नक्कली भुटानी शरणार्थी प्रकरण

चौंरी बेचेर आङ्टावालाई ६ लाख बुझाएका थिए दोर्जीले

आङ्टावा भन्थे– ‘तिमारु ८७५ भित्र होइन, ४२९ भित्र पर्छौ, ढुक्क रहनू’ 
देवेन्द्र भट्टराई

काठमाडौँ — भुटानी शरणार्थी बनेर अमेरिका पुगिछाड्ने सपना देख्नुअघि दोर्जी शेर्पा जिरीमाथिको लेकमा चौंरीपालन गर्थे । लेकाली रनवनमा रमाइरहेका उनले एकाएक ‘केही पैसा बुझाए सजिलै अमेरिका पुगिने’ हल्ला सुने । त्यही हल्लाकै भरमा सुरुमा उनले १९ वटा चौंरी बेचे ।

चौंरी बेचेर आङ्टावालाई ६ लाख बुझाएका थिए दोर्जीले

‘गोठमा अलिक बूढो उमेरका उरान जातका चौंरी थिए । १९ वटा बेचेर पैसा भेला गरिहालें, गोटाको ४५ हजार रुपैयाँका दरले,’ दोर्जीले सुनाए, ‘त्यसपछि गएको वर्ष जेठमा नातामा आफन्त पर्ने र शरणार्थी बनाएर अमेरिका पठाइदिने रामेछापका एजेन्ट आङ्टावा शेर्पालाई भेट्न काठमाडौं आएको थिएँ ।’

दोर्जी र उनका ८ आफन्तसँग आङ्टावाले चाबहिलको केएल टावरनजिकै आफ्ना छोराको कफी सपमा भेटेका थिए । उनी भन्थे, ‘यो गृह मन्त्रालयले ल्याएको अवसर हो, तुरुन्तै अमेरिका जाने अवसर हो । टोटल प्याकेजमा ४० लाख रुपैयाँ लाग्छ, अहिले ६ लाख रुपैयाँ दिइहाल्नू ।’ लगत्तै आङ्टावाले ‘भुटानी शरणार्थीमा नाम दर्ता गरिपाऊँ’ उल्लिखित फाराम झिकेर भर्न लगाइहाले । ‘लु मौका आएछ भनेर हामीले शरणार्थी फाराम भरिहाल्यौं, खुरुखुरु चेक पनि काटिदियौं,’ उनले भने, ‘त्यसपछि दोर्जीबाट म मिङ्मा शेर्पा बनें ।’ फाराममा उनको ठेगाना भुटानको चिराङ राखिएको छ ।

एकातर्फ गृह मन्त्रालयले बनाएको एक प्रतिवेदनमा ८७५ नक्कली शरणार्थीको अनुसूची दफा थपेर झापा, मोरङ, कास्की, सल्यान, म्याग्दी, दाङ, रुकुमसम्म पैसा उठाउने काम भइरहेका बेला यता आङ्टावाले भने त्योभन्दा दरिलो अर्को सूत्र पहिल्याएका थिए । त्यो थियो– झापा र मोरङका शरणार्थी शिविरमा रहेका छुट दर्ताका आधिकारिक ४२९ व्यक्तिभित्रै दोर्जी र उनका साथीहरूलाई समेट्ने । ‘तिमारु ८७५ होइन, ४२९ भित्र पर्नेछौ,’ आङ्टावाले भनेका थिए, ‘अबको चान्समा अमेरिका उड्ने भनेकै तिमारु हौ ।’

उनकै योजनामा दोर्जी र उनका साथीहरूलाई ललितपुरको हिमालय होटलमा लगेर फोटो खिचियो । ‘अब शरणार्थी परिचयपत्र आउँछ, त्यो लिने भए २४ लाख रुपैयाँ बुझाउनु । अनि ट्राभल डकुमेन्ट र मेडिकलका लागि १० लाख रुपैयाँ तिर्नुपर्छ । त्यसपछि सिधै अमेरिका,’ फेरि आङ्टावाले आश्वस्त पार्न पैसाकै माग राखे ।

यति काम सकेर दोर्जी गाउँ फर्किए । तर, उनको मनमा प्रश्न बाँकी नै थियो– लेकमा चौंरी बेचेर, दुःखजिलो गरेर ६ लाख रुपैयाँ बल्ल बुझाइएको छ, अरू रकम कसरी जोहो गर्ने ? केही समयमै गएको जेठ ३१ मा ‘भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै करोडौं असुली’ शीर्षकमा समाचार आएपछि उनीसहित दोलखा–रामेछापबाट आङ्टावालाई रकम बुझाउने सयभन्दा बढी सर्वसाधारण हच्किएका थिए । ‘त्यसपछि हामीले यो काम सही रहनेछ, सरकारी तहको होइन रहेछ भन्ने थाहा पायौं,’ दोर्जी भन्छन्, ‘अनि आङ्टावालाई पैसा फिर्ता गर्न दबाब दिन थाल्यौं ।’ आङ्टावाका सहयोगी बनेर आएका मोरङका मिलन गौतमले भने पैसा फिर्ता लिन आएका सर्वसाधारणलाई कहींकतै नबहकिन र पत्रिकामा आएको समाचारको भर नपर्न सम्झाइरहेका थिए ।

फोन सम्पर्क वा भेटघाटमा आङ्टावाका टालटुले कुरा आएपछि दोर्जीसहितले ठगीमा परेको भन्दै वैदेशिक रोजगार विभाग, उपत्यका अपराध अनुसन्धान कार्यालयतिर पनि हारगुहार मागिरहे । सुनुवाइ कतैबाट भएन । ‘आङ्टावा हामी सबै शेर्पा समुदायका नातेदार थिए, त्यसकारण पनि उनलाई अप्ठ्यारो लागेको हुनुपर्छ,’ दोलखा जिरीकै अर्का दाफुरी शेर्पाले सुनाए, ‘यही कारण उनी अस्ति जेठ १ मा प्रहरीसामु उपस्थित भएका रहेछन् । आफूलाई निर्दोष देखाउन चाहेका रहेछन् ।’

अहिले प्रहरी हिरासतमा रहेका कांग्रेसका पूर्वसांसद आङ्टावाले जिल्ला अदालतसामु दिएको बयानमा शरणार्थी गिरोहमा आएका नाममध्ये ‘केशव दुलाल, सानु भण्डारी, बालकृष्ण खाणलाई राम्ररी चिनेको’ बताएका छन् । दुलाल कांग्रेस नेतृ सुजाता कोइरालाको निजी सचिव, भण्डारी जग्गा र हाइड्रो पावरसम्बद्ध तथा खाण कांग्रेस नेता भएर चिनेको उनले सतही बयान दिएका छन् ।

‘दोलखा र रामेछापमा एक सयभन्दा बढी आङ्टावाबाट पीडित होलान्, तर अरू कोही आउनेवाला छैनन्,’ २६ वर्षीय दाफुरीले भने, ‘किनभने जति शेर्पा छन्, कि मावली, कि ससुराली वा घरतिरका छन् । त्यसमाथि कांग्रेसका नेता आङ्टावाका विरोधमा को बोल्ने ?’ आफूसहितको समूहले टेकु प्रहरी परिसरमा उजुरी दिन चाहे पनि दर्ता नगरिएको र थन्क्याएर राखिएको दाफुरीको भनाइ छ । ‘यस्ता फटाहा र तस्करका बारे कारबाही हुनुपर्‍यो भनेर हामी वैदेशिक रोजगारमा गयौं, सुनुवाइ भएन । प्रहरी परिसरमा पुग्यौं, निवेदन दर्तै भएन,’ उनी भन्छन्, ‘कतैकहीं केही सीप नलागेपछि पत्रिकासामु आएका हौं, हाम्रो सुनुवाइ हुनुपर्‍यो ।’

आङ्टावाले दोलखा–रामेछापका शेर्पा समुदायबाट करोडौं रुपैयाँ उठाए पनि यतिबेला उनीहरू ‘आफन्तका विरुद्ध’ बोल्न चाहिरहेका छैनन् । यो प्रकरणमा गत जेठ १० गते आङ्टावासहित ३० जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । आइतबारदेखि अभियुक्तमाथि थुनछेक बहस सुरु हुँदै छ ।

प्रकाशित : जेष्ठ २०, २०८० ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?