कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोकप्रिय बन्दै रैथाने ब्रान्ड

झापाको दुधेस्थित कनकाई गार्मेन्ट उद्योगबाट उत्पादित एनी ब्रान्ड पछिल्लो समय लोकप्रिय हुँदै गएको छ । काठमाडौं, पोखरालगायतका ठूला सहरसम्म पुगेको ब्रान्ड लिग विजेता फुटबल क्लब चर्च ब्वाइज युनाइटेडले समेत प्रयोग गर्छ ।
पर्वत पोर्तेल

झापा — पूर्व–पश्चिम राजमार्गमै सटिएको छ, दुधे बजार । झापाको यो सानो गाउँ अहिले सहरोन्मुख छ । यही गाउँका युवा सन्तोष थोप्रा लिम्बू, कपडा उद्योगमार्फत ‘एनी’ नामको स्वदेशी स्पोटर््स ब्रान्डलाई देशव्यापी पहिचान दिलाउने ध्याउन्नेमा छन् ।

लोकप्रिय बन्दै रैथाने ब्रान्ड

‘ब्रान्डसँगै गाउँलाई पनि देशव्यापी पहिचान दिने मेरो सोच हो,’ शिवसताक्षी–९ दुधेस्थित कनकाई गार्मेन्ट उद्योगका संस्थापकले सुनाए, ‘कुनै दिन नेपाली खेलकुद क्षेत्रमा यो ब्रान्डलाई एकछत्र स्थापित गर्ने सपना छ ।’

उद्योग सुरु भएको ७ वर्ष भयो । एनीलाई स्पोर्ट्स ब्रान्डमा रूपान्तरण गरेकोचाहिँ ४ वर्षमात्रै । मनकारी स्वभावका सन्तोष जाडोयाममा सडक बालबालिकालाई ट्र्याक सुट बाँड्थे । त्यही मेसोमा गार्मेन्टहरू खोज्दै थिए । अचानक एउटा जुक्ति फुर्‍यो, ‘आफैं उद्योग किन नचलाउने ?’ अन्ततः सानो लगानीमा गाउँमै सानो गार्मेन्ट खडा गरे । आम्दानीको केहीहिस्सा उनले सडक बालबालिकादेखि लागूपदार्थ सेवनकर्ता अनि विपन्न र असहायको सेवामा खर्चिंदै आएका छन् ।

उद्योग सुरु गरेका दिन आफ्नो टेबलअघि एउटा दान पेटिका राखेर संकल्प गरे– सडक बालबालिकाको सहयोगार्थ हरेक दिन सय रुपैयाँ जोहो गर्ने । उद्योग सुरु गर्न अघिदेखि नै सामाजिक क्षेत्रमा लगानी गर्न थालेका थिए । आम्दानीको थोरै रकम समाजका लागि खर्चिन्थे । भन्छन्, ‘सहयोगका लागि मलाई भूगोल, जात, धर्म, लिंग केहीले छेक्दैन ।’

सुरुआती चरणमा सबै किसिमका कपडा उत्पादन गरे । तर आफू फुटबलको फ्यान भएकाले उत्पादनलाई स्पोटर््स ब्रान्डमा बढी केन्द्रित गरे । ‘खेल क्षेत्रसँग नजिक भएकाले स्पोर्ट्स ब्रान्डतिर पनि हात हाल्नुपर्छ भन्ने लागेर जर्सी बनाउन थालियो,’ फरासिला सन्तोषले निर्धक्क सुनाए, ‘तर, पहिलो गाँसमै ढुंगा लाग्यो ।’ ७ लाख बढीको कपडा काटेर बिग्रियो । कारण थियो, उद्योगमा अदक्ष जनशक्ति । जसका कारण सुरुआतमै घाटा व्यहोरे । धेरै समस्या भयो । ‘एउटा जर्सी उत्पादन लागतको सय रुपैयाँ घाटा व्यहोरेर पनि बेच्नुपर्ने बाध्यता आइलाग्यो,’ सन्तोषले संघर्षका दिन सम्झिए, ‘तर, मैले कहिल्यै हरेसचाहिँ खाइनँ ।’

‘एक दिन कसो नहोला’ भन्दै उनी निरन्तर कर्ममा जुटिरहे । त्यही निरन्तरताका कारण एनी ब्रान्डको अहिले देशव्यापी चिनारी बनेको हो । झापाको सानो गाउँको उत्पादन अहिले काठमाडौं, पोखरा जस्ता ठूला सहरदेखि सुदूरपश्चिमको कुना–कन्दरासम्म पुगेको छ । लिग विजेता फुटबल क्लब चर्च ब्वाइज युनाइटेड यही ब्रान्ड लगाएर मैदान ओर्लिन्छ । ‘राष्ट्रिय टोलीका खेलाडीलाई एनी ब्रान्डको जर्सी लगाएर मैदान ओराल्ने मेरो सपना छ,’ उनले भावी योजना सुनाए, ‘हरेक नेपाली खेलाडीले सस्तो मूल्यको नेपाली ब्रान्डको जर्सी लगाएर खेलुन् अनि हरेक खेलप्रेमीले सस्तो जर्सी लगाएर खेल हेरुन् भन्ने उनको चाहना छ ।’

नेपाली खेलकुद र खेलप्रेमीसँग विदेशी ब्रान्डको जर्सी लगाउने क्षमता कम छ । महँगो ब्रान्डको एउटा जर्सीको दामले उनी एउटा टिमको जर्सी तयार पार्छन् । उनले चाँडै एउटा नयाँ काम थाल्दै छन् । लोकप्रिय विदेशी ब्रान्डकै क्वालिटीमा कपडा आफैं उत्पादन गर्दै छन् । ‘केल्मीले प्रयोग गरेको कपडामा तयार पारेको गुणस्तरीय जर्सी चाँडै उत्पादन गरी ६ सयसम्ममा बेच्ने लक्ष्य छ,’ उनले भने, ‘सस्तो मूल्यमा गुणस्तरीय जर्सी लगाउने अधिकार आम उपभोक्ताको पनि होला नि ।’ उद्योगमा न्यूनतम ५ सयदेखि अधिकतम १२ सय मूल्यका जर्सी, ७ सयसम्मको टिसर्ट र २२ सयसम्मको ट्र्याक सुट उत्पादन हुन्छ ।

संघर्षबीच निरन्तरता दिएको उद्योगले हाल पहिचानको गोरेटो कोर्दै छ । तर, उद्योगमा दक्ष जनशक्ति र कच्चा पदार्थको सकस भने उस्तै छ । चाहे जस्तो कच्चा पदार्थ पाउनै गाह्रो छ । मूलतः दुई छिमेकी चीन र भारतबाट ल्याइएको कच्चा पदार्थ उद्योगमा प्रयोग गरिन्छ । ट्र्याक सुट, जर्सीका लागि चिनियाँ कच्चा पदार्थको प्रयोग उत्कृष्ट हुने उनको अनुभव छ ।

मोफसलमा उद्योगधन्दा चलाउनु सहज काम हैन । तर, सयौं हन्डरका बाबजुद पनि उनी गाउँलाई देशव्यापी पहिचान दिलाउन प्रयासरत छन् । जुन ठाउँमा बस्छन्, त्यही ठाउँको चिनारीका लागि लगानी गरिरहेका छन् । ‘चाहेको भए काठमाडौंमै उद्योग खोलेर लोकप्रिय ब्रान्ड उत्पादन गर्न पनि सकिन्थ्यो होला,’ सन्तोषले भपे, ‘तर, आफ्नै गाउँको मायाले बाँधेर राख्यो ।’ दक्ष जनशक्ति पाउने हो भने चीनवाट आउनेभन्दा राम्रो सामान उत्पादन गर्न सक्ने उनको अनुभव छ । ‘चीनमा प्रयोग हुने मेसिन र हाम्रो कारखानाको मेसिनमा केही फरक छैन,’ उनले भने ।

विपन्न परिवारमा जन्मिएका सन्तोष अभावबीच हुर्के । बाबु सानैमा बितेपछि परिवारलाई गर्जो टार्न समस्या थियो । तर, एकल आमाले संघर्ष गरेर हुर्काइन् । आमाले सिकाएको संघर्ष र मिहिनेत गर्ने बानीले आफू सफल बन्दै गएको उनी बताउँछन् । ‘एक दिन एनी ब्रान्डलाई विश्वमाझ परिचित गराउने सपना छ । सबैको साथ सहयोग भयो भने नेपाली बजार मात्रै हैन, विश्व बजारमा पनि हाम्रो ब्रान्डले स्थान ओगट्न सक्छ ।’

हाल उनले वार्षिक ३ करोड हाराहारीको त जर्सी मात्रै बेच्छन् । चाँडै यो दर बढाएर ५ करोड पुर्‍याउने योजना छ । आर्थिक मन्दीका बेला पनि स्वदेशी उद्योगमा खुलेर लगानी गर्ने आफूजस्ता व्यवसायीप्रति सरकार अनुदार बनेकामा भने उनको असन्तुष्टि छ । ‘सहुलियत दिनुपर्ने सरकारले उल्टै कडाइ पो गरिरहेको छ,’ उनले भने, ‘सरकारको काम व्यवसायीलाई सहजीकरण गर्ने पो हो त ।’

उद्योगमा हाल ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । न्यूनतम १० हजारदेखि अधिकतम डेढ लाखसम्म पारिश्रमिक पाउने पनि छन् । सकभर स्थानीय युवालाई नै रोजगारी दिएको उनको भनाइ छ । ‘स्थानीय महिलालाई प्राथमिकतामा राखेको छु,’ सन्तोषले भने । स्थानीय पालिकासँगको सहकार्यमा तालिम दिने र उद्योगमै रोजगारी दिने योजनासहितको प्रस्ताव पनि अघि सार्न लागेको उनी बताउँछन् । ‘स्थानीय सरकारले युवालाई तालिम दिएर दक्ष बनाएको खण्डमा हामी रोजगारीको ग्यारेन्टी गर्छौं,’ उनी भन्छन् ।

प्रकाशित : भाद्र २५, २०८० ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्