नक्कली शरणार्थी प्रकरणमा संसद्‍मा निरन्तर खबरदारी

शीर्ष नेताहरूबीच निरन्तर भेटवार्ता भइरहँदा अनुसन्धानमा हस्तक्षेप हुन सक्ने सांसदहरूको आशंका

वैशाख २८, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने नाममा भएको ठगी प्रकरणको अनुसन्धानमा राजनीतिक हस्तक्षेप हुन सक्ने भन्दै सांसदहरूले निरन्तर खबरदारी गरिरहेका छन् । उच्च तहको राजनीतिक र प्रशासनिक व्यक्तिको संलग्नतामा भएको ठगी धन्दामाथि अनुसन्धान चलिरहेका बेला प्रधानमन्त्रीसँग कांग्रेस र एमाले नेतृत्वबीच पटकपटक भेटवार्ता भइरहेकाले हस्तक्षेप हुने आशंकामा सांसदहरूले खबरदारी गरेका हुन् । 

राप्रपाले यस प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने र आफूहरूले बोल्न पाउनुपर्ने माग राखेर बुधबार प्रतिनिधिसभामा वेल घेराउ गरेका थिए, जसका कारण पछि १५ मिनेट बैठक भएको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले सांसदलाई बोल्ने समय दिएका थिए । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको शिर झुकाउने काममा गृहमन्त्री र उपप्रधानमन्त्री भइसकेको नेताको नाम आउनु लज्जास्पद भएको बताए । 

‘नक्कली भुटानी शरणार्थीको केस आर्थिक अंकसँग मात्रै सीमित छैन । यो ठगी, राज्यविरुद्धको अपराध र संगठित सरकारी कागज किर्तेसम्बन्धी जघन्य अपराध हो,’ उनले भने, ‘घटनामा संलग्न कसैलाई पनि छुट दिने कल्पना नगरौं, कमजोर बनाउने र उन्मुक्ति दिने काम पनि हुनु हुँदैन ।’ 

प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने उल्लेख गर्दै लिङ्देनले यसको अनुसन्धान गर्ने जिम्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिन नहुने पनि राय राखे । शीर्ष नेताहरूबीच पछिल्लो समय भइरहेको भेटघाटले आशंका उब्जाएको उनको भनाइ छ । ‘नेताको गलत मनसाय छैन भने सरकारले अनुसन्धानको प्रगतिबारे संसद्लाई जानकारी गराओस्,’ लिङ्देनले भने । 

शीष नेर्ताबीच बारम्बार भएको बैठकप्र्रति सत्तारूढ कांग्रेसका महामन्त्री गगन थापाले समेत आशंका गरेका छन् । ‘संलग्न जोसुकै दलको होस्, तहको होस्, ऊ कारबाहीको दायरामा आउनुपर्छ । बजारको हल्लाले अनुसन्धान प्रभावित नहोस् । कुनै भेटघाटले पनि प्रभावित नहोस्,’ उनले संसद्मा भने, ‘अनुसन्धान स्वच्छ र स्वतन्त्र होस् । निर्दोष कोही पनि नपरोस्, तर, दोषी छ भने नेता होस् कि नाता होस्, एउटा पनि नछुटोस् ।’ यस प्रकरणको अनुसन्धानमा सरकारले दह्रो खुट्टा टेक्नुपर्ने थापाको भनाइ छ । 

माओवादी सांसद बिमला सुवेदीले भ्रष्टाचारी जोगाउनका लागि दौडधुप नगर्न नेताहरूलाई आग्रह गरिन् । माओवादीकै सांसद माधव सापकोटाले नक्कली शरणार्थी प्रकरण अन्तर्राष्ट्रिय चासोको विषय भएकाले राजनीतिक मुद्दा बनाउन नहुने बताए । माओवादीका अर्का सांसद रणेन्द्र बरालीले अनुसन्धानमा तानिएका सांसद टोपबहादुर रायमाझीलाई एमालेले जोगाएको आरोप लगाए । ‘जुन पार्टीले भ्रष्टाचारविरोधी नारा लगाउने गरेको छ, त्यही पार्टीका ठूला नेताहरू नै भ्रष्टाचारमा मुछिएको देखिएको छ । प्रहरीबाट पुर्जी जारी भएको व्यक्तिलाई शिरमा राखेको टोपीले छोपेर गोजी टकटक्याउँदै सरकारले पक्रेर देखाओस् भनिँदै छ,’ उनले भने । रायमाझीलाई एमालेले नै प्रहरीसमक्ष बुझाउनुपर्ने उनको भनाइ थियो । 

माओवादीका सांसद रामकुमार राईले नक्कली शरणार्थी प्रकरणले नेपालीको शिर झुकेको बताए । शिर ठाडो बनाउन घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने उनको धारणा थियो । एमाले सांसद रामशंकर यादवले शरणार्थी प्रकरण मात्र नभई पञ्चायतयताकै भ्रष्टाचार छानबिन गर्न विज्ञ समिति बनाउन सुझाव दिए । कांग्रेस सांसद रामहरि खतिवडाले दोषी उम्कन नपाउने र निर्दोष नफस्ने गरी निष्पक्ष छानबिन हुनुपर्ने बताए । राप्रपाकी रोशन कार्कीले यस प्रकरणमा संलग्न कसैलाई पनि उन्मुक्ति दिन नहुने बताइन् । 

माओवादी सांसद लेखनाथ दाहालले नक्कली भुटानी शरणार्थी बनाउने धन्दा राष्ट्रविरुद्धकै अपराध रहेको बताए । ‘अपराधी र भ्रष्टाचारीको पार्टी हुँदैन,’ उनले भने, ‘भ्रष्टाचारीलाई राजनीतिक संरक्षण नदिन र अनुसन्धान प्रक्रियामा सहयोग गरिदिन आग्रह गर्छु,’ उनले भने । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीले यस घटनाको अनुसन्धानमा सरकारलाई सहयोग गर्ने बताए । ‘दायाँ–बायाँ, तल–माथि नगरी निर्दोष नफस्ने र दोषीलाई उन्मुक्ति नहुने हो भने सरकारको यो काममा सहयोग गर्न एमाले तयार छ,’ संसद् बैठकमा उनले भने, हाम्रो पार्टीका सांसद रायमाझीलाई छानबिनमा सहयोग गर्न पार्टीले निर्देशन दिइसकेको छ ।’ 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरू देश छाडेर भाग्न सक्ने खतरा रहेको उल्लेख गर्दै राहदानी तुरुन्त जफत गर्न माग गरेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्र रूपले काम गर्न दिनुपर्ने र प्रहरीले जुटाएको प्रमाण बीचमै हराउन नहुने भन्दै उनले ध्यानाकर्षण गराए ।

कान्तिपुर

Link copied successfully