काठमाडौँ — सन् १९४० मा आजकै दिन (सेप्टेम्बर १३) मा बेलायतको बकिङ्घम दरबारमा बम प्रहार गरिएको थियो । दोस्रो विश्वयुद्धका दौरान जर्मनीले दरबारमा पाँचवटा बम प्रहार गरेको थियो ।
बम आक्रमणका कारण चार जना घाइते भएका थिए । तीमध्ये एक जनाको पछि मृत्यु भएको बताइएको थियो । बम आक्रमणमा दरबारको गेट, पूजा घर तथा भिक्टोरिया स्मारक ध्वस्त भएका थिए । त्यसअघि १९४० कै सेप्टेम्बर ८ मा दरबार परिसरमा ५० किलोको बम प्रहार गरिएको थियो । तर, विस्फोट नभएको उक्त बम पछि निष्क्रिय बनाइएको थियो ।
दोस्रो विश्वयुद्धका क्रममा दरबारलाई निसाना बनाएर ९ पटक आक्रमण गरिएको थियो । बम आक्रमणका बेला बेलायतका राजा जर्ज छैटौं र उनकी पत्नी एलिजाबेथले चिया पिइरहेका थिए । घटनामा उनीहरू दुवै जना सकुशल रहेका थिए ।
