नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रद्रोह हो : एमाले महासचिव पोखरेल

दुर्गालाल केसी

दाङ — नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रद्रोह भएको बताएका छन् । प्रेस चौतारी दाङले आइतबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पोखरेलले यस घटनामा राजनीतिक संरक्षण गर्न नहुने बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रद्रोह हो : एमाले महासचिव पोखरेल

नक्कली भुटानी शरणार्थी खडा गरेर रकम असुली गर्ने जस्तो अपराधका दोषीलाई कुनै पनि हालतमा छुट दिन नहुने उनले बताए । ‘यो राष्ट्रद्रोह हो । राज्यविरुद्धको अपराध हो । राज्यको महत्त्वपूर्ण पदमा बसेर नीतिगत अनियमितता गर्ने काम सामान्य घटना होइन,’ उनले भने,‘यो गम्भीर अपराध हो । यसका दोषीलाई कुनै पनि बहानामा छुट दिन हुँदैन ।’

अडियो टेपलाई परीक्षण गरेर अनुसन्धानको दायरा फराकिलो बनाउनुपर्ने उल्लेख गर्दै पोखरेलले कसैलाई पनि उन्मुक्ति दिन नहुने धारणा उनले व्यक्त गरे । ‘अहिलेको जमानामा अडियो परीक्षण गर्न कुनै समस्या छैन । आर्थिक लेनदेनमा जोडिएका सबै घटनाको अनुसन्धान गरौं,’ उनले भने, ‘प्रहरीलाई अनुसन्धानमा सबैले सहयोग गरौं । यसमा कसैले पनि राजनीतिक संरक्षण या प्रतिशोध नसाधौं ।’

नक्कली भुटानी शरणार्थी बनाएर क–कसले कसरी रकम असुली गरे भन्ने कुरा स्पष्ट भइसकेको उल्लेख गर्दै पोखरेलले नाम जोडिएका सबैलाई अनुसन्धानको दायरामा ल्यानै पर्ने बताए । ‘अडियोलाई प्रमाण मान्न सकिन्न भन्ने कुराले अनुसन्धानमा कमजोरी हुँदैछ भन्ने देखाउँछ,’ उनले भने, ‘कुनै पनि पार्टीले आफ्नो नेतालाई बचाउन मिल्दैन । हामीले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेर अनुसन्धानमा सहयोग गरेका छौं । अरु पार्टीले किन निलम्बन गर्ने आँट गरेका छैनन् ?’

पोखरेलले सरकारको नीति तथा कार्यक्रमबारे टिप्पणी गर्दै समस्या एकातिर नीति तथा कार्यक्रम अर्कैतिर भएको बताए । ‘देश अहिले आर्थिक संकटमा छ । देशलाई कसरी आर्थिक संकटबाट माथि उठाउने भन्ने कुरा नीति तथा कार्यक्रममा छैन,’ उनले भने,‘वर्तमान समस्या सम्बोधन गर्ने खालका कुनै पनि नीति तथा कार्यक्रम देखिँदैनन् ।’ माओवादी नेता जनार्दन शर्माले अर्थमन्त्री हुँदा निश्चित व्यापारीसँग बसेर करका दर परिवर्तन गरेदेखि नै देशमा आर्थिक संकटको सुरुवात भएको र अहिले त्यसको प्रभाव देखिएको उनले बताए ।

प्रकाशित : जेष्ठ ७, २०८० ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?