शरणार्थी शिविरमा उकुसमुकुस

स्वास्थ्य, कागज नमिलेकालगायत विभिन्न कारणले पुनर्वासमा जान नपाएर अझै शिविरमा रहेकाहरू ‘नक्कली शरणार्थी प्रकरण’ को समाचार सुनेर आक्रोशित छन्

वैशाख ३१, २०८०

पर्वत पोर्तेल

दमक, झापा — भुटानको साम्चीबाट सपरिवार लखेटिँदा शुक्रबहादुर गुरुङसँग बल र बैंस दुवै थियो । रातारात मेची तरेर आए । खुदुनाबारी शिविरमा बसेर ८ जनाको परिवार लालनपालन गरे । ८८ वर्षका उनी यतिबेला भने पुनर्वास भएर समुद्रपारि पुगेका आफन्त सम्झिएर दिन काट्छन् ।

सबैभन्दा बढी भुटानको सम्झनाले उनलाई पिरोल्छ । ‘भुटानबाट लखेटिएपछि सोझै खुदुनाबारी शिविर बसियो,’ उनी भन्छन्, ‘सन् २०१२ देखि बेलडाँगीतिरै छु ।’

सन् २००६ मा शरणार्थी पुनर्वास सुरु भएपछि खुदुनाबारी र टिमाई शिविरका शरणार्थीलाई बेलडाँगीमै एकत्रित गरिएको थियो । त्यही क्रममा गुरुङ बेलडाँगी ल्याइएका थिए । सन् २०११ मा श्रीमतीको निधन भएपछि उनी एक्लै बेलडाँगी आए । 

तेस्रो देश पुनर्वासले अरू शरणार्थीको झैं उनका पनि छोराछोरी अमेरिका पुगे तर उनी जान मानेनन् । अहिले उनी कागजी प्रक्रिया नपुगेकी छोरी र ज्वाइँसँग बस्छन् । ‘अमेरिका जानै मन लागेन,’ दमका बिरामी गुरुङले लामो सास फेर्दै सुनाए, ‘अमेरिका गएको भए, यसरी खुलमखुला हावा खाएर कहाँ बस्न पाइन्थ्यो होला र ?’ उनलाई साथीभाइ, आफन्तले अमेरिका जान दबाब दिए तर उनको आत्माले भनेछ, ‘तँ नजा । अमेरिका गए पनि शरणार्थी नै होस्, नेपाल बसे पनि शरणार्थी नै ।’ 

भुटानको साम्चीमा आठ एकड जमिन ‘माया मारेर’ हिँडेका गुरुङलाई अमेरिका जाने मोह नै भएन । बरु उनलाई भुटान फर्कने तीव्र चाहना थियो । तर, कसले पो पठाइदेला र ? करिब ३० वर्षदेखि शिविरमा कष्टकर जीवन भोग्दै आएका उनले थपे, ‘नेपालले भुटान फर्काइदेला भन्ने ठूलो आस थियो, फेरि शरणार्थी बनाएर अमेरिका पो पठाइदियो ।’ नक्कली शरणार्थी घटनाबारे उनी बेखबर छन् । गाइँगुइँ मधुरो चाहिँ सुनेका छन् तर उनले शरणार्थीका नाममा के भइरहेको छ, खुट्याउन सकेका छैनन् । ‘हाम्रो नाम बेचेर जेजस्तो गलत काम भइरहेको छ, त्यो ठूलो अपराध हो,’ गुरुङ भन्छन्, ‘हाम्रो पीडामाथि व्यापार गर्ने अपराधीलाई छाड्न हुन्न ।’ 

०००

गुरुङसँगको कुराकानी बिट मार्नै लाग्दा हातले बुनेको पुरानो झोला थाप्लामा बोकेर आइपुगिन् डम्बरकुमारी घिमिरे । गुरुङभन्दा ४ वर्ष कान्छी घिमिरे शिविरमा एक्लै छिन् । उनका दुई छोरीमध्ये एक अमेरिका पुगिन् । अर्की मधेशको सर्लाहीतिर छिन् । उनी भने वर्षौंदेखि शिविरमा एक्लो जिन्दगी काटिरहेकी छन् । भुटान छाड्नेबित्तिकै २ वर्ष जति भारतमा बसेर मात्रै उनी शिविरमा आइपुगेकी थिइन् । ‘छोरी ज्वाइँले अमेरिका लैजान धेरै ढिपी गरे,’ नाकको बुलाकी चलाउँदै उनले सुनाइन्, ‘तर छोरी ज्वाइँलाई पछ्याउन मनै लागेन ।’ अमेरिकास्थित भुटानी शरणार्थीको संस्था इन्ट्रा फाउन्डेसनले बनाइदिएको वृद्धाश्रममा उनी दिन काट्छिन् । रात काट्न भने सधैं सकस हुन्छ । ‘दिन त जसोतसो काट्छु, रात काट्न चाहिँ धेरै गाह्रो हुन्छ’, उनी भन्छिन्, ‘भुटान, नेपाल र अमेरिकाका आफन्तको सम्झना रिलझैं घुमेर निदाउनै दिँदैन ।’ 

०००

घिमिरेसँगको कुरा नसकिँदै अर्का वृद्ध टुप्लुक्क आइपुगे तर उनी पीडा पोख्ने मुडमा देखिएनन् । ‘हामी अनपढ, शरणार्थीलाई के बोल्न आउँछ र बोल्नु, यो शिविरमा हाम्रो दुःख मात्रै त छ नि,’ ७६ वर्षीय खेमप्रसाद अधिकारीले भने । अरू शरणार्थीभन्दा उनको पीडा कथा अलि फरक रहेछ । अरूका झैं उनका कोही पनि तेस्रो देश गएका छैनन् । सबै शिविरभित्रै छन् । ‘सामान्य कागजी त्रुटिले जान पाइएन,’ उनले थपे, ‘पहल गर्दागर्दै ठ्याक्कै बन्द भइदियो । त्यसपछि त अमेरिका उड्ने सपना चकनाचुर भइगयो ।’

यी वृद्धलाई अरूलाई झैं भुटान फर्किनु थिएन, शिविरमै बस्नु पनि थिएन । थियो त अमेरिका उडेर बाँकी उमेर आनन्दले बिताउनु तर उनले सोचेको भएन । उनी यतै शिविरतिरै अलपत्र परे । ‘जान त मन थियो नि, भाग्यले साथ दिएन,’ उनी बोले, ‘हुन्छ भन्दाभन्दै बन्द भयो ।’ केही समयअघि गरेको प्रोस्टेटको अप्रेसन बेलाबेला बल्झिरहन्छ । नियमित औषधि खाइरहनुपर्छ तर दबाइ खाने स्रोत उनीसँग छैन । मजदुरी गरेको पैसाले किन्छन्, खान्छन् । ‘कागज मिलिदिएको भए अमेरिका भइन्थ्यो होला,’ उनी कल्पना गर्छन्, ‘मर्ने बेलामा अलि सुख हुन्थ्यो कि भनेको नहुने भो ।’ 

‘हाम्रा पीडा धेरैले लिएर गए तर केही खालो सारेनन्,’ वृद्धाश्रम अघिल्तिरको फलैंचामा लट्ठीको आडमा थापेर बसेका एक वृद्धले आक्रोश पोखे, ‘हाम्रो पीडा सुनेर के गर्नुहुन्छ ? हाम्रो पीडा लेखेर के गर्नुहुन्छ ? हामीलाई अहिलेसम्म कसले न्याय दियो खै ।’ उनी यति आक्रोशित थिए कि उनले आफ्नो नाम पनि भन्न जाँगर चलाएनन् । ‘मेरो नाम भनेर के हुन्छ, मलाई बेलुका रासन आउँछ कि कसैले हिँड भुटानतिर जाऊँ भनेर लिन आउँछन्,’ अनुमानित ८० वर्ष कटेका जनजाति अनुहारका ती वृद्धले आक्रोश थपे, ‘केही हुँदैन भने किन नाम भन्ने ?’ 

आफ्नो नाम पनि भन्न चाहेनन् । ‘कति लगे, कति लगे केही खालो सारेनन् । हाम्रा दुःख उस्तै छन् । नाम के हो ? बिर्सिएँ,’ अर्थात् उनले नाम भन्न पनि जाँगर चलाएनन् । आश्रममा दिनभरि बस्छन् । साँझ छाप्रो फर्किन्छन् ।

८० वर्षका भए पनि दुर्गोधन गुरुङ अझै तगडै देखिन्छन् । नक्कली शरणार्थीको घटना उनले रेडियोमा सुनेछन् । छिमेकीले मोबाइलमा पनि देखाएछन् । त्यो घटना सुनेपछि उनको पारो तात्यो । भित्रभित्रै मुर्मुरिएछन् । ‘हामीले उही सुन्ने त हो नि के नै पो गर्न सक्छौं र,’ भन्छन्, ‘जे गर्ला नेपाल सरकारले नै गर्ला नि त ।’ 

भुटान फर्काउने शरणार्थीको आवाज नसुन्ने नेपाल सरकारले नक्कली शरणार्थीका प्रकरणमा न्याय गर्ला भन्ने उनलाई खासै विश्वास लागेको छैन तर पनि थप्छन्, ‘ती अपराधीहरूलाई नेपाल सरकारले जेल हालोस् ।’ जिजुबाजे भुटानमै जन्मेहुर्के । उनी भने जग्गाजमिन थलोकिलो उतै छाडेर आए । उनलाई भुटानको औधी माया लाग्छ । सपनामा भुटानतिर हुन्छन् । अमेरिका नजाने ? प्रश्न गर्न नपाउँदै उनी कडा शैलीमा प्रस्तुत भए, ‘जाने भए उहिलै जान्थें ।’

०००

कागजात मिलेको भए बेलडाँगी शिविरका धनबहादुर मगर अहिले श्रीमती र छोराछोरीसँग क्यानडातिरै हुन्थे तर कागजी प्रक्रियाको सानो उल्झनले उनी शिविरतिरै छुटे । श्रीमती र छोराछोरी क्यानडा उडे । सन् २०१७ देखि पुनर्वास कार्यक्रम नै बन्द भएपछि उनी शिविरभित्र कैद भएका छन् । ‘अहिले यतै छु श्रीमती र छोराछोरीले कहिलेकाहीँ खर्च पठाइदिन्छन् त्यसैले गुजारा चलाउँदै छु,’ शिविरभित्रकै वृद्धाश्रमको चौतारोमा टहलिरहेका मगरले भने, ‘अब त विदेश जाने सपना पनि मरिसक्यो ।’

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा राजनीतिक दलका नेतादेखि पूर्वमन्त्रीहरूसम्मको संलग्नताको खबर सुनेपछि उनी छक्क परेका छन् । शरणार्थीको नाम बेच्ने अपराधीलाई त्यत्तिकै नछाड्न उनले सरकारलाई आग्रह गरेका छन् । ‘शरणार्थी भएर बस्दाको पीडा कस्तो हुन्छ हामीलाई थाहा छ,’ मगर भन्छन्, ‘हाम्रो पीडामाथि कसैले मजाक नगरोस् ।’ अर्की शरणार्थी कमला खड्काले पनि सरकारी संलग्नतामै नक्कली शरणार्थी बनाउने काम खेदजनक रहेको बताइन् । उनले भनिन्, ‘हाम्रो पीडामाथि राजनीति गर्ने अधिकार कसैलाई छैन ।’ मेडिकल समस्याका कारण उनी पनि मगरझैं तेस्रो देश पुनर्वासमा रोकिएकी थिइन् । ‘अब त शिविरमै जिन्दगी बित्ला जस्तो छ,’ कमलाले बिलौना सुनाइन् । शरणार्थी वृद्ध श्यामप्रसाद अधिकारीले नेपाल सरकारले शरणार्थीहरूलाई भुटान फर्किने अभियानमा जहिल्यै असहयोग गरेको भन्दै नक्कली शरणार्थी बनाउने गिरोहलाई चाहिँ जेल पठाउनैपर्नेमा जोड दिए । 

०००

मोरङको पथरी शरणार्थी शिविरका सचिव चम्पासिंह राईका अनुसार झापा र मोरङमा हाल ६ हजार हाराहारीमा शरणार्थी छन् । जसमध्ये दुवै शिविरमा ४ सय २९ जना दर्ता प्रक्रियामा छन् । उनका अनुसार स्वेच्छाले नजाने, कागजी त्रुटि भएकाहरू र विभिन्न आपराधिक गतिविधिमा संलग्न भएर फौजदारी अभियोग लागेकाहरू पनि छन् । ‘दर्ता गर्नुपर्ने पनि छुटेका छन्,’ राईले भने, ‘ती शरणार्थीहरूलाई चाँडै दर्ता गर्दिनुपर्छ भन्ने अनुरोध सरकारलाई छ । नक्कली शरणार्थी बनाउने गिरोहलाई सरकारले कारबाही गर्नुपर्छ । ठूलै गिरोह नै सक्रिय रहेछ । यो दुःखलाग्दो कुरा हो ।’

उनका अनुसार कोही पनि शरणार्थीले ६ वर्षदेखि रासन पाएका छैनन् । सन् २०१८ वाट विश्व खाद्य कार्यक्रमले रासन बन्द गरेको थियो । संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (यूएनएचसीआर) ले जोखिममा रहेका शरणार्थी परिवारलाई मात्रै मासिक १ हजार भत्ता दिन्छ । ‘सबै शरणार्थीको गुजाराको माध्यम मजदुरी नै हो,’ राईले थपे, ‘कसैकसैका आफन्तले विदेशबाट पठाइदिएको पैसाले गुजारा चलाउँछन् ।’ बेलडाँगी शरणार्थी शिविरका सचिव टीवी राईका अनुसार सन् २००६ देखि २०१६ सम्म चलेको पुनर्वास कार्यक्रममा अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलियासहित ८ देशमा १ लाख १३ हजार ५ सय शरणार्थी बसोबासमा गइसकेका छन् । शरणार्थी भएर, देशविहीन भएर बाँच्दाको आफ्नै पीडा छ । तर, शरणार्थी बन्न, बनाउन अर्बौं रुपैयाँको चलखेलको समाचार सुनेर उनी चकित छन् । नक्कली शरणार्थी बनाउन सरकार आफैं सक्रिय हुनु दुःखद रहेको राईले बताए । भने, ‘देशका नागरिकलाई शरणार्थी बनाएर पठाउने नेताहरूलाई धिक्कार छ ।’ 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully