ध्यानमा डुब्न डुपु

करिब ४५ सय मिटर उचाइको डुपु क्षेत्र पुग्दा सेमिसिदाङसहित गाङछाम्बो, गौरीशंकर, दोर्जे लाक्पाजस्ता अनेक हिमशृंखला आँखै अघि देखिन्छन्

जेष्ठ ३०, २०८०

अनिश तिवारी

डुपु, सिन्धुपाल्चोक — दर्जनौं ध्वजापतंगाले सजिएका पहाडी ढुंगाबीच मानेर्छ्योतेन गुम्बा र सुन्दर गुफा । लोभलाग्दा हिमाल, हिमालकै काखमा टलपलाइरहेका ताल अनि वरपर बौद्ध मन्त्र लेखिएका ठूला ढुंगा ।

हेलम्बु गाउँपालिका–१ डुपुका मनमोहक दृश्य देखेपछि कसको मन नलोभिएला ? करिब ४५ सय मिटरको उचाइमा रहेको हेलम्बुको पवित्र स्थान डुपु क्षेत्र पुग्दा सेमिसिदाङसहित गाङछाम्बो, गौरीशंकर, दोर्जे लाक्पा जस्ता अनेक हिमशृंखला आँखै अघि देखिन्छन् । तर, यो मनमोहक स्थान पर्यटकीयभन्दा बढी ध्यानभूमिका लागि चर्चित छ । हेलम्बु क्षेत्रको पुराना पदमार्गमध्ये पर्यटकीय गाउँका रूपमा परिचित मेलम्चीघ्याङ, तार्केघ्याङ, सेर्माथाङ हुँदै आमायांग्री, डुपुको पर्यटकीय पदमार्ग भएर लाङटाङ क्षेत्र पुग्ने पर्यटकका लागि यो क्षेत्र ध्यानको केन्द्र नै हो । 

हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार भूकम्पअघि दैनिक करिब एक सय पर्यटक डुपुको ध्यानको आनन्द लिन हेलम्बु आउने गरेका थिए । ह्योल्मो जातिको उद्गमस्थल मानिने हेलम्बुको तार्केघ्याङ, गुरु रिन्पोछे गुफा, मेलम्चीघ्याङ, महादेव पाइला, मिलारेपासहित चिरी गुम्बाजस्ता अनेक प्राचीन गुम्बा, तीर्थस्थल घुम्दै वार्षिक ३६ हजार पर्यटक यहाँ आइपुग्थे ।

‘अहिले पनि दिनहुँ ५० भन्दा बढी स्वदेशी र विदेशी पर्यटक आमायांग्री हुँदै डुपु ध्यानका लागि पुग्छन्,’ शेर्पाले भने, ‘ध्यान साधना गर्नेका लागि डुपु नपुगे सिद्धि अधुरो हुन्छ भन्ने एउटा मान्यता बनिसकेको छ ।’ लाङटाङ क्षेत्र पुग्न डुपु रुटबाट तीन दिन लाग्छ । हेलम्बुको डुपु भेगको सुन्दरता देखेपछि आफूलाई रोक्न नसकेका सगरमाथा आरोहीद्वय माया गुरुङ, कलाकार शैली बस्नेत र एक्सपोल हब नेपालकी सजना भडेल एकैसाथ रमाए ।

हिमाल र ताल हेरेपछि डुपु गुफा पुगेपछि ध्यानमा बसे । उनीहरू हेलम्बुको आमायांग्री हुँदै ध्यान गर्नकै लागि पाँच घण्टा पैदल हिँडेर केही दिनअघि डुपु आएका थिए । ‘यदि धर्तीमा स्वर्ग कहीं छ भने त्यो यही हो । यो पर्यटकीय स्थलमध्ये उत्कृष्ट स्थान पनि हो,’ शैलीले भनिन् । अमेरिकामा स्ट्यान्डअप कमेडीमा जमेकी शैली समय निकालेर बेलाबेला ध्यान गर्नकै लागि डुपु आइरहन्छिन् । तर पछिल्लो समय गाउँगाउँमा ‘विकासे सडक’ बनाउने लहर चलेकाले पर्यटकीय पदमार्ग केही खल्बलिएका छन् । त्यस्ता मार्गको पुनर्निर्माण भइरहेको छ । 

डुपुको धार्मिक इतिहास बज्रयान सम्प्रदायका महान् गुरु तथा निङ्मा सम्प्रदाय प्रवर्तक गुरु रेन्पोछे (पद्मसम्भव) सँग जोडिएको छ । आठौं शताब्दीमा तिब्बती राजा ठ्रिसोङ देहुचेनको निम्तोमा उनी नेपाल हुँदै तिब्बत जाँदा नेपालमा पनि उनले बौद्ध धर्मको प्रचारप्रसार गरेका थिए ।

तिब्बत पुग्नुअघि नेपालमा गुरु पद्मसम्भवले धेरै स्थानमा ध्यान र साधना विस्तार गरेका थिए । ‘त्यही क्रममा विशेष ध्यान गरेको स्थान हो डुपु,’ ह्योल्मो सांस्कृतिक अनुसन्धानदाता टासी दोङ्बाले भने । उनले अनुसार उक्त क्षेत्रमा दसौं शताब्दीमा भुटानका राजासहित १०८ बौद्ध भिक्षुले तीन वर्ष तीन महिना तीन दिन ध्यान गरेका र तीमध्ये धेरैले बुद्धत्व प्राप्त गरेका थिए । 

युवा ग्यालरी

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully