२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कर्णाली तीरमा माछा झिरमा

खत्याड, मुगु — खत्याड गाउँपालिका सुकाढिकनजिक झुँगला पुल, जहाँ बिहान ४ नबज्दै चहलपहल सुरु हुन्छ । शान्त बगिरहेको कर्णाली किनार टर्चको उज्यालोले झिलिमिली देखिन्छ । किनारको सन्नाटा बिथोल्दै छप्ल्याङ–छप्ल्याङ जाल हानेको आवाज परसम्म सुनिन्छ ।

कर्णाली तीरमा माछा झिरमा

कोही साँझ नदीमा थापेका झरिउँला (पासो) निकाल्न कर्णालीको चिसो पानीमा हेलिन्छन् । कोही झरिउँलामा फसेका माछा झिक्न हतार गरिरहेका हुन्छन् । घाम नझुुल्किँदै हातहातमा माछा झुन्ड्याएर फर्किनु जलारीको दैनिकी हो । कहिलेकाहीँ ताजा माछा किन्न ग्राहक पनि जलारी फर्किने बाटोसम्म पुगेका हुन्छन् ।

माछा चाना पारेर झिरमा उनेर सुकाउँदै गरेका होटल–पसलवाला । बाटो छेउका होटलका चुल्होमा पाक्दै गरेका असला माछा । माछाको झोल र कोदोको रोटी खाइरहेका ग्राहक । कसले कति किलोको माछा समात्यो भन्ने चर्चा । दृश्य हेर्दा हरेक बिहान कर्णाली किनार माछा बजार जस्तै देखिन्छ । माथिल्लो कर्णाली नदीको माछाको स्वाद बिछट्टै मिठो मान्छन् पारखी । विभिन्न परिकारमा इच्छाअनुसारको स्वाद लिन पाइने भएपछि आकर्षण बढ्ने नै भयो । आलो र सिद्राको सुप, फ्राइ, साँधेको माछा, तारेको, ग्रेभी । यतिबेला कर्णाली करिडोरको बाटो भएर घुमघाम गर्नेका लागि ठाउँठाउँमा उपलब्ध हुने माछाका अनेक परिकारका स्वाद हुन् । कर्णाली करिडोर हुँदै कालीकोटको जितेगडा, बाजुराको जुड्डी, पिलुचौर, धुलाचौरदेखि उँभो लाग्दै मुगुको सुकाढिक र हुम्लाको सर्केगाडसम्म पुग्दा हरेक बिहान यस्तै दृश्य देखिन्छन् ।

मुगुको खत्याड गाउँपालिकामा पर्ने कर्णाली किनारको झुगलामा उदय रोकायाले होटल सुरु गरेको ६ वर्ष भयो । हरेक बिहान उनी माछा मार्न नदीतर्फ लाग्छन् । श्रीमतीले होटलमा अन्य तयारी गर्छिन् । उदय रित्तो फर्केको दिन छैन । प्रायः जलारु परिवारले पकाएर प्लेटका हिसाबले बिक्री गर्न रुचि राख्छन् । प्लेटका हिसाबले बेच्दा बढ्ता फाइदा हुनेमा उनीहरूको मोह हुन्छ । उनीहरू ग्राहकको मागअनुसार पकाएर दिन्छन् । भोक, रोग, गरिबी र अशिक्षाको पर्यायका रूपमा कर्णालीको चित्रण गर्नेहरू नदि किनारका बासिन्दाको दैनिकी देखेर नौलो मान्छन् । धारणा बदलिन्छ । माछाले स्थानीयको आर्थिक अभाव टारिरहेको छ ।

खत्याड गाउँपालिका रिंगागाउँका २६ वर्षीय प्रभाव गिरीको परिवार आर्थिक समस्याले जेलिएको थियो । आफ्नै उब्जनीले साँझ–बिहान छाक टार्न मुस्किल भएपछि उनी सके खाडी मुलुक जाने, नभए भारतको कुनै सहरमा मजदुरी गर्न जाने सोचमा थिए । बाल्यकालदेखि नै कर्णाली नदीमा खेल्दै, माछा मार्दै हुर्किएका उनलाई त्यही सीपले गाउँमा रोक्यो । माछा मार्न खप्पिस गिरीलाई स्थानीयले जलेवा नामले चिन्छन् । माछा पार्न सिपालु भएकाले उनको नाम गाउँलेले त्यस्तो राखेका हुन् । उनले सिजनमा दैनिक कम्तीमा तीन/चार किलोदेखि बढीमा १५/२० किलोसम्म माछा मार्ने गरेका छन् । माछाकै आम्दानीले छोराछोरीको शिक्षा र कोहलपुरमा घडेरी जोडेको उनले बताए ।

‘यै माछाले हामी पालिएका छौं । माछा नभइदिया भया, इन्डियाका कइकुना प (कुन कुनामा) हुन्याँ थ्याँ । न साउदी, दुबईतिर पो हुँदोथ्याँ कि (हुन्थें कि) ?’ स्थानीय लवजमा गिरीले भने, ‘हाम्रा लागि खेती भने पनि यही हो, नौकरी भने पनि कर्णालीकै माछै हो ।’ माछा बिक्रीबाट दैनिक दुईदेखि पाँच हजारसम्म कमाइ हुने गरेको उनको भनाइ छ । त्यही कमाइले कोहलपुरमा घर बनाउने तयारी गरिरहेको सुनाए ।

प्रभाव गिरी मात्रै नभइ कर्णाली किनारका धेरैजसोले माछा मारेरै सहरी क्षेत्रमा घरघडेरी जोड्न सफल भएका छन् । त्यो पनि सात वर्षकै अवधिमा । कर्णाली करिडोर नचल्दासम्म अहिलेजस्तो व्यापार हुन्थेन । माछा सरदर २० रुपैयाँ किलो थियो, त्यो पनि किन्ने मान्छे हुन्थेनन् । ‘बाटो खुलिसकेपछि हाम्रा दिन खुलेका हुन्,’ रिंगा गाउँकै गोकुल सञ्जेल भन्छन् । उनले ६/७ वर्ष अवधिमा माछा मारेरै सुर्खेतमा दुइटा घडेरी जोडेर घरसमेत बनाएको बताए ।

माछा मार्ने पेसा गर्दै आएका कर्णाली किनारका बासिन्दाको आम्दानी कर्णाली करिडोर खुलेपछि बढेको स्थानीय बताउँछन् । गाडी चलेपछि ग्राहकको संख्या बढ्यो । पहिला जस्तो बिक्री हुँदैन कि भन्ने चिन्ता पनि उनीहरूलाई भएन । बरु मूल्य बढेको छ । अहिले आलो माछा प्रतिकिलो ६ देखि ८ सयमा बिक्री हुने गरेको छ । सिध्रा किलोको चारदेखि पाँच हजारसम्म बिक्री हुन्छ ।

खत्याडकै देवीलाल गिरी आफ्नो जीवन माछाकै कारण बदलिएको सुनाउँछन् । ‘साँझ–बिहान राम्रोसँग खानलाई पुग्दैनथ्यो । अरूको मजदुरी गरेर ऋण गरेर परिवार चलाउनुपर्थ्यो,’ माछा बेचेरै दुईवटा गाडी, कोहलपुरमा घरघडेरी जोडेका उनी भन्छन्, ‘कर्णाली करिडोर नआएको भए हातमा माछा मार्ने सीप भए पनि अहिलेसम्म कुन देशको मजदुरी गर्नु पर्थ्यो थाहा छैन ।’

मुगु मात्रै होइन उपल्लो कर्णाली किनारका बासिन्दाको मुख्य आयआर्जनको स्रोत माछा बनेको छ । हुम्लाको अदानचुली गाउँपालिका तुम्च गाउँका अधिकांश युवाको आम्दानीको स्रोत माछा नै हो । कर्णाली करिडोरको बाटोमा पर्ने यो गाउँका धेरैजसो युवाले यात्रु लक्षित होटल र चिया पसल चलाएका छन् । यहाँको होटलमा माछाको परिकार कहिल्यै टुट्दैन ।

‘पहिला दिनभरि हल्लिएर बस्ने केटाहरू पनि आजकाल माछा मारेर दिनकै २/३ हजार कमाउँछन्,’ तुम्चमा होटल सञ्चालन गरिरहेकी शान्ति बोगटी भन्छिन्, ‘माछा बिक्री हुन थालेपछि हाम्रो गाउँका दिन खुलेका हुन् ।’ माछाकै कमाइले यहाँका थुप्रै स्थानीयको आर्थिकस्तर उकासिएको बताउँदै धेरैजसोले बालबच्चालाई सुर्खेत, नेपालगन्ज, काठमाडौं जस्ता सहरमा पढाइरहेको उनले बताइन् ।

कर्णालीमा बढीजसो असला माछा पाइन्छन् । यसबाहेक सट्टा (सहर माछा), टोटेलगायत प्रजातिका माछा पनि पाइन्छन् । असला सफा र हिउँखोलाको चिसो पानीमा पाइने माछा हो । कर्णालीका असला काठमाडौं र विदेशसम्म पुग्ने गरेको छ । यहाँ पुग्नेले माछाका सिध्रा कोसेलीका रूपमा लैजाने गरेको र कतिपयले फोन गरेर पठाइमाग्ने गरेको कर्णाली किनारमा चिया पसल चलाउने हुम्लाको सर्केगाड गाउँपालिकाकी जैरकी राउतले बताइन् । ‘काठमाडौंबाट विदेश पठाउने भनेर कसैकसैले २०/३० किलो सुकुटी मगाउँछन् । एकचोटि यहाँको माछा खाएका कोही त सुर्खेत, नेपालगन्जबाट माछा लिनकै लागि भनेर यहाँ पुग्छन्,’ उनले भनिन् ।

नदीको माछा कुनै खेती होइन । बहाव थुनेर पाल्नु नपर्ने, जाल थाप्यो, मार्‍यो गर्दै वर्षौंदेखि बेहिसाब माछा मार्दा पहिले जसरी हिजोआज जतासुकै मनग्ये पाइँदैन । माछाले फुल पार्ने र भुरा हुर्काउने याममा पनि मार्न नछाड्ने प्रवृत्तिको नोक्सानी क्रमिक देखा पर्न थालेको छ । कर्णाली किनारका बासिन्दाको जीवनस्तर फेरिदिने यहाँका माछा पहिलाको तुलनामा घट्दै गएकामा भने स्थानीय चिन्तित छन् । लामो समयदेखि माछा मारेर जीविका चलाइरहेकाहरू पहिला जस्तो पाउन छाडेको र बर्सेनि यो क्रम बढ्दै गएको बताउँछन् । केही वर्ष पहिलासम्म १०/१५ किलोसम्मका माछा पाइने गरेकामा अहिले आएर संख्या मात्रै नभई ठूलो तौलको माछा पाउन छाडेको मुगु खत्याडका ४२ वर्षीय उपराज सन्ज्याल बताउँछन् । ‘पहिला त माछा खान मन लाग्यो भने घरमा मसला पिस्न लगाएर जाल लिएर कर्णालीमा आउँथ्यौं । एक छमर्को (एकपटक) जाल हान्यो भने तीन/चार किलो माछा पर्थे । अहिले कहिलेकाहीँ दिनभरिमा पनि तीन/चार किलो पर्दैनन्,’ उनी भन्छन्, ‘पहिलाका जस्ता ठूला माछा पाइन छाडे । तीन/चार किलोको माछा मुस्किलले मात्रै देखिन्छन् ।’

माछाको उपलब्धता यही गतिमा घट्दै जाने हो भने यहाँका स्थानीयको जीविकामा पनि असर पार्ने हुम्लाको ताजाकोट गाउँपालिकाका पूर्वअध्यक्ष बाग्दल मल्ल बताउँछन् । ‘माछा कम पाउने मात्रै होइन । कुनै कुनै जातका माछा त हराइसकेका छन् । ८/१० वर्ष पहिला र अहिलेको तुलना गर्ने हो भने माछा पाउन छाडिसक्यो भन्दा हुन्छ,’ उनी भन्छन् ‘यसैगरी घट्दै गयो भने बाजुरा, मुगु र हुम्लाका कर्णाली किनारका बासिन्दालाई नुनतेल चलाउनै गाह्रो हुने पो देखिन्छ ।’

माछा मार्नेको संख्या धेरै भयो । मार्ने प्रविधिमा भएको विकासका कारण पनि माछाको संख्या घट्दै गएको भुक्तभोगीको भनाइ छ । सानो आँखा भएका जालको प्रयोग, करेन्ट जाल (नदीको वारिपारि नै मसिनो जाली बिछ्याउने) र विस्फोटक पदार्थ प्रयोग गर्नाले माछा घट्दै गएको हुन सक्ने उनीहरू नै बताउँछन् । ‘पहिला सानो माछा खान्थेनौं, सानो माछा जालमा पर्‍यो भने पनि कर्णालीमै छाडिदिन्थ्यौं,’ हुम्लाको चंखेली गाउँपालिकाका चन्द्रवीर सिंहले भने, ‘आजकाल त के के थरी जाल आएका छन् । सानातिना सबै माछा सोहोरेर जालमा आउँछन् । सानो माछो बढ्नै पाउँदैन । अनि माछा घट्ने नै भए ।’

केही वर्ष पहिलासम्म प्लास्टिकको पासोको साटो घोडा र चौंरीको पुच्छरको रौंबाट पासो बनाउने चलन थियो । आजभोलि त्यो पूर्णरूपमा हटिसकेको उनले बताए । माछा मार्ने हानिकारक प्रविधि र अत्यधिक माछा मारेका कारण माछाको संख्या घटेको हो । यद्यपि माछा घट्नुमा अरू पनि कारण रहेको जानकार बताउँछन् । किनारमा निर्माण भएका सडकले नदीमा थुपारेको ढुंगा, गिट्टीका कारण माछाको बासस्थानमा क्षति पुर्‍याएकाले संख्या तीव्र रूपमा घट्न गएको छ । सडक पुगेका कर्णाली किनारमा बस्ती बढ्दै गएका कारण जथाभावी फालिने सिसा, प्लास्टिकलगायतका फोहोरका कारण पनि माछाको संख्या घट्न थालेको छ । ‘योबाहेक पनि कर्णालीमा मिसिने खोलाहरूमा जैविक र रासायनिक विषादी प्रयोग गर्ने, करेन्ट लगाएर माछा मार्ने चलन छ,’ कर्णाली नदीमा पाइने जलचर र माछाको बारेमा अनुसन्धान गरेका मत्स्यविज्ञ सुरेश वाग्ले भन्छन्, ‘यी थुप्रै कारणले माछा र अन्य जलचर लोप हुने र संख्या घट्दै जाने भएको छ ।’

माछाको प्रजनन र भुरा हुर्काउने काम मुख्य नदीमा मिसिने साना खोला–खोल्सामा हुने भएकाले समग्र जलाधार प्रणालीमै विभिन्न खालका चुनौती देखिएको उनले बताए । माछामाथिका चुनौती घटाउनका लागि संघ, प्रदेश र स्थानीय सरकारले नीति बनाएर कडाइका साथ लागू गर्न जरुरी रहेको वाग्लेको भनाइ छ । यस विषयमा तत्काल नसोचिए केही वर्षभित्रै कर्णाली र यसको जलाधार प्रणालीमा रहेका माछा र जलीय जीवको अस्तित्व सकिने उनले औंल्याए । ‘माछा सकिँदा स्थानीयको जीविकाको आधार त सकिन्छ नै, नदीको स्वास्थ्यका लागि सरकारले काम गरेन भने समग्र जलचरको अस्तित्व पनि संकटमा पर्ने देखिन्छ । दुःखको कुरा यसतर्फ सरकारको ध्यान जान सकेको छैन,’ उनले भने ।

प्रकाशित : जेष्ठ २, २०८० ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?