जब टेकनाथ इजलासमा उभिए

सहअभियुक्तहरूतिर देखाउँदै कड्किए, ‘यी चोरहरूले गर्दा आज यो दिन देख्नुपर्‍यो श्रीमान्, पैसा खाने यिनीहरू, दुःख पाउने म ? यसरी अपमानपूर्वक मुद्दा लगाएर थुन्नुभन्दा मलाई यही अदालतमा बाँधेर राख बरु चोरहरू !’

असार १, २०८०

घनश्याम खड्का

काठमाडौँ — ‘के म केही कुरा भन्न सक्छु श्रीमान् ?’ आफ्ना पक्षमा बोलिरहेका १२ जना वकिलको बहसपछि भुटानी शरणार्थी नेता टेकनाथ रिजाल जुरुक्क उठे, ‘केही कुरा मैले नै बोल्नुपर्ने भयो ।’ दर्जन वकिलको बहसमा पनि छुटेको कुरा रिजालले के भन्लान् भन्ने उत्सुकताले पूरै इजलासको आँखा उनीमाथि केन्द्रित भयो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेले उनलाई वकिल उभिएर बहस गर्ने ठाउँमा आउन अनुमति दिए । कोटमाथि ह्याट लगाएका अग्ला ७६ वर्षीय रिजाल दुई सातादेखि चलिरहेको बहस सुन्दै आएका १८ अभियुक्तमध्ये इजलासमा उभिएर सरकारी अभियोजनको आफैं प्रतिवाद गर्ने एक्ला व्यक्ति थिए । 

रिजालले सुरुमा आफ्नो सुदूर अतीत सम्झिए । भुटानमा हुँदाका हैरानीपूर्ण दिन र त्यहाँको राजतन्त्रले नेपालीमाथि गरेको अत्याचारबारे बोले । त्यसपछि शरणार्थी भएर ज्यान बचाउन नेपाल आइपुग्दाका अप्ठेरा दिनका हन्डर अनि घर फर्किन गरिएको दशकौं लामो प्रतीक्षाका बारेमा उनले भावुक भएर इजलासमा सुस्केरा हाले । आफू र आफूजस्ता एक लाख मानिस न यताको न उताको भएर जिन्दगी बिताउनुपर्दा उनले सुनाएको सास्तीलाई न्यायाधीश न्यौपानेले मात्रै होइन, उपस्थित अधिवक्ता र सहअभियुक्तहरू सबैले ध्यानले सुने । 

यसरी संघर्षका दिनबारे बोल्दै गर्दा नेपाल सरकारलाई पटक–पटक तेस्रो मुलुक होइन, आफ्नै देश भुटान फर्कने अडानका साथ शरणार्थी शिविरमै बसिरहेका साढे ६ हजार मानिसका बारेमा पनि उनी बोले । त्यसलाई समाधान गर्न पटक–पटक नेपाल सरकारको ध्यानाकर्षण गराउने आफ्नो प्रयत्नलाई पनि उनले इजलासमा संक्षिप्तमा राखे । लामो संघर्षका कथा भन्दाभन्दै उनी अचानक भक्कानिए र पछाडि फर्किएर सहअभियुक्तहरूतिर देखाउँदै बम्किए, ‘तर यी चोरहरूले गर्दा आज यो दिन देख्नुपर्‍यो श्रीमान्, पैसा खाने यिनीहरू, दुःख पाउने म ? यसरी अपमानपूर्वक मुद्दा लगाएर थुन्नुभन्दा मलाई यही अदालतमा बाँधेर राख बरु चोरहरू !’

भुटानी शरणार्थीका नाममा पैसा उठाउने खोलोफड्को भइरहेको जानकारी गराएर त्यसलाई सुल्झाउन आफूले पटक–पटक शेरबहादुर देउवादेखि माधवकुमार नेपालसम्मलाई भेटेर घचघच्याउँदा पनि सुने नसुनेझैं गरेको प्रसंग झिक्दै रिजाल रिसले मुर्मुरिए । उनको आक्रोश बढ्दै जान थालेपछि न्यायाधीश न्यौपानेले उनलाई रोके । उनका वकिलहरूले सम्हालिन आग्रह गरे भने प्रतिवादीहरू निःशब्द उनलाई सुनिरहे ।अपराह्न साढे ३ बजेतिर इजलासमा उभिएर १० मिनेटजति मनका वेदनाहरू पोखेपछि रिजाल न्यायाधीशको आग्रहलाई स्विकार्दै पुनः बेञ्चमै बसे । 

रिजाल बोलेपछि केहीबेर इजलासको गति रोकिएजस्तो भयो । त्यसपछि लगत्तै न्यायाधीशले प्रतिरक्षाको पालो कुरिरहेका अन्तिम प्रतिवादी लक्ष्मी महर्जन र उनका पति हरिभक्त महर्जनका कानुन व्यवसायीलाई बोल्न बोलाए । महर्जन दम्पती कुनै पनि हालतमा दोषी नभएको तथा संगठित अपराधमा उनीहरू अञ्जानवश पनि संलग्न छन् भन्ने कुनै प्रमाण नदेखिएको जिकिर उनका कानुन व्यवसायीहरू प्रकाश महर्जन र उमेशप्रसाद अधिकारीले गरे ।

लक्ष्मी पेसाले प्रहरी सब–इन्स्पेक्टर रहेको र उनले सहकारीको कारोबार गर्ने आफ्ना पति हरिभक्तलाई बैंक खाता पहिल्यैदेखि चलाउन दिने गरेको अवस्थामा आफ्नो खातामा आएको रकमको जानकारी उनलाई नभएको तथ्य पस्कँदै अधिवक्ता महर्जनले तर्क गरे, ‘उनी जिम्मेवार प्रहरी मात्रै नभएर ११ महिनाको बच्चाको आमा पनि हुन्, श्रीमान्लाई षड्यन्त्रपूर्वक अभियोजन गरेर अनावश्यक तवरले दुःख दिने काम भइरहेको छ ।’

महर्जन दम्पतीको पक्षमा भएको संक्षिप्त बहसपछि न्यायाधीश न्यौपानेले सरकारी अधिवक्ताहरूलाई शुक्रबार खाजा खाने समयअघि नै जवाफी बहस सक्न सुझाए । ‘हस् श्रीमान्, हामी लामो बोल्ने पक्षमा छैनौं,’ जवाफी बहस गर्न दुई सातादेखि प्रतिवादीहरूको जिकिरका बुँदा टिपोट गर्दै आएकी सहायक जिल्ला न्यायाधिवक्ता निर्मला मरासिनीले भनिन्, ‘ब्रेकअघि नै हामी बहस सक्नेछौं ।’

जवाफी बहसमा मरासिनीसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने तथा जिल्ला न्यायाधिवक्ताहरू लक्ष्मण उपाध्याय पौडेल र महेश खत्रीले बोल्ने तय भएको छ । त्यसपछि खाजा खाने समयमा न्यायाधीश न्यौपानेले थुनछेकको आदेश लेख्न थाल्नेछन्, जसलाई अपराह्न इजलासमा प्रतिवादीहरूका सामु सुनाइनेछ ।

इजलासबाट हिरासतमा लगिनुअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणबीच केहीबेर कानेखुसी चल्यो । त्यसपछि खाण उठेर गए । छेउमै हँसिलो मुख लगाएर बसिरहेका टेकनाथ रिजाल इजलासमा कड्किएपछि मन हलुको भएको बताउँदै थिए । ‘मैले आज चित्त नबुझेको सबै कुरा गरें,’ उनले भने, ‘प्रहरीलाई पनि चोर भनें, सरकारी वकिललाई पनि गाली गरें, मलाई फसाउनेहरूको त सातै खाइदिएँ । आज हलुको भएको छु ।’

यति भनेर उनी प्रहरीका साथमा हिरासतमा फर्किए । सबै गइसक्दा पनि रायमाझी भने पूर्ववत् इजलासमै बसिरहेका थिए । अविराम चलिरहेको पट्यारलाग्दो बहस सकिएकामा केही हलुको उनलाई पनि भएको रहेछ । थुनछेकको आदेश आउने बेला भयो, कस्तो लागिरहेको छ भन्ने कान्तिपुरको प्रश्नमा उनी केहीबेर चुप बसे । अनि भने, ‘सबै विषय इजलासमा छर्लंग हुन पायो, साथीहरूले बहसमा सबै खुलाइहाल्नुभयो, राम्रो लागिरहेको छ ।’ त्यसपछि उनी केहीबेर पुनः मौन भए र उठ्नुअघि अभियोजनमा उठाइएका प्रश्न र अभियोगहरूबारे आफूलाई केही थाहा नभएको भन्दै संक्षिप्त कथन टुंग्याए, ‘यो सब खेला हो ।’

नक्कली शरणार्थी प्रकरण

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully