नक्कली शरणार्थी प्रकरणमा थुनछेक बहस सकिँदै

टेकनाथ रिजाल, हरिभक्त महर्जन र उनकी पत्नी लक्ष्मी महर्जनका कानुन व्यवसायीको मात्र बहस बाँकी

जेष्ठ ३२, २०८०

घनश्याम खड्का

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणबारे जिल्ला अदालत काठमाडौंमा चलिरहेको थुनछेक बहस बिहीबार सकिने सम्भावना रहेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेले ‘भोलि जसरी पनि सक्नुपर्छ’ भनेर बुधबार इजलास टुंग्याएका थिए ।

प्रतिवादीका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्न लगाएर उनले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने कि धरौटी वा साधारण तारिखमा छाडेर मुद्दा किनारा लगाउने भन्ने आदेश दिनेछन् ।

इलजासमा बुधबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ र पूर्वसांसद आङ्टावा शेर्पाका कानुन व्यवसायीहरूले बहस गरेका थिए । बिहीबार भुटानी शरणार्थी नेता टेकनाथ रिजालका तर्फबाट १६, हरिभक्त महर्जनका तर्फबाट दुई र उनकी पत्नी लक्ष्मी महर्जनका तर्फबाट एक जना अधिवक्ताको बहस हुनेछ । त्यसलाई खाजाअघिको समयमै सक्ने योजनामा न्यायाधीश न्यौपाने रहेका छन् ।

प्रतिवादीका तर्फबाट हालसम्म बहस गरेका ७६ कानुन व्यवसायीमध्ये अधिकांशले कानुनी तर्क र जिरहभन्दा अभियोजन गर्ने सरकारी वकिल र अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई गाली गरेर बहस सकेका छन् । बाँकी पृष्ठ १०ड पूर्वगृहमन्त्री खाणका पक्षमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले बुधबार बहस गर्दा भिन्न शैली अपनाएका थिए । उनले पक्ष–विपक्षमा ज्यादा बहस गरेनन्, न इजलासतिरै केन्द्रित भए । बहसका क्रममा खाती ‘यहाँ पत्रकार साथीहरू पनि हुनुहुन्छ’ भन्दै सुरुमै पछाडि फर्केर बोलेका थिए । त्यस क्रममा उनले ‘हामीलाई भ्रष्टाचारी बचाउने मान्छे भनेर फोटोसहित छापिदिनुहुन्छ अनि त्यो टिकटकमा भाइरल भएर हेरिनसक्नुको गाली आउँछ’ भनेका थिए ।

त्यसपछि उनले खाणविरुद्ध प्रहरीले गरेको अनुसन्धानलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पेन ड्राइभमा सारेर ‘कपिपेस्ट’ गरी अभियोजन गरेको भन्दै भाषणकै शैलीमा आपत्ति प्रकट गरे, त्यो पनि पत्रकारतिरै हेरेर । उनको शैली देखेर इजलासमा उपस्थित अरू वकिलले अचम्म मानेका माने, अभियुक्तहरूले मुखामुख गरे । 

खातीले जेसुकै भने पनि र जता हेरिरहे पनि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले सुनिमात्रै रहे । पूर्वमन्त्री खाणका पक्षमा बहस गर्न जम्मा भएका ३४ वकिलमध्ये पन्ध्रौं नम्बरमा खातीले बहस गरेका थिए । उनले अन्त्यमा न्यायाधीश न्यौपानेलाई बाँकी वकिलले बहस नगरे पनि वकालतनामा दिएकाले आदेशमा नाम भने टिपाइदिनुहोला भनेर बहस टुंग्याए । त्यसअघि खाणका पक्षमा पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ तथा वरिष्ठ अधिवक्ताहरू सुरेन्द्रकुमार महतो, गोपालकृष्ण घिमिरे र पूर्वराष्ट्रपति रामवरण यादवका कानुनी सल्लाहकारसमेत रहेका ललित बस्नेतले बहस गरेका थिए । उनीहरूले पूर्ववर्ती अधिवक्ताले झैं खाण निर्दोष रहेको र राज्यले षड्यन्त्रपूर्वक मुद्दा चलाएको जिकिर मात्रै गरेनन्, ‘मिडिया ट्रायल’ गरेर खाणलाई दुःख दिएको समेत दाबी गरे ।

हिरासतमा परेपछि गृहसचिव टेकनारायण पाण्डेले खाणका स्वकीय सचिव नरेन्द्र केसीमार्फत ‘ओली बा र देउवाले प्रधानमन्त्रीलाई भनेर जाहेरीमा मुख्य प्रतिवादीहरूलाई मात्र मुद्दा दायर गर्ने र अब थप आरोपित व्यक्तिलाई पक्राउ नगर्ने हो भने मुद्दाले सहज रूप लिन्छ, नभए जटिल मोडमा राजनीति पुग्ने अवस्था छ’ भनेर लेखेको चिट खाण पक्राउ भएको भोलिपल्ट प्रहरीले बरामद गरेको थियो । खाणका वकिलले त्यसलाई बनिबनाउ झूट भएकाले प्रमाणका रूपमा प्रयोग गर्न नमिल्ने जिकिर गरेका छन् । उनीहरूको यो जिकिर चलिरहँदा लामो समयदेखि धुम्म परेको खाणको अनुहारमा केही प्रसन्नता छाएको देखिन्थ्यो । खाणका वकिलहरूले गरेको बहसप्रति नेपाल बार एसोसिएसनका पूर्वमहासचिव लीलामणि पौडेलले सामाजिक सञ्जालमा कटाक्ष गरेका छन्, ‘बहस् कि हस् ? पक्षलाई सुनाउने कि बेन्चलाई ?’

धेरै लम्बिएको भन्दै न्यायाधीश न्यौपानेले खाणका बाँकी अधिवक्तालाई बहस गर्न रोकेर खाजापछि नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँका कानुन व्यवसायीलाई प्रतिरक्षा गर्न पालो दिएका थिए । कोभिड महामारीका बेला २०७६ जेठ अन्तिम साता मियाँको गाडीमा सन्देश शर्माले दुई बोरा पैसा काठमाडौं ओसारेको हुनाले राज्यविरुद्धको अपराधमा उनी पनि संलग्न भएको अभियोजनपत्रमा उल्लेख छ । ‘यो अभियोजनमा तथ्यको अभाव छ श्रीमान्,’ मुद्दाको संक्षिप्त व्यहोरा भनिसकेपछि अधिवक्ता मन्दिरा अधिकारीले इजलासमा तर्क गरिन्, ‘कसैले गाडी प्रयोग गरेकै भरमा मियाँले राज्यविरुद्धको अपराध कसरी गरेको ठहर्छ ?’ ‘अनि गाडीचाहिँ किन प्रयोग गर्न दिएको त ?’ न्यायाधीश न्यौपानेले प्रतिप्रश्न गरे ।

जवाफमा अधिवक्ता पौडेलले कोभिड महामारीका बेला भइरहेको मानवीय आपत् र जोखिमलाई सन्दर्भमा लिन आग्रह गरिन् । ‘मानवीय नाताले त्यो बेला जसले जतिबेला जसलाई पनि सहयोग गर्नॅपर्ने अवस्था थियो, निज सन्देश शर्मा मियाँको चिनजानका मानिस भएको र उनले श्रीमती बिरामी हुनाले उपचारका लागि काठमाडौं लौजान पर्‍यो भनी गाडी मागेपछि कसरी नदिने श्रीमान् ?’ मानवीय नाताले मियाँले गाडी दिनुपरेको तर्क पौडेलले गर्दा न्यायाधीश न्यौपानेले त्यसलाई नोट गरे । अरू दुई अधिवक्ता ऋषि घिमिरे र रवीन्द्र भट्टराईले पनि मियाँ निर्दोष रहेको जिकिर गरे । 

नक्कली शरणार्थी प्रकरण

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully