत दिने निर्देशिका संशोधन भएपछि अब पीडितले छिट्टै राहत पाउने पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार रामले बताए । ‘पहिलेजस्तो अब क्षतिपूर्ति दिन ढिलाइ हुँदैन,’ उनले भने, ‘कागजपत्र मिलाएर तुरुन्तै भुक्तानी दिने काम हुनेछ ।’ सरकारले बाँदर र नीलगाईले पुर्याएको बालीनालीको क्षतिमा पनि राहत दिने व्यवस्था गरेपछि किसानलाई राहत मिलेको उनले बताए ।
विश्लेषक चन्द्रकिशोर पछिल्लो समय निकुञ्जको आसपासको क्षेत्रमा मानव–वन्यजन्तुबीचको द्वन्द्वका घटना बढ्दै गएको र यो चिन्ताको विषय भएको बताउँछन् । ‘मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न निकुञ्ज भएर गुज्रने कतिपय राजमार्गमा दुवैतर्फ तारबार गर्नुपर्ने र कतै जनावरलाई राजमार्ग वारपार गर्न फ्लाई ओभर वा भूमिगत मार्ग बनाउनुपर्ने हुन्छ,’ उनले भने, ‘पशु अधिकारकर्मीहरूसँगको समन्वयमा प्रदेश सरकारहरूले संघसँग समन्वय गरेर नयाँ नीति बनाउनु आवश्यक भइसकेको छ ।’
वीरगन्ज–ठोरी हुलाकी सडकबाट करिब ७ किमि घना जंगल छिचोलेपछि पुगिन्छ, ठोरी गाउँपालिका–३ को सिकारीबास । पर्सा र चितवन राष्ट्रिय निकुञ्जले घेरिएको यो गाउँवासीका निम्ति वन्यजन्तु र उनीहरूबाट हुने क्षति नियमित दैनिकीजस्तै भइसकेको छ । गाउँमा ५४ घरधुरीका २ सय ५० जना हरेक दिन वन्यजन्तु आक्रमणको त्रास बोकेर बस्न बाध्य छन् । स्थानीय यो गाउँ विकासबाट पछाडि पर्नुको एउटै दोष निकुञ्जमाथि लगाउँछन् । उनीहरूको भनाइ छ, गाउँमा विकास निर्माणको काम गर्न खोज्दा दुवै निकुञ्ज प्रशासनले रोक लगाउँछन् ।
सिकारी गाउँका प्रत्येकजसो स्थानीयसँग वन्यजन्तु आक्रमणको त्रासदपूर्ण विगत छ । बमभोला महतोकै कुरा सुनौं– ०७३ माघको अन्तिम साता वनमा गोठाला गएका बेला उनलाई भालुले आक्रमण गर्यो । उनको दाहिने खुट्टाको हड्डी तीन टुक्रा भयो । ‘अहिले पनि खुट्टाको पीडा बेलाबेलामा बल्झिन्छ,’ उनले सुनाए, ‘वन्यजन्तुले आक्रमण गर्छन् भन्ने भयले सताइरहन्छ ।’ सिकारी गाउँमा कैयन्सँग जंगली जनावरको आक्रमणमा परेको तीतो विगत छ । स्थानीय युवा २९ वर्षीय विनोद यादव ०७९ चैत ६ गते भालुको आक्रमणमा परे । गाउँभन्दा केही माथि निकुञ्जमा सिँचाइका लागि सिकारीबास खोलाको पानी फर्काउन ३/४ जना स्थानीयसहित जंगल पुगेका उनलाई पछाडिबाट आएको भालुले आक्रमण गर्यो । ‘म सबैभन्दा पछाडि पनि थिएँ, अचानक भालुले आक्रमण गर्यो,’ उनले भने, ‘दाहिने कोखामा टोक्यो, १५ वटा टाँका लगाउनुपर्यो ।’
स्थानीय ४० वर्षीय सञ्जयकुमार थारू पनि जंगल छेउमा घाँस काट्न गएका बेला ०७७ जेठको अन्त्यतिर भालुको आक्रमणमा परेका थिए । दाहिने तिघ्रामा भालुले टोकेपछि भएको घाउमा झन्डै ५० वटा टाँका लगाउनुपरेको उनले बताए । उनले पनि विनोदले जस्तै क्षतिपूर्तिको दाबी गरेनन् । ‘धेरै हिँडडुल गर्न सक्दिनँ,’ उनले भने, ‘क्षतिपूर्ति पनि पाइन्छ भन्ने कुरो थाहै भएन ।’
