शरणार्थीको विषय जनता र विदेशीको चासोमा परिसक्यो, कोही दायाँबायाँ हुन सक्दैन : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणका दोषीहरूलाई कुनै हालतमा नछोड्ने र मुद्दा दर्ता भएपछि पनि थप अनुसन्धानको प्रकिया जारी राख्ने बताएका छन् ।

शरणार्थीको विषय जनता र विदेशीको चासोमा परिसक्यो, कोही दायाँबायाँ हुन सक्दैन : प्रधानमन्त्री

कान्तिपुर हाफ म्यारथुनको ११ औं संस्करणको उद्घाटनका क्रममा कान्तिपुरसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले यो प्रकरण अब आम नेपाली र अन्तर्राष्ट्रिय रुपमा पनि चासोमा परिसकेकाले यसबाट कोही पछि हट्न नसक्ने दाबी गरे ।

‘कोही पनि दोषी छुट्दैन र कुनै न कुनै रुपमा त्यो दोष र कमजोरी अघि आउँछ । अदालतमा ६० दिनमा लैजानुपर्ने व्यवस्था अन्तर्गत लैजानै पर्छ । तर पनि कोही दोषी देखिन्छन् भने त्यसको अनुसन्धान प्रक्रिया रोकिन्छ भन्ने बुझेको छैन र रोकिँदैन । यो विषय फेरि नक्कली भुटानी शरणार्थी बनाउने कुरासँग मात्र सम्बन्धित छैन । समग्रमा हामी देशलाई सुशासनको कसरी अघि बढाउने भन्ने कुरासँग पनि सम्बन्धित छ,’ प्रधानमन्त्री दाहाले भने, 'हामीले भ्रष्टाचार लगायत विकृति विसंगतिहरु नियन्त्रण गर्न कुन इच्छाशक्तिको साथ अगाडि बढ्छौं भन्ने कुरा पनि हो यो ।'

उनले यो विषय देशको अन्तर्राष्ट्रिय छविलाई हामी फेरि कसरी कामय गर्न सक्छौं र विकास गर्न सक्छौं भन्ने प्रश्नसँग पनि जोडिएको बताए ।

तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

‘त्यसैले यो विषय नेपालको पार्टीहरु र सरकारको मात्र रहेन यो आम नेपालीको विषय पनि भएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि यो विषय गम्भीरतासाथ हेरिएको छ । संयुक्त राष्ट्रसंघदेखि विभिन्न अन्तर्राष्ट्रिय संघ संस्था र विदेश शक्ति केन्द्रहरुले पनि यो विषयलाई गम्भीर रुपले हेरेका छन् । त्यसैले मलाई विश्वास छ यो विषय कसैले दायाँबाया गर्ने हुँदैन,’ प्रधानमन्त्री दाहालले भने ।

उनले तीन पार्टीका नेताहरू छलफलमा बस्दा यो घटनालाई सामसुम पार्न बसेका हुन् किझैं गरेर नबझ्न पनि उनले आग्रह गरे । ‘कहिलेकाहीँ मिडियामा म शेरबहादुर देउवा र केपी ओलीसँगै बस्दा यही विषय सामसुम पार्न खोजेका हुन् कि भन्ने आशंका पनि भयो । जबकी हामी बसेको संसद्को लागि हो । संसद्‍मा वातावरण कसरी सहज बनाउने भन्ने विषयमा नै बसेको हो । मैले पटक पटक भनेको छु यो विषयमा दोषी नछुटोस् र निर्दोष नपरोस् भन्ने बाहेक तीन जना बसेर कहिल्यै पनि कुरा गरेको छैन । कुरा गर्न सक्ने अवस्था पनि छैन । तपाईंहरु बाहिर पनि यस्तो वातावरण बनाउनु भएको छ कि सबै यसमा सजग छौं,’ प्रधानमन्त्री दाहालले भने ।

प्रकाशित : जेष्ठ ६, २०८० ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?