अभियोगपत्र तयार पार्न कार्यदल

प्रहरी अनुसन्धानको आंशिक प्रतिवेदन सरकारी वकिलको कार्यालयमा, मूल प्रतिवेदन आज बुझाइँदै

जेष्ठ ८, २०८०

मातृका दाहाल

काठमाडौँ — नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गिरोहले रचेको अपराधसम्बन्धी अनुसन्धान प्रतिवेदन अध्ययन गरी अभियोगपत्र तयार पार्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले कार्यदल गठन गरेको छ । सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख (सहन्यायाधिवक्ता) अच्युतमणि नेउपानेको संयोजकत्वमा सरकारी वकिलहरू सम्मिलित ८ सदस्यीय कार्यदल बनेको हो ।

कार्यदल गठनसँगै आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंले सरकारी वकिल कार्यालयमा अनुसन्धानको आंशिक प्रतिवेदन पेस गरेको छ । रायसहितको मूल प्रतिवेदन भने सोमबार (आज) बुझाइने काठमाडौं प्रहरीले जनाएको छ । आइतबार नै प्रतिवेदन बुझाउने तयारी रहे पनि ‘प्राविधिक कारण’ देखाएर प्रहरीले एक दिन लम्ब्याएको हो । ‘प्रहरीले आजै प्रतिवेदन बुझाउने भनेको थियो । साँझ ६ बजेसम्म पनि कुरेर बसेका थियौं । फेरि आइतबार सकिएन, सोमबार मात्रै आउँछ भनिएको छ,’ सहन्यायाधिवक्ता नेउपानेले भने । उनले प्रतिवेदन बुझेको दुई दिनपछि अभियोगपत्र अदालतमा पुर्‍याइने जानकारी दिए । 

प्रहरीले गत चैत १२ मा गिरोहका तीन सदस्यलाई पक्राउ गरेर नक्कली शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएको थियो । ठगीमा सुरु भएको अनुसन्धान पछि संगठित अपराधको कसुरमा विस्तार गरिएको थियो । संगठित अपराधको अनुसन्धान गर्ने हदम्याद ६० दिनको हुन्छ । प्रतिवेदन अध्ययन र अभियोगपत्र तयार गर्नकै लागि आरोपितलाई सोमबारसम्म थुनामा राख्न अदालतबाट अनुमति लिइएको सहन्यायाधिवक्ता नेउपानेले बताए । हदम्यादलाई ख्याल गर्दै शरणार्थी प्रकरणको मुद्दा बिहीबारभित्र अदालतमा दायर गरिसक्ने सरकारी वकिल कार्यालयको तयारी छ ।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार अपराधमा संलग्नता र भूमिकाका आधारमा आरोपितविरुद्ध राष्ट्रहितविरुद्धको कसुर, संगठित अपराध, ठगी र किर्तेमा मुद्दा चलाउनुपर्ने राय तयार भएको छ । गिरोहको योजनामा नक्कली शरणार्थी धन्दा चलाएर बहालवाला र पूर्वसार्वजनिक ओहदाधारीले अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि धुमिल्याउने काम गरेकाले उनीहरूमाथि राज्यविरुद्धको अपराधमा मुद्दा चलाउनुपर्ने प्रहरी निष्कर्ष छ । तर कसैलाई पनि राज्यविरुद्धको अपराधमा मुद्दा नचलाउन राजनीतिक र प्रशासनिक तहबाट दबाब आइरहेको प्रहरी एक उच्च अधिकारीले जानकारी दिए । संगठित र ठगीको मुद्दा भने आरोपित सबैविरुद्ध चलाउनुपर्ने प्रहरीको राय छ । किर्तेमा पनि कसुर खुलेअनुसार थप सजाय मागदाबी गर्ने तयारी छ । यसबाहेक यो अपराधमा संलग्नलाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि अनुसन्धान गर्नुपर्ने राय प्रहरीले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीले यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयअन्तर्गतको नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलगायत १६ जनालाई पक्राउ गरिसकेको छ । पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक, उनका सुरक्षा सल्लाहकार राईका छोरा नीरजसहित १६ जना आरोपित फरार छन् । केशव दुलाल र सानु भण्डारीको योजनामा नक्कली शरणार्थी प्रकरण रचिएको र पूर्वउपप्रधानमन्त्री रायमाझी र तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईमार्फत अघि बढाइएको खुलेको छ । विभिन्न मितिमा मन्त्री र सचिवस्तरका समितिबाट निर्णय गरेर गिरोहको योजनामा काम गरेको खुलेको छ ।

दोषीलाई उम्काउने कोसिस भइरहेको छ : ओली 

प्रमुख प्रतिपक्षी दलका नेता तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकालगायत देशमा पठाउने प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने काम भइरहेको बताएका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको हात नहुने भन्दै प्रहरी प्रशासनलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने बताए । प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजिएको आरोप लगाएका छन् । कसैलाई फसाउन वा कसैको पद रिक्त गराउनका लागि सरकार लागिपरेको उनको दाबी छ । उनले बयान र छानबिन प्रकरणलाई नजिकबाट एमालेले हेरिरहेको पनि बताए ।

आफ्नो प्रधानमन्त्री कार्यकालमा केही पनि नभएको बताउँदै ओलीले आफूमाथि पनि छानबिन गर्न चुनौती दिएका छन् । ‘म चुनौतीका साथ भन्न चाहन्छु म गृहमन्त्री भएँ, परराष्ट्रमन्त्री भएँ, प्रधानमन्त्री भएँ । छानबिन गरियोस् । हामी सधैं भ्रष्टाचारका विरुद्धमा छौं । छानबिन होस् भन्ने पक्षमा छौं,’ उनले भने, ‘कोही पनि दोषी छुट्नु हुँदैन तर अहिले निर्दोष फसाउने प्रयास भइरहेको छ । म खबरदारी गर्न चाहन्छु, दोषी उम्काउने, निर्दोष फसाउने यस प्रकारका प्रयास नगर्दा हुन्छ ।’

आफू प्रधानमन्त्री भएका बेला उक्त प्रकरणमा केही पनि नभएको ओलीको भनाइ थियो । ‘मेरो समयमा केही पनि गएको छैन । छानबिन गर्नुस् फेरि पनि । एउटा समिति बनेछ । त्यो समितिले केही प्रस्ताव पठाएछ । मैले अध्ययन गर्न भनेर राखें, होल्ड गरें र मन्त्रिपरिषद्को सामाजिक समितिमा पठाएँ,’ उनले भने । नक्कली शरणार्थी प्रकरणमा एमालेको नाम लिन केहीलाई रहर लागेको भन्दै ओलीले त्यस्तो गरिए पार नलाग्ने चेतावनी दिए ।

दोषी छुट्दैनन् : श्रेष्ठ

गोरखा– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा बिनापूर्वाग्रह स्वतन्त्र र निष्पक्ष ढंगले अनुसन्धान अघि बढेको बताएका छन् । प्रेस सेन्टर गण्डकी प्रदेशको साधारण सभा आइतबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यस प्रकरणका दोषी कुनै पनि हालतमा नछुट्ने दाबी गरे । ‘निष्पक्ष ढंगले बिनापूर्वाग्रह स्वतन्त्र ढंगले अनुसन्धान प्रक्रिया अघि बढाउन नेपाल प्रहरीलाई स्पष्ट निर्देशन दिएका छौं,’ उनले भने, ‘निर्दोष कोहीलाई उसको सामाजिक प्रतिष्ठामा आँच आउने र अनावश्यक दुःख दिने गरी तानिने काम हुँदैन । दोषी कुनै पनि हालतमा छुट्दैनन्, यही दृष्टिकोण र मान्यताको आधारमा अघि बढेका छौं ।’ 

भ्रष्टाचारविरुद्धको अभियानलाई व्यवस्थित रूपमा अघि बढाउने सरकारको महत्त्वपूर्ण कार्यसूची रहेको मन्त्री श्रेष्ठले बताएका छन् । ‘आफ्नै देशका नागरिकलाई अनागरिक बनाउँदै शरणार्थी बनाएर विदेश पठाउने षड्यन्त्र गरेर सम्पत्ति आर्जन गर्ने धन्दा भयो,’ उनले भने, ‘यस कार्यमा संलग्नलाई तथ्य र प्रमाणका आधारमा अनुसन्धान अघि बढाएर कानुनको दायरामा ल्याउने प्रक्रिया अघि बढिसकेको छ ।’ नेपाल प्रहरीको प्रतिष्ठा र गौरवलाई नयाँ उचाइमा पुर्‍याउने गरी अब भ्रष्टाचार र अपराधी नियन्त्रणका गतिविधि अघि बढ्ने श्रेष्ठले बताए । 

नक्कली शरणार्थी प्रकरण

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully