‘बीपी महोत्सव’ मा चार सत्र

भाद्र २५, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वेश्वरप्रसाद कोइरालाको बहुआयामिक व्यक्तित्वमाथि जानकारी गराउने उद्देश्यले कांग्रेसले सुरु गरेको साहित्यिक महोत्सव आइतबार सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु तीनदिने महोत्सवको पहिलो दिन चार विधाका सेसन सकिएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेलगत्तै महोत्सवमा साहित्यकार अभि सुवेदीले बीपीको साहित्य सिर्जना र जीवन दर्शनबारे अभिव्यक्ति दिएका थिए । त्यसपछिको सत्रमा ‘बीपीका दृष्टिमा बीपी’ शीर्षकमा भुवन ढुंगाना, कृष्ण खनाल र सीके लालले बहस गरे । ‘बीपीको आख्यान’ मनोविश्लेषणका विषयमा राम लोहनी, कोमल फुयाल र साधना प्र्रतीक्षा वक्ता थिए । 

 ‘साहित्यमा पर्यावरण’ शीर्षकमा अम्मरराज जोशी, तीर्थबहादुर श्रेष्ठ र संगीता रायमाझी वक्ता थिए । नेपालको मातृभाषा साहित्यका विषयमा बमकुमारी बुढा मगर, अमृत योञ्जन, चन्द्रकिशोरले बहस गरेका थिए । प्राध्यापक कृष्ण खनालले समकालीन नेताहरूले बीपीको चरित्र अनुसरण नगरेको बताए । नेताहरूमा ‘मै जान्ने, म सुन्ने, अरू कसैले जानेको छैन’ भन्ने अहंकार पलाएकाले राजनीतिमा विकृति भित्रिएको बताए । सभापति देउवाले राजनीतिमा मात्रै नभएर साहित्यमा समेत बीपीको व्यक्तित्व बहुआयामिक भएको बताउँदै कांग्रेस बीपीको बाटोमा हिँडिरहेको दाबी गरे । तर, त्यसपछि विभिन्न सत्रका वक्ताहरूले भने बीपीको दर्शन र चरित्रमा कांग्रेस नचलेको बताएका थिए । बीपीमाथि बहस भइरहँदा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको काम गर्ने शैली र प्रवृत्तिमा आमूल परिवर्तन गर्न खोजिएको बताए । 

 सोमबारका सत्रमा ‘मार्क्स, गान्धी र बीपी कोइरालाका लोकतान्त्रिक समाजवादीको खोजी’ को विषयमा आनन्दकुमारले बोल्नेछन् । ‘बीपीले नपाएका १५ वर्ष’ शीर्षकमा हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले, मञ्चला झा, ‘बीपीका आख्यानमा मधेश’ मा सनत रेग्मी, नयनराज पाण्डे, सञ्जिता बर्मा, ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी’ शीर्षकमा बाबुराम भट्टराई, नारायण खड्का, प्रदीप ज्ञवाली र इन्द्र अधिकारी वक्ता छन् । त्यस्तै ‘युवा स्रष्टामा बीपी पठन’ बुद्धिसागर, रामलाल जोशी, सरस्वती प्रतीक्षा र सुविन भट्टराईले आफ्नो भनाइ राख्दै छन् । 

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully