सत्तारूढ दलका सांसदहरूले भने- सार्वजनिक लेखा समितिले छानबिन गर्नुपर्छ
काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टल सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतमाथि नै छानबिन गर्नुपर्ने भएकाले उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेका सांसदहरूको माग छ । सार्वजनिक लेखा समितिको आइतबारकाे बैठकमा एमाले सांसदहरूले यस्तो माग गरेका हुन् ।
एमाले सचिवसमेत रहेका सांसद याेगेश भट्टराईले गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि छानबिन गर्न प्रहरीले नसक्ने भएकाले उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताए । सत्तारूढ दलका नेता सुन तस्करीमा संलग्न रहेको आरोप लगाउँदै भट्टराईले सरकारलाई ध्यानाकर्षण पत्र लेख्नुपर्ने बताए ।
'प्रहरीले गृहमन्त्रीमाथि छानबिन गर्न सक्दैन । फाइल उहाँको टेबुलमा छ, सरकारमै सहभागी दलको ठूलो नेता तानिएका छन् । तर, सरकार छानबिन गर्न चाहँदैन,' उनले भने, 'भन्सारका गडबडीबारे छानबिन गर्नुपर्नेछ, त्यहीँ अर्थमन्त्री बसेर छानबिन हुन्छ ?'
एमालेकै सांसद ऋषिकेश पाेखरलेलले पनि सुन प्रकरणकाे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए । 'उच्चस्तरीय छानबिन समिति नै गठन हुनुपर्छ । अनि मात्रै सत्यतथ्य बाहिर आउँछ । आजै सरकारलाई निर्देशन होस्,' उनलेे भने ।
कांग्रेस सांसद तेजुलाल चाैधरीले पनि सुन तस्करी प्रकरणमा समितिले छानबिन गर्नुपर्ने बताए । सत्तारूढ दल जसपाका सांसद प्रदीप यादवले लेखा समितिले उपसमिति गठन गरेर छानबिन हुनुपर्ने बताए । 'सार्वजनिक लेखा समितिले छानबिन गर्नसक्छ कि सक्दैन ? सार्वजनिक लेखा समितिले उपसमिति बनाएर छानबिन गराेस्,' उनलेे भने ।
कांग्रेस सांसद रामकृष्ण यादवले पनि सार्वजनिक लेखा समितिमा गृहमन्त्री र अर्थमन्त्रीलाई बाेलाएर जानकारी लिनुपर्ने बताएका छन् । भन्सार प्रमुखलाई पनि समितिमा बाेलाएर सुन तस्करीबारे प्रष्टिकरण लिनुपर्ने धारणा राखे ।
कांग्रेसका सांसद सञ्जय गौतमले सुन समातिएकामा खुसी लागेको भन्दै मुलुक तस्कहरूको स्वर्गभूमि बनेको कटाक्ष गरेका थिए । उनले सुन तस्करी, भुटानी शरणार्थी, ललिता निवास लगायत भ्रष्टाचारका मुद्दा निष्कर्षमा पुर्याउनुपर्ने बताए । यसबारे छानबिनका लागि सहयोग गर्न उनले प्रतिक्षी दलका सांसदहरूलाई आग्रह गरेका थिए ।
'प्रतिपक्षलाई आग्रह गर्न चाहन्छु जलहरी काण्ड भए पनि बन्द गर्ने, सुन काण्ड भए पनि बन्द गर्ने ? हामी सत्ता पक्षकाले पनि आलोचना गरेका छौं । छानबिनमा सहयोग गरौं,' सांसद गौतमले भने ।
राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्कर गरी ल्याएकाे क्विन्टल सुन बरामद गरेको थियाे । ठूलो परिमाणमा तस्करीकाे सुन बरामद भएपछि प्रमुख प्रतिपक्षी दल एमालेले गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै संसद् अवरुद्ध गरेको थियाे ।
