सुपरस्टारको दौडमा गउफ


काठमाडौँ — यूएस ओपन २०२३ जितेयता कोका गउफ अलिकति ठट्यौली मनसायमा देखिइन् र भनिहालिन्, ‘जे जतिले मलाई आलोचना गरे, तिनलाई धेरैधेरै धन्यवाद । यो जितमा आलोचक सबैको योगदान छ ।’ भएको के हो भन्दा पछिल्लो समय टेनिसका केही विद्वान्हरूले गउफको खुलेर आलोचना गरेका थिए ।


तिनको आरोप हो, गउफमा जित्ने मानसिकता नै छैन । उनलाई खेल्दै रमाइलो गर्दैमा पुग्छ । यत्रो आरोप लागेपछि उनको मन चिस्सिनु त स्वाभाविक नै भइहाल्यो ।
धेरैले याद गरेकै हुनुपर्छ, पछिल्लो समय अन्तर्राष्ट्रिय टेनिसमा एउटा ठूलो स्टारको अभाव छ । अझ महिला टेनिसमा त सुपर स्टार नै छैन भन्दा हुन्छ । सेरेना विलियम्स नै त्यस्तो पछिल्लो अन्तिम नाम हो, जसले महिला टेनिसमा ठूलो नाम सावित भयो । तिनै आलोचक पण्डितको आस के थियो भने सायद गउफ त्यस्तो नाम हुन सक्छ, जसले महिला टेनिसमा तहल्का मच्चाउन सक्छिन् । तर त्यस्तो केही पनि भएन, हुने छाँट देखिएन ।
सन् २०१९ मा उनी सबैभन्दा पहिले चर्चामा आएकी थिइन्, जति बेला उनले १५ वर्षीया खेलाडीका रूपमा तहल्का मच्चाएकी थिइन् । तर सायद अहिले परिस्थिति फेरिएको छ । उनले केही हदसम्म आफ्ना आलोचकलाई शान्त पारेकी छन् । अमेरिकी अश्वेत किशोर खेलाडीका रूपमा उनले भर्खरै यूएस ओपन जितिन् । उनको यो पहिलो ग्रान्ड स्लाम उपाधि पनि हो । यसअघि उनी सन् २०२२ को फ्रेन्च ओपनको फाइनल पुगेकी थिइन्, तर त्यसमा पराजित रहिन् ।
यूएस ओपनमा प्राप्त अहिलेको जित सुखद पनि रह्यो, किनभने उनले फाइनलमा अबका नम्बर १ खेलाडी हुने अरयाना सबलेन्कालाई हराएकी थिइन् । त्यस फाइनलमा एक सेटले पछाडि परेर पनि गउफले खेल जितेकी हुन् । यस्तोमा उनले पहिलोपल्ट आफूमाथि गरिएको विश्वासअनुसार खेलिन् । अबका केही दिनमा उनी किशोर खेलाडी पनि रहने छैनन्, २० वर्षकी हुनेछिन् । यस्तोमा प्रश्न हो, के गउफको उत्कृष्ट प्रदर्शनको क्रम जारी रहने छ त ?
विश्वास गरौं, हुनेछ । यस पछाडि अर्को कारण पनि दिन सकिन्छ । गउफको फाइनल प्रवेशसँगै अमेरिकामा फेरि टेनिसको लोकप्रियता बढेको छ । यसको प्रमाण भनेको त फाइनल हेर्न आर्थर ऐस स्टेडिमयको कोर्टमा उपस्थित २४ हजार बराबरको दर्शक नै हो । सेरेनाले खेल्न छाडेपछि अमेरिकी टेनिसलाई पनि एउटा स्टार चाहिरहेको थियो । यही नाम गउफ हुन सक्छ । समग्र विश्व टेनिसलाई नै एउटा ठूलो नाम पनि चाहिएकै छ ।
आमाबुबाको त्याग र तपस्या
एउटा राम्रो खेलाडी तयार पार्न उनका आमाबुबाले कति धेरै त्याग र तपस्या गर्न पर्छ, त्यसको पनि सटीक उदाहरण हुन्, गउफ । उनका बुबा हुन्, क्यान्डी गउफ । अनि आमा कोरेय गउफ । अभिभावकका रूपमा उनीहरू जे जस्तो गरे, त्यसकै परिणाम हुन्, छोरी खेलाडी । बुबा क्यान्डीलाई आफ्नी छोरी आठ वर्षकी छँदा नै के लागेको थियो भने टेनिस खेलाडीका रूपमा उनमा भविष्य छ । जति बेला गउफले साँच्चै पहिलो ग्रान्ड स्लाम जितिन्, त्यति बेला रुनेमा उनी पनि थिए ।
छोरी गउफ भन्छिन्, ‘सबैभन्दा पहिले म आफ्ना आमाबुबालाई धन्यवाद दिन चाहन्छु । आज मैले यूएस ओपन जितें र यो देखेर बुबा पहिलो पटक रुनु भयो । मैले यसअघि उहाँ रोएको देखेको थिइनँ । मलाई सुरुदेखि विश्वास गर्ने भनेकै आमाबुबा हुन् ।’ खासमा कुरा यस्तो हो । धेरै अगाडि युवा छँदा क्यान्डी र कोरेय दुवै खेलाडी थिए । सुरुआती दिनमा व्यावसायिक खेलाडी हुन संघर्ष गरिरहेका थिए । सन् नब्बेको सुरुमा फ्लोरिडा स्टेट युनिभर्सिटीमा एथलेटिक्सका खेलाडी थिए ।
कोरेय भने जर्जिया स्टेट युनिभर्सिटीमा बास्केटबलकी खेलाडी थिइन् । सन् २००१ को सुरुमै उनीहरूको विवाह भयो । त्यसपछि गउफको जन्म भयो । आफ्नी छोरीको खेलाडी जीवनका लागि उनीहरूले एटलान्टा छाडे र फ्लोरिडामा बसे । सबैलाई थाहा छ, टेनिसका लागि सबैभन्दा राम्रो गन्तव्य भनेकै फ्लोरिडा हो । उनीहरू कति धेरै जोखिम उठाएका थिए भने आ–आफ्नो जागिरसमेत छाडे र पूर्ण रूपमा गउफलाई खेलाडी बनाउनेमा लागे ।
बुबा क्यान्डी सुरुमै आफ्नी छोरीका प्रशिक्षक बने । त्यसपछि के भयो, त्यो त सबैलाई थाहा नै भयो । अब्बल दर्जाको खेलाडी बनाउन तिनका आमाबुबाले कति धेरै जोखिम उठाउनुपर्छ, यो पनि एउटा उदाहरण बनेको छ । गउफ जहाँजहाँ खेल्न जान्छिन्, त्यहाँत्यहाँ उनका आमाबुबा पनि पुग्ने गर्छन् । अनि आफ्नै छोरीको खेलमा समर्थन जनाउने गर्छन् । त्यसैले पनि गउफले भनेकी छन्, ‘मेरो सबैभन्दा ठूलो समर्थक भनेकै मेरो आफ्नै परिवार हो ।’
आदर्श विलियम्स दिदीबहिनी
विश्व टेनिसमा विलियम्स दिदीबहिनी धेरैका लागि आदर्श रहँदै आएका छन् । विशेषतः महिला खेलाडीका लागि । त्यसमा पनि अमेरिकी खेलाडी । अझ त्यसमा पनि अश्वेत अमेरिकी खेलाडीका लागि । गउफका लागि भने विलियम्स दिदीबहिनी नै पक्कापक्की आदर्श हुन् । यसमा भेनस दिदी भइन् । बहिनी सेरेना । सुरुमा अन्तर्राष्ट्रिय टेनिसमा प्रवेश गरेकी खेलाडी थिइन्, भेनस । सुरुमा एकपछि अर्को उपाधि जितिन् । उनले कुल सात ग्रान्ड स्लाम उपाधि जितिन् ।
त्यसपछि आइन्, सेरेना । उनी आएपछि विश्व महिला टेनिसमा उनकै प्रभुत्व सुरु भयो । दिदी भेसन पनि एक प्रकारले ओझेलमा परिन् । सेरेनालाई त सर्वकालीन महान् खेलाडी नै मानिन्छ । त्यसै होइन, उनले २३ ग्रान्ड स्लाम उपाधि जितेकी । जे होस्, दिदीबहिनीका रूपमा विश्व महिला टेनिसमा उनीहरू उच्च सम्मान रहँदै आएको छ । भेनसले अहिलेसम्म पनि खेलिरहेकी छन्, भलै उनी ४३ वर्षकी भइन् । सेरेनाले भने संन्यास लिइसकिन् ।
उनीहरूको नाम आएपछि त्यस अगाडि लगभग नतमस्तक जस्तै हुने खेलाडीमा पर्छिन्, गउफ । संयोग पनि कस्तो भने सन् २०१९ को विम्बल्डनको पहिलो चरणमा गउफले भेनससँग खेल्ने मौका पाएकी थिइन् र यसलाई उनी आफ्नो खेल जीवनकै सबैभन्दा उल्लेखनीय अवसर मान्छिन् । त्यस खेलका क्रममा गउफले जसरी भेनसप्रति सम्मान प्रकट गरेर खेलेकी थिइन्, त्यसलाई अहिलेसम्म पनि धेरैले उदाहरणीय घटनाका रूपमा लिने गरिन्छ ।
केहीले गउफले सेरेनाले स्थान लिन सक्ने दाबी पनि गर्छन् । कुरा के हो भने गउफ पनि उत्तिकै राम्रा खेलाडी हुन्, जति सेरेना हुने गर्थिन् । यसलाई गउफ पटक्कै स्विकार्दैनन् र भन्छिन्, सेरेनासँग आफ्नो तुलना नै सर्वथा गलत छ । उनका लागि सेरेना जत्तिको उत्कृष्ट खेलाडी कोही छैन । त्यसैले उनका लागि सेरेनाको ठाउँ लिन सक्ने कोही पनि छैन । हो, पक्कै पनि गउफले दुवै विलियम्स दिदीबहिनीको बाटो नै पछ्याउने छिन्, त्यसमा केही सफल भए पनि उनका लागि पर्याप्त रहनेछ ।
प्रकाशित : भाद्र २६, २०८० ०९:५०