सुन काण्डबारे कोइरालाको प्रश्‍न : नयाँ काण्ड आउँछ, ३ नेता बसिहाल्छन् किन ?

'सुन काण्ड भयो तर त्यसमा पनि संसद्‌मा बोलेर कुरा राखे त हुन्छ, संसद अवरुद्ध गरेर के हुन्छ ?'

श्रावण १८, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशमा एकपछि अर्को काण्ड भइरहँदा त्यसमा माथिल्लै तहको संलग्नता हुने गरेको दाबी गरेका छन् । यस्ता घटनाहरु बाहिर आउने बित्तिकै दलका शीर्ष नेताहरु बैठक बसिहाल्नु अर्थ के हो भन्ने पनि उनले प्रश्न गरेका छन् ।

काठमाडौंमा बिहीबार नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले ती नेताबीच के विषयमा छलफल हुन्छ भन्ने नै थाहा नभएको बताए ।

पछिल्लो समयको क्विन्टल सुन तस्करी प्रकणतर्फ संकेत गर्दै नेता कोइरालाले भ्रष्टाचारको अन्त्य भए मात्र देश सुशासनको बाटोमा अघि बढ्ने बताए ।

'अहिले अर्को नयाँ घटनाक्रम छ, जे घटना हुन्छ, तीन जना नेताहरु बसिहल्नुहुन्छ, किन बस्नुहुन्छ के छलफल हुन्छ ? केही थाहा छैन,' नेता कोइरालाले भने, 'हिजो–अस्ति मात्र पनि बसिराखेको जस्तो लाग्छ । यसले के सन्देश दिइरहेको छ ? के भइरहेको छ ? यसले देशलाई कहाँ पुर्‍याउँछ ? त्यसैले हामीले भ्ररष्टाचारको अन्त्य गरेर सुशासनको बाटोमा अघि बढाउने हो भने मात्रै देश बनाउन सकिन्छ ।'  

अहिले क्विन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले मात्र अनुसन्धान गर्नु र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नहेर्नु अचम्मको विषय रहेको कोइरालाले बताए । 'राजस्वको महानिर्देशक केही दिनअघि प्रधानमन्त्रीको पीए हुनुहुन्थ्यो,' नेता कोइरालाले भने । 

नेकपा एमालेले संसद् अवरुद्ध पार्दा देशलाई क्षति भइरहेको उनले बताए । संसद् अवरुद्ध हुँदा सत्ता पक्षले पनि विचार गर्न आवश्यक रहेको उनले बताए । 'संसद्लाई अवरुद्ध गर्‍यो भने देशको लागि कति क्षति भइरहेको छ भनेर सत्ता पक्ष र विपक्ष दुवैले बुझ्न आवश्यक छ । कुनै घटना आउँछ तर विपक्षले संसद् अवरुद्ध गरिहाल्छ,' उनले भने, 'यो त राम्रो होइन । संसद् त चल्न दिनुपर्‍यो । संसद्‌मा कुरा राखे राम्रै हुन्छ। पक्ष विपक्ष दुवैले विचार राखेको राम्रो हुन्छ। तर संसद्लाई नै अवरुद्ध पारेर त भएन । यसले देशलाई नै नोक्सान हुन्छ । ल सुन काण्ड भयो, तर त्यसमा पनि बोलेर कुरा राखे त हुन्छ । संसद अवरुद्ध गरेर के हुन्छ ?'

पार्टीमा सभापतिले बोलाइरहँदा आफू गइरहेको तर मिल्नलाई एजेन्डामा सहमति हुनुपर्ने उनले बताए । 'तपाईंहरूले शेखर कोइराला सभापतिसँग मिल्यो भनेर लेख्नुभयो । तर किन लेख्नुभयो ? कसले भनेर लेख्नुभयो ? मलाई थाहा छैन । तपाईंहरु नै लेख्नुहुन्छ कि शेखर कोइराला पहिले जाँदैनथे, मलाई बोलाउँदैन थिए, म जाँदैन थिएँ,' उनले भने, 'अहिले मलाई सभापतिज्यूले बोलाउनुहुन्छ म गइरहेको छु । हैन मिल्ने भनेको के हो ? मिल्ने भनेको एजेन्डाले हो, आजको एजेन्डामा हामी सँगै हुन सक्छौं ।' नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आरोप प्रत्यारोपमै सकिएको उनले बताए । 

कान्तिपुर

Link copied successfully