स्थानीय खाना संरक्षणमा घिसिङ

कलेजमा कन्टिनेन्टल, इन्डियन, चाइनिजलगायत फुडबारे सिक्ने/सिकाउने प्रेमलाल घिसिङ स्थानीय खानाको बजारबारे थाहा पाएपछि भने त्यसको अध्ययन/अनुसन्धानमा लागे । हाल उनी समुदायअनुसारका फरक–फरक खाना/परिकारको खोजी गर्ने र त्यसको संरक्षण तथा बजारीकरणको अभियानमा सक्रिय छन् । 

भाद्र २७, २०८०

सीमा तामाङ

काठमाडौँ — भूकम्पअघिको कुरा हो । त्यति बेला प्रेमलाल घिसिङमा भाषा पढेर कोरिया जाने चर्को हुटहुटी थियो । त्यसका लागि भाषा सिकाउने इन्स्टिच्युटमा भर्ना पनि भइसकेका थिए । भाषामा उनको दखल बढिरहेको थियो । त्यसै बेला कसैले उनलाई सुनाइदियो, ‘कोरियामा कुकको माग बढी छ ।’ कोरियन भाषा सिकिरहेका उनले त्यसै बेला निर्णय गरे– अब कोरियन भाषा मात्र होइन, कुकिङ (पाककला) पनि सिक्छु । 

बिनासीप विदेश जानुभन्दा केही सिकेरै जानु बेस । त्यसैले कुकिङ सिक्न थालिहाले । तर समय सधैं कहाँ एकनास चल्छ र ! उनले सोचेजस्तो भएन । बीचमै भूकम्प आइदियो । ०७२ वैशाख १२ मा । खासमा सबैको जस्तो उनको पनि दैनिकी बिथोलिदियो भूकम्पले । सोचेअनुरूप नभएपछि उनी विक्षिप्तजस्तै भएका थिए । तर, यही बेला कोरियन भाषा शिक्षक उनका लागि सहयोगी भए । कोरिया सरकारले भूकम्पपीडितलाई राहत पठाएको थियो । त्यसको वितरण गर्न घिसिङलाई लिएर शिक्षक मिलन मोक्तान भक्तपुरका विभिन्न ठाउँ गए । 

भक्तपुरका विभिन्न ठाउँमा करिब एक महिना घिसिङले मोक्तानलाई सघाए । ‘ब्युटिफुल कफी’ नामक कोरियन कम्पनीले सिन्धुपाल्चोक र गुल्मीमा अर्गानिक कफी रोप्न लगाउने र फलेपछि आफैं किनेर लैजाने गरेको थियो । उनले थाहा पाए । तर, भूकम्पमा किसानले टिपेको कफी सबै पुरिएको थियो । कति कफी पुरियो त्यसको तथ्यांक संकलन गर्ने, कफी रोप्नेदेखि टिप्ने र पुरिएको कफीको क्षतिपूर्ति दिने काममा कोरियन टोलीसँग ३ महिना काम गर्ने अवसर पाए उनले । त्यसबेला घिसिङले कफीबारे सम्पूर्ण जानकारी पाए । 

त्यसपछि सिन्धुपाल्चोकका ९ वटा गाउँ विकास समितिमा भिलेज फेस्टिभल अर्थात् वनभोज गर्ने कार्यक्रम बन्यो । भूकम्पपछि विक्षिप्त भएकालाई भुलाउन नाच्ने, गाउने रमाइलो गर्ने, खाना पकाइदिने हुन्थ्यो ।  कार्यक्रममार्फत रैथाने खानाको महत्त्व, बनाउने तरिकाबारे धेरै सिक्ने मौका पाए घिसिङले । त्यसलगत्तै उनले सीटीईभीटीमा भूकम्पपीडितलाई लक्षित गरी दिइएको ३ महिनाको कुकिङ तालिम पनि लिए । कुकिङतर्फ इच्छा जाग्न थालेपछि उनले गेट कलेजमा होटल म्यानेजमेन्ट पनि अध्ययन गरे । कुकिङकै १८ महिने कोर्स गर्नका लागि अस्ट्रेलियासमेत पुगे । 

खानामा लगाव, खानाबारे नै पढाउने पेसा भएपछि ०७६ सालतिर फिल्म क्षेत्रका विदुर थोकरले भकुन्डेबेंसीमा तामाङ फिल्म महोत्सव गर्न लागेको हुँदा तामाङ खानेकुराको स्टल राख्न सुझाउनुभयो । ‘त्यसपछि सैलुङ गएर आमासँग बसेर तामाङ खानेकुराको विवरण तयार पारे,’ उनले भने, ‘आफैंले तामाङ खानेकुरा बनाएर स्टलमा राखे । धेरैले निकै रुचाए ।’

कलेजमा कन्टिनेन्टल, इन्डियन फुड, चाइनिज मात्रै पढाउँथे/सिकाउँथे । तामाङ खानाको पनि बजार रहेछ भनेपछि त्यसतर्फ आकर्षण बढ्न थाल्यो । ‘हाम्रो पनि मेन्यु बनाउन मिल्दो रहेछ, प्लेटिङ गरेर रेस्टुरेन्टमा बेच्न सकिने रहेछ,’ उनले भने, ‘त्यही आत्मविश्वासपछि तामाङ खानामा अध्ययन गर्ने र किताब लेख्ने विचार आयो ।’ अध्ययन/अनुसन्धान गाउँघरमा जानकारी लिएपछि ०७८ सालमा किताब विमोचनसँगै तामाङ खानाका परिकार खुवाए । 

जापानका लागि नेपालका निवर्तमान राजदूत गणेश योञ्जनमार्फत नै सिक्किम विश्वविद्यालयको डिन ज्योतिप्रकाश तामाङसँग पनि भेट्ने मौका पाए उनले । हिमालय फुडबारे किताब लेखेका डिन ज्योतिप्रकाशले रैथाने खानामा गरेको अध्ययनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सहयोग गरे । उनकै सहयोगमा २०७९ मा हिमालयन हस्पिटालिटी अवार्ड कार्यक्रम पनि आयोजना भयो । सत्कार पेसामा काम गर्नेलाई सम्मानसहित नेपाली खानाको मेला सुरु गरेको पनि उनी सुनाउँछन् ।

 ‘तामाङ खानाको मात्र किताब लेख्दा त यति धेरै चर्चा परिचर्चा हुँदोरहेछ । नेपालमा विभिन्न समुदायका मानिस छन्, समुदायअनुसार परिकारको शैली फरक छ,’ उनले भने, ‘यी खानाको रेसिपी त मैले संकलन गर्नुपर्छ । भोलि ती खाना पकाउने आमा, हजुरआमा बितिसकेपछि त्यो रेसिपी पाइँदैन थियो । त्यसले रैथाने खानातर्फ झन् आकर्षण बढ्यो ।’ सोही कारण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म १०१ दिन भ्रमण गरेको घिसिङ बताउँछन् । 

‘ती पकाउने आमाको हातको स्वाद थाहा पाउनुपर्छ । कुनै बेला सिकाउँदा यस्तो थियो भन्न पाइँदैन । यस्तो हुन्छ भनेर सिकाउनुपर्छ, त्यसपछि मात्रै नेपाली खानाको अथनेन्टिक स्वाद बेच्न पाइन्छ,’ उनले भने । तयारी गुन्द्रुकको अचार र तरकारीलगायत परिकार बनाउन सबैलाई आउने भए पनि मुख्य गुन्द्रुक बनाउन जोकोहीलाई नआउने उनको भनाइ छ । ‘दाङको थारू समुदायमा पुगेर बदिया (खसी बनाएको भाले) को, कतै मुसाको त कतै च्याङ्ग्राको परिकार खायौं । बनाउने तरिका थाहा पायौं,’ उनले भने, ‘यी विविध समुदायको विविध खानेकुराको संस्कृति, महत्त्व र पकाउने तरिका संकलन गरेर अहिले किताब लेख्दै छु ।’ पुस्तक केही समयमा सार्वजनिक हुने र भिडियो पनि ल्याउने उनको भनाइ छ । 

रैथाने खानातर्फ झुकाव बढ्दै गएपछि रैथाने खाना संरक्षण भन्दै विविध कार्यक्रमसमेत गर्न थाले उनले । तर रैथाने भन्नेबित्तिकै पहाड र तराईका मान्छेले खाने, गरिबले खाने र जाबो ढिँडो भन्ने नकारात्मक दृष्टिकोण देखियो । तर, ‘रैथाने’ भन्दा सकारात्मक रूपमा नलिएपछि अन्य नाममार्फत प्रवर्द्धन र संरक्षणको अध्ययन थाले उनले । नेपालमा राजा–महाराजाले खाइने चौरासी व्यञ्जनलाई महत्त्व दिने गरेको थाहा पाएपछि त्यसको अध्ययन थालेको बताउँछन् उनी । ‘राजा–महाराजाले खाने चौरासी व्यञ्जन पनि गाउँघरमै बनेको खाद्यान्नको परिकार हुँदो रहेछ,’ उनले भने, ‘चौरासी व्यञ्जन राख्दा हाम्रो मौलिक खानाले झन् चर्चा–परिचर्चा पाउनेछ भन्ने लाग्यो, त्यसपछि ०७९ देखि चौरासी व्यञ्जन अवार्ड सुरु गर्‍यौं ।’ 

चौरासी वटा परिकारसहित चौरासी व्यञ्जन अवार्ड र सम्मानसमेत सुरु गरेको उनले सुनाए । उक्त कार्यक्रममा ४/५ सय जनालाई निःशुल्क चौरासी व्यञ्जन खुवाइने गरेको उनले बताए । होटल तथा रेस्टुरेन्ट क्षेत्रमा धेरैले रोजगारी पाइरहे पनि यो क्षेत्रलाई कसैले सम्मान नगरेको हुँदा आफैंले सुरु गरेको बताउँछन् घिसिङ । ‘सरकारले दिने सम्मान पनि सत्कार पेसामा भएका पर्दैनन्, सत्कार पेसामै काम गरेर जीवन बिताउने पनि छन्,’ उनले भने, ‘विश्वमा जान सक्ने पेसा हो । त्यसैले पुराना सेफलाई सम्मान र नयाँ सेफलाई अवार्ड दिन्छौं । यसपालि दोस्रो वर्ष हो ।’

उनका अनुसार रैथाने खाना पकाउने सेफदेखि कन्टिनेन्टललगायत सबैलाई समेटेर विभिन्न विधामा अवार्ड र सम्मान दिइने गरेको छ । ‘होटल म्यानेजमेन्ट पढ्ने धेरै विद्यार्थी छन् । तर, उनीहरूले सरकारी जागिर खान पाउँदैनन्,’ उनले भने, ‘अन्य विषय पढ्नेलाई त विषयगत तोकेकै हुन्छ । त्यसैले विदेश जानुबाहेक विकल्प छैन ।’ होटल म्यानेजमेन्टका विद्यार्थीलाई विदेश जानबाट रोक्न हरेक मन्त्रालयमा सत्कार विभाग खोल्नुपर्ने र नेपाली सेफलाई रोजगारी दिनुपर्ने उनको सुझाव छ । धेरै नेपाली बसोबास गर्ने मुलुक भुटान, सिंगापुर, बर्मा, म्यानमारलगायतका देशमा नेपाली खाना र बनाउने तरिका सिकाउनुपर्ने उनी बताउँछन् । ‘खासमा नेपाली खानालाई बजारीकरण गर्न अझै धेरै काम गर्न बाँकी छ,’ उनले भने ।

युवा ग्यालरी

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully