कुण्डली हेर्दै युवा- समाचार - कान्तिपुर समाचार

कुण्डली हेर्दै युवा

अपूरो ज्ञानकै आधारमा ज्योतिष पेसाका नाममा कमाउनेको संख्या बढेकाले आचारसंहिता तथा कारबाहीसम्मको व्यवस्था कडा पार्नुपर्ने देखिन्छ । त्यसका लागि वेदका ६ वटा अंगमध्येको आँखा मानिएको ज्योतिषलाई पैसाभन्दा पनि सेवाको दृष्टिकोणबाट हेर्नुपर्छ । 
प्रदीप घिमिरे

काठमाडौँ — भक्तपुरका सुशील भण्डारीले दैनिकजसो विदेशयात्रा, अध्ययन, प्रेम र विवाहलगायतका कैयौं विषयमा दर्जनौं प्रश्नहरूको सामना गर्छन् । यसरी प्रश्न सोध्नेहरूलाई उनले उत्तरमार्फत सन्तुष्ट गर्न लागेको पनि करिब एक दशक भइसकेको छ । कारण, लामो समयदेखि फलादेशको काम गर्दै आएका उनी यसैमा रमाउँछन् । अनि मानिसहरूलाई भविष्य देखाउँदैमा सन्तुष्ट पनि छन् । 

संस्कृत विश्वविद्यालयबाट ज्योतिष विषयमा आचार्य सकेका भण्डारीको भक्तपुरको कौशलटारमा ज्योतिष कार्यालय छ । उनका अनुसार यसरी भाग्यबारेको जानकारी खोज्दै आउनेमा अधिकांश युवायुवती हुन्छन् ।

भोलिको दिनबारे जान्न खोज्नु, त्यसप्रति उत्सुक हुनु मानवीय गुण नै भयो । तर हालको युवापुस्ता पुराना पुस्ताको तुलनामा बढी महत्त्वाकांक्षी भएकाले पनि आफ्नो भविष्यका विषयमा बढी नै चासो राख्ने गरेका छन् । त्यसैका कारण हो, ज्योतिषी पेसा र अध्ययनप्रति आकर्षण बढेको ।

नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठका ज्योतिष विभागका प्रमुख प्रा. धनेश्वर नेपाल पछिल्लो समय अन्य विषयभन्दा ज्योतिषशास्त्र अध्ययन गर्ने युवायुवतीको संख्या बढ्दै गएको बताउँछन् । ‘पहिलाको तुलनामा अहिले धेरै विद्यार्थीहरू ज्योतिषशास्त्र पढ्न थालेका छन् । विश्वविद्यालयबाट बाहिर गइसकेपछि पनि यो विषय पढ्ने विद्यार्थीले यसैसम्बन्धी पेसा अँगाल्न सक्ने भएकाले पनि आकर्षण बढेको हो,’ उनले भने । ‘यहाँ ज्योतिषशास्त्र पढ्नेमध्ये धेरैले यसलाई व्यावसायिक रूपमा फलदायी हुने भन्दै पढ्ने गरेका छन् ।’

यो पेसा र अध्ययन मानिसको भविष्यसँग पनि जोडिएको छ । पछिल्लो समय मानिसहरू भविष्यप्रति बढी नै चिन्तत हुन थालेकाले पनि यसप्रति विद्यार्थीको चाप बढेको विद्यापीठका प्राचार्य प्रा. भागवत ढकालको भनाइ छ । त्यसमाथि पछिल्लो समय छात्राहरूको उपस्थिति पनि बढ्दै गएको छ ।

वाल्मीकिमै शास्त्री तृतीय वर्षमा सिद्धान्त ज्योतिष पढ्दै छिन्, अमृता खनाल । ग्रहहरूको अध्ययन गर्न र व्यावसायिक रूपमा पनि आयआर्जन गर्न अन्य विषयभन्दा फलदायक ठान्छिन् उनी । ‘मानिसको भविष्य त छँदै छ, खगोलका विषयमा पनि धेरै कुराको ज्ञान हुन्छ,’ उनले भनिन् । ‘यसको व्यावसायिक पाटो त छँदै छ ।’ पछिल्लो समय मानिसहरू महत्त्वाकांक्षी हुँदै गएकाले पनि भविष्यको चिन्ता र राम्रा दिन आउने समयबारे जान्न पनि युवा जमातमा यस विषयप्रति चासो बढेको उनी बताउँछिन् ।

यसैका उदाहरण हुन्, अहिले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा विद्यावारिधि गर्दै गरेकी प्रतीक्षा कट्टेल । ज्योतिष विषयमा सानैदेखि रुचि राख्ने कट्टेलले कोभिडका कारण गरिएको लकडाउनमा ज्योतिष सिकिन् । ‘यो विषय आफैंमा एउटा विज्ञान हो । समयसँगै मानिसहरूले यसलाई पुरानो र पाका पुस्ताले मात्र ज्योतिषी पेसा अँगाल्ने जस्तो व्याख्या गरियो । तर अहिले यो गलत सावित भइसकेको छ । युवापुस्ताहरू नै यसप्रति आकर्षित भइरहेका छन् । यो निकै राम्रो कुरा हो,’ फुर्सदको समयमा आफू विभिन्न जन्मकुण्डली हेर्ने र विश्लेषण गर्ने कट्टेल बताउँछिन् ।

चिना, हात र वास्तु हेराउने जस्ता विषय मानिसहरूको दिनचर्यासँग जोडिएपछि यसप्रतिको आकर्षण बढेको बताउँछन् वाल्मीकि विद्यापीठ ज्योतिष विभागका सहप्राध्यापक जयन्त आचार्य । तर आकर्षण बढेसँगै सतही ज्ञानको भरमा फलादेश गर्ने र भाइरल हुने नाममा पेसालाई नै बदनाम गर्ने प्रवृत्ति देखिन थालेकामा भने उनी चिन्तित छन् ।

‘आफ्नो भविष्य जान्ने रहर हरकोहीलाई हुन्छ । आजको समयमा धेरै युवायुवतीहरू त्यसतर्फ आकर्षित हुनु राम्रो पनि हो । तर यसैलाई व्यापारका रूपमा हेरेर धेरैले ज्योतिषशास्त्रसम्बन्धी सतही ज्ञानका भरमा फलादेश गर्ने अवस्था पनि बढिरहेको छ,’ उनले भने, ‘यस्ता गतिविधिले ज्योतिषविद्याप्रति नै मानिसले नकारात्मक धारणा बनाउन सक्ने स्थिति पनि देखिन्छ ।’

वाल्मीकि विद्यापीठमै शास्त्री तृतीय वर्षमा अध्ययनरत सन्तोषी श्रेष्ठ पनि युवापुस्ताले ज्योतिष शास्त्रप्रति रुचि देखाउनु राम्रो भए पनि यसलाई पेसा, व्यवसायका रूपमा मात्र हेरिनुले ज्योतिषशास्त्रको महत्त्व घट्ने बताउँछिन् । ‘फलित ज्योतिषमा युवायुवतीको आकर्षण हुनु राम्रो हो । तर यसलाई सेवाभन्दा पनि व्यावसायिक र पेसागत रूपमा हेरिने प्रवृत्ति बढ्दै जाँदा विभिन्न विकृति आएका छन् ।’ वेदका ६ वटा अंगमध्येको आँखा मानिएको ज्योतिषलाई पैसाभन्दा पनि सेवाको दृष्टिकोणबाट हेर्नुपर्ने उनको सुझाव छ ।


खोज, अनुसन्धान र गहन अध्ययन नै नगरी अनावश्यक प्रचारमा आउने, अफवाह फैलाउने गरिएकाले समस्या बढेको श्रेष्ठ बताउँछिन् । ‘त्यसैले यसलाई राम्रो बनाउन अब युवाहरूले ज्योतिषशास्त्रको गहन अध्ययन गरेर ज्योतिषीमा हुनुपर्ने आचरण, अनुशासनको पालना र साधना गरी नित्तान्त सेवाभावले शास्त्रसम्मत् उचित परामर्श दिनुपर्छ,’ उनले भनिन् ।

सहप्राध्यापक आचार्य पनि ज्योतिषविद्या समयको विज्ञान भएको बताउँदै यसलाई सतही जानकारी लिएर यसको महत्त्व कुनै न कुनै हिसाबले घटिरहेको स्विकार्छन् । ‘मानिसहरू ज्योतिषविद्या पढ्ने र पढाउने दुवैमा अपूरो ज्ञान देखियो, जसले गर्दा त्यसको गहनताभन्दा पनि सतही ज्ञानमात्र भयो,’ उनी भन्छन्, ‘अबको पुस्ताले यो विषयमा रुचि राख्नु हाम्रा लागि गर्वको कुरा हो तर ट्रेन्ड पछ्याउने निहुँमा विकृति बढाउनतिर चाहिँ लाग्नुहुँदैन ।’

विज्ञान विषय पढ्दा–पढ्दै ज्योतिष क्षेत्रमा प्रवेश गरेका हरिहर अधिकारी भने पछिल्लो समयका चर्चित युवा ज्योतिषी हुन् । विभिन्न रेडियो तथा टेलिभिजनबाट ज्योतिषलाई नयाँ शैलीमा प्रस्तुत गरेकै कारण अधिकारीले लाखौं प्रशंसक पनि कमाइसकेका छन् । ‘ज्योतिषशास्त्रप्रति युवापुस्ताको आकर्षण हुनु राम्रो कुरा हो । तर टिकटकजस्ता सामाजिक सञ्जालमा भाइरल हुने नाममा अपर्याप्त ज्ञानको आधारमा फलादेश गर्न थालिएकाले यसको महत्त्वमाथि नै प्रश्न उठ्यो,’ उनी भन्छन्, ‘ज्योतिषशास्त्रजस्तो वैज्ञानिक विषयलाई मानिसहरूले त्यसलाई पूर्ण रूपमा नजानी पैसा कमाउने साधन बनाउनुचाहिँ दुःखद् हो ।’ अधिकारी यसअघि श्रीलंकामा बेस्ट एस्ट्रोलोजर अफ नेपाल तथा गएको जनवरीमा दुबईमा सम्पन्न ज्योतिष भेलामा बेस्ट एस्ट्रोलर अफ एसियाको पुरस्कारले सम्मानितसमेत भइसकेका छन् । केही वर्षअघि भारतमा उनले म्यान अफ दि इयर इन एस्ट्रोलोजीलगायत सम्मान पाएका थिए ।


मानिस आफ्नोसँगै सन्तानको भविष्यप्रति पनि उत्तिकै सचेत देखिन्छ । प्राकृतिक रूपमा बच्चा जन्माउँदा अस्पतालले दिएको मिति ठीक छ कि छैन भनेरसमेत देखाउनु यसैको उदाहरण भएको बताउँछन् ज्योतिष भण्डारी । ‘चिकित्सकले दिएको समय उचित नदेखिएमा शुभ बेला पारेर अपरेसनमार्फत बच्चा जन्माउने क्रम पनि बढ्दै गएको छ,’ उनले भने, ‘त्यतिमात्रै होइन, घर बनाउन सुरु गर्दादेखि बनाएपछि नसर्दासम्म ज्योतिषीलाई देखाउने चलन पनि दिनहुँ बढिरहेको छ ।’ जसका कारण नेपालमा मात्र नभई विदेशमा रहेका नेपालीले पनि आफूसँग चिना देखाउने गरेको उनको भनाइ छ ।

डेलिभरी केसमा अपरेसन नै गर्नुपर्ने स्थिति भयो र यसबारे आफूहरूले पहिले नै जानकारी दिएको खण्डमा भने अभिभावकहरूले समय तोक्ने गरेका किस्ट अस्पतालकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर ओनिका कार्कीको भनाइ छ । ‘गर्भ बसेको ३८ देखि ४० सातासम्म डेलिभरी हुने मिति दिइन्छ । यदि अपरेसन नै गर्नैपर्ने अवस्था भएमा कतिपयले आफैं डेट लिएर आउने गर्नुहुन्छ । तर, हामीले उक्त मितिमा अपरेसन गर्दा केही फरक नपर्ने भएमात्र गर्छौं ।’

अपूरो ज्ञानकै आधारमा यसलाई व्यवसाय बनाएर ‘ठग्ने प्रवृत्ति’ रोक्न आचारसंहितादेखि कारबाहीसम्मको व्यवस्था हुनैपर्ने जानकारहरूको सुझाव छ । त्यसका लागि ज्योतिष क्षेत्रलाई व्यवसायभन्दा पनि सेवाका हिसाबले हेर्नुपर्ने बताउँछन्, संगमराज ढकाल । ११ र १२ कक्षामा भौतिक विज्ञान अध्यापन गराइरहेका ढकालले पनि चितवनमा रहेर केही समययता ज्योतिषसम्बन्धी सेवा दिँदै आएका छन् । ‘मैले कसैबाट पैसा लिनैका लागि नभई सेवाभावले अरूको जन्मकुण्डली हेर्ने र भविष्यको फलादेश गर्ने गरेको छु,’ उनले भने ।

प्रकाशित : माघ १८, २०७९ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्

क्रुजसिप र जेटबोट : नियमन न लाइसेन्स, सुरक्षा न बिमा

प्रदीप मेन्याङ्बो, रमेशकुमार पौडेल

सुनसरी‚ चितवन — कोसी नदीमा सञ्चालित आधा दर्जन जल यातायात कम्पनीलाई डिभिजन वन कार्यालयले माघ ४ मा एउटा पत्र पठायो । पत्रको सार थियो– वन क्षेत्रमा पर्ने सुनसरीको चतरास्थित कोसी किनारमा मोटरबोट र जेटबोटका लागि बनाइएका बन्दरगाह (पोर्ट) प्रयोग नगर्नू/नगराउनू ।

यो पत्रले कोसीमा लामो समयदेखि जल यातायातका साधन चलाइरहेकाहरू झस्किए ।

कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गरी करोडौं लगानी गरेर साना–ठूला आठवटा मोटरबोट र जेटबोट चलाइरहेकाहरूलाई पछिल्लो समय कहिले प्रशासन, कहिले वन र कहिले स्थानीय तहको झमेलामा पार्ने गरेका छन् । तर, उनीहरूसँग कम्पनी दर्ता गरेको बाहेक अरू कागजात नभएपछि अलमलमा छन् ।

जल यातायातको नियमन गर्न सरकारले नेपाल पानीजहाज कार्यालय स्थापना गरेको छ तर एकै पटक १० देखि ४० जनासम्म यात्रु लिएर चतरादेखि धनकुटातर्फको सिम्ले र भोजपुरतर्फको कोप्चेसम्म पुग्ने मोटरबोट र जेटबोट दर्ता गर्ने विषयमा चासोसम्म दिएको छैन । उक्त कार्यालयले हालसम्म मोटरबोट र जेटबोट सञ्चालकहरूसँग समन्वय, सम्पर्क र छलफल गरेको पनि छैन ।

वन कार्यालयले चतरास्थित कोसीको नयाँ पुलछेउमा बन्दरगाह नबनाउन उर्दी जारी गरेको छ । तर, वनले कुन निकायमा गुनासो सुनाउने, बोट चलाउने क्याप्टेन (चालक) हरूको लाइसेन्सका लागि कुन विभागमा जाने, जल यातायात सञ्चालन व्यवस्थापनबारे कसलाई भन्नेबारे कुनै उपाय सुझाएको छैन । कोसीमा करिब दशकदेखि नेपाल रिभर ट्रान्सपोर्ट, कोसी एडभेन्चर प्रालि, दन्तकाली जलविहार प्रालि, बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि नेपाल र वरुण जल यातायातले चतरादेखि बराहक्षेत्र मन्दिर कटेर धनकुटातर्फको सिम्ले र भोजपुरतर्फको कोप्चेसम्म मोटरबोट सञ्चालन गरिरहेका छन् ।

नेपाल रिभर ट्रान्सपोर्ट र दन्तकाली जलविहार प्रालिका सञ्चालक अनिश थापाका अनुसार कोसीमा जल यातायातको सेवासुविधा दिन र एडभेन्चर चाहने पर्यटकलाई मनोरञ्जन दिलाउन करोडौं लगानीका कम्पनी दर्ताकै भरमा छन् । ‘हाम्रा क्याप्टेनलाई चालक अनुमतिपत्र (लाइसेन्स) दिने र हामीलाई नियमन गरेर कानुनी दायरामा ल्याउने निकाय छैन,’ उनले भने, ‘स्थानीय, प्रदेश र संघीय सरकारले सुनेका छैनन्, कम्पनीमार्फत राजस्व लिए पनि व्यवस्थित गर्न चासो नदिँदा सबैतिरबाट हेपिएका छौं ।’

केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला २०७५ माघ ३ मा मन्त्रिपरिषद् बैठकले ललितपुरको एकान्तकुनामा नेपाल पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । १६ कर्मचारीको दरबन्दीसहितको पानीजहाज कार्यालय खोलिए पनि उक्त कार्यालयले हालसम्म जल यातायात व्यवसायी कम्पनीसँग समन्वय नगरेको थापाले बताए । कोसीमा बोट सञ्चालकहरूमध्ये केहीले पानी जहाज कार्यालय खोज्दै गत वर्ष ललितपुरको एकान्तकुना पुगेका थिए । त्यसबेला उनीहरूले तत्काल ऐन, नियमावली बनाएर आफ्ना कम्पनीलाई कानुनी दायरामा ल्याइदिन आग्रह गरे पनि कसैले नसुनेको उनको आरोप छ ।

पानीजहाज कार्यालयले चतरादेखि भोजपुरको हतुवागढीसम्म ट्र्याक खोल्न भन्दै दुई पटक सर्भे गरेको थियो । २०७९ पुससम्ममा टेन्डर खोल्ने आश्वासन जल यातायात व्यवसायीलाई दिएको थियो । तर, माघ दोस्रो साता कटिसक्दा पनि सर्भेअनुसारको ट्र्याक खोल्ने काम भएको छैन ।

उनीहरूका अनुसार पानीजहाज कार्यालयबाट एक प्राविधिक आएर चतरादेखि दोलालघाटसम्म अनुगमन र निरीक्षण गरेका थिए । उनले के कस्तो प्रतिवेदन सरकारलाई बुझाए जल यातायात व्यवसायीलाई कुनै जानकारी छैन । जल यातायातका लागि आधिकारिक रूपमा जेटबोट भित्र्याउने बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिका सञ्चालक विमलमान श्रेष्ठका अनुसार चतराको कोसी किनार नेपालको वन विभागको अधिकार क्षेत्रमै पर्दैन । उनले कोसी ब्यारेजदेखि चतराको नयाँपुल आसपाससम्म कोसी सम्झौताअनुसार भारत सरकारको अधिकार क्षेत्रमा पर्ने बताए ।

बराहक्षेत्र नगरपालिकाले चतरामा मोटरबोट सञ्चालन गरेबापत वार्षिक ५ लाख रुपैयाँ राजस्व तिर्नुपर्ने नियम बनाएको थियो । तर ऐन, कानुन, कार्यविधि नै नभएपछि उक्त नियम कार्यान्वयनमा आएको छैन । श्रेष्ठले भने, ‘यात्रु चढाउने र उतार्ने पोर्ट (बन्दरगाह) को उचित व्यवस्थापन गर्न नसक्ने, जनशक्तिको सुरक्षा दिन नसक्ने स्थानीय सरकारले के आधारले वार्षिक ५ लाख रुपैयाँ शुल्क लिन खोजेको हो, बुझ्न सकिएन ।’

कोसीमा २०६४ देखि मोटरबोट सञ्चालन भएको हो । सोही वर्ष सुम्निमा जल यातायात प्रालिले सञ्चालन गरेको बोट दुर्घटनामा परेर एक यात्रुको ज्यान गएको थियो । पूर्वप्रधानमन्त्री ओलीले नेपालमा पानीजहाज चलाउने सपना देख्न थालेपछि व्यवसायीले उत्साहित हुँदै कम्पनी दर्ता गरेर विदेशबाट २० लाख रुपैयाँभन्दा बढी पर्ने मोटरबोट र एक करोड रुपैयाँभन्दा बढी पर्ने जेटबोट सञ्चालन गरिरहेका छन् ।

कोसीमा व्यावसायिक रूपमा जेटबोट सञ्चालन भएपछि भोजपुरका हतुवागढी, आमचोक, धनकुटाको सहिदभूमि गाउँपालिकासहित भोजपुर–खोटाङका दक्षिणी भेगका यात्रुलाई छोटो दूरीमै सुनसरीको बराहक्षेत्रसँग जोडिदिएको छ । अक्करे भीरमा पैदल यात्रा गर्दा घण्टौं समय लाग्ने गरेको थियो । सरकारले जल यातायातको ऐन, कानुन, कार्यविधि र व्यवस्थापनको जिम्मेवारी, दायित्व र भूमिका पूरा गर्न सके त्यो क्षेत्र एकै घण्टामा पार गर्न सकिने चालकको भनाइ छ । बराहक्षेत्रको चतराघाटदेखि दूधकोसी (सुनकोसी) नदी हुँदै दोलालघाटसम्म र अरुण नदी हुँदै संखुवासभाको तुम्लिङटारसम्म सहजै एकै घण्टामा पुग्न सकिने बिनालाइसेन्सका क्याप्टेन राजेश चौधरीले बताए । उनका अनुसार कोसी नदीमा निर्माण भएको नयाँपुलदेखि धनकुटाको सिम्ले र भोजपुरको भसुवा, चुहारसम्म जेटबोट पुग्छ तर त्यहाँभन्दा माथि जान नदीमा भएका चट्टान हटाउनुपर्छ ।

एक दशकअघि नै कोसीका पहिलो अनुभवी क्याप्टेन कप्तान वृच्छासिं दनुवारले कोसी रिभर ट्रान्सपोर्टको जेटबोट दोलालघाटसम्म पुर्‍याएका थिए । वृद्धावस्थाका कारण दनुवार हाल जेटबोट चलाउन छाडेका छन् । उनैले प्रशिक्षण दिएकाहरू अहिले मोटरबोट र जेटबोटका क्याप्टेनहरू कोसीमा छन् । बोट चालकहरूका अनुसार अरुण नदी तीरबाट जाँदा सिम्ले र आखुवाटारको बीचमा पर्ने छहरालाई ‘कटिङ’ गरेर ‘साइट लाइन’ सारेमा तुम्लिङटारसम्म पुग्न सकिन्छ । यस्तै, भचुवासम्म पुगिरहेका जेटबोटलाई दूधकोसी (सुनकोसी) नदीमा रहेको ठूलो ढुंगा पन्छाउने हो भने बेलका–७ र हतुवागढी–९ को लाम्पातेसम्म पुर्‍याउन सहज हुन्छ । अरुण नदीमा दुईवटा ढुंगा र सुनकोसीमा एउटा ढुंगा ब्लास्ट गरेर जलयात्रा सहज बनाउन सकिने बोट चालकहरूको भनाइ छ ।

दन्तकाली जलविहारका सञ्चालक थापाका अनुसार नदीको चट्टान हटाउन सके सुनसरीको बराहक्षेत्रस्थित चतराबाट हिँडेर तीन दिन लाग्ने भोजपुर, खोटाङलगायतका पहाडी क्षेत्र जेटबोटबाट एकै घण्टामा पुग्न सकिन्छ ।

वृच्छासिं दनुवारपछि कोसीमा जेटबोट चलाउन उदयपुरको बेलका नगरपालिका–५ सुपाडेका ४८ वर्षीय राजेशकुमार चौधरीले सिके । उनले कतारमा रहँदा जलसेनाको समन्वयमा कोस्टगार्डको काम गरेका थिए । चौधरी १० वर्षअघि नेपाल आएर कोसी एडभेन्चर प्रालिका जेटबोटका क्याप्टेन बनेका छन् । उनले जेटबोट चलाएर दैनिक १ हजार भत्ता र मासिक ३० हजार तलब पाइरहेका छन् । उनले भने, ‘तर लाइसेन्स नहुँदा काठको डुंगा चलाउनेकै हैसियत मात्र छ ।’

प्रशासनले पनि लाइसेन्सबारे सोध्ने गरेको उनले बताए । आफूहरूका लागि नेपालमा ऐन–कानुन नै नभएको उनले सुनाए । ‘अचम्मैको तरिकाले काम गरिरहेको छु जस्तो पो लाग्न थालेको छ । न ऐन छ, न कानुन छ, न निर्देशिका नै छ ’ चौधरीले भने ।

कोसी जल यातायातमार्फत सञ्चालित मोटरबोट र जेटबोटले दैनिक पाँच सयभन्दा बढी यात्रुलाई सेवा दिइरहे पनि आफू लाइसेन्सविहीन क्याप्टेन हुनुपरेको दुःख चौधरीले सुनाए । उनलाई जस्तै समस्या कोसीमा जेटबोट र मोटरबोट चलाउनेहरूमा बराहक्षेत्र–२ का ४० वर्षीय चन्द्रबहादुर राई र बराहक्षेत्र–१ चतराका ३४ वर्षीय सुजन श्रेष्ठलाई पनि छ । त्यस्तै, बेलका–८ का सुवास राई, बराहक्षेत्र–१ का तिलक शिवा, ३० वर्षीय मनी राई, ३३ वर्षीय प्रवीण राई, ३८ वर्षीय, सञ्जीव श्रेष्ठ, २६ वर्षीय मनीष घिमिरेसहित १५ जनाले लाइसेन्सबिना काम गर्नुपरेको बताएका छन् । मोटरबोट र जेटबोट कम्पनीमा दर्ता भए पनि जल यातायातका लागि ती साधन चलाउने चालक (क्याप्टेन) हो भनेर प्रमाणित गर्ने, नाम दर्ता गर्ने निकाय छैनन् । ती निकाय नहुँदा कुनै पनि बेला अप्ठ्यारो आइपर्न सक्ने भएकाले तत्काल ऐन, कानुन, नियमावली, कार्यविधि, निर्देशिका बनाउनुपर्ने उनीहरूको माग छ ।

नारायणीमा पनि उस्तै समस्या

चितवनस्थित नारायणी नदीमा दुई सय जना क्षमताको दुईतले सानो पानीजहाज (क्रुजसिप) चल्न सुरु भएको छ । यसले यात्रु तथा मालसामान बोक्दैन तर नारायणीमा छोटो घुमफिर र मनोरञ्जनात्मक गतिविधि गर्ने पर्यटकीय उद्देश्यले सञ्चालनमा आएको हुँदा यसलाई ‘क्रुजसिप’ भनिएको छ ।

तीन वर्षअघि नै परीक्षण भए पनि माघ १ देखि औपचारिक रूपमा सञ्चालनमा आएको क्रुजसिपप्रति चासो बढ्दो छ । नेपालका नदीमा सम्भवतः पहिलो पटक यति ठूलो साधन चल्न लागेपछि यसको सञ्चालन विधि र सुरक्षा प्रबन्धका बारेमा पनि चासो बढेको छ ।

१५ दिनसम्म दिनमा तीन पटक क्रुज चल्दा चढ्न आउनेले अनेक जिज्ञासा राख्ने गरेको क्रुजसिप सञ्चालन गर्ने कम्पनी राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका कार्यकारी निर्देशक दीपक ढुंगेलले बताए । ‘यो क्रुज सञ्चालनमा आएकै दिन प्लेन दुर्घटना पनि भएको छ, त्यसैले चढ्न आउनेहरूका अनेक जिज्ञासा रहन्छन्, सुरक्षाका दृष्टिले यो क्रुजमा कुनै समस्या छैन,’ ढुंगेलले भने । सुरक्षा र सञ्चालन विधिका बारेमा कम्पनीले आफ्नो पक्ष राखे पनि यसको नियमन कसले गर्ने ? प्रस्ट छैन ।

नारायणगढ बजारदेखि झन्डै ६ किलोमिटर पश्चिम भरतपुर महानगरपालिका–१६ मंगलपुर काब्रेघाटको नारायणी नदी किनारमा क्रुजको स्टेसन छ । स्टेसन रहेकै ठाउँमा क्रुजसिप निर्माण भएको हो । भारत केरलाबाट ग्रान्डियर मरिन इन्टरनेसनलका इन्जिनियर र प्राविधिक टिम बोलाएर मंगलपुरमा क्रुज तयार पारेको ढुंगेलले बताए । यसको इन्जिन पनि क्रुजसिपमै लाग्ने इन्जिन हो । ‘यसलाई चलाउने क्याप्टेन पनि भारत कोलकाताका अलकुमार सेख हुन्, त्यहाँ उनले यस्तै पानीजहाज चलाउँथे, निर्माणदेखि सञ्चालनसम्म हामीले उपयुक्त व्यक्ति र प्रविधि नै अपनाएका छौं,’ उनले भने ।

क्रुजमै ब्रेकफास्ट, लञ्च र डिनरसहितको घुमफिर कार्यक्रम उपलब्ध छ । बिहे, पास्नीलगायत अन्य सभा–समारोह पनि आयोजना गर्न सकिने सुविधा छ । ‘यो डुब्ने खालको संरचना हैन, यसको बनोट नै त्यस्तै छ, कुद्ने पनि हैन, प्रतिघण्टा १० किलोमिटर यसको स्पिड हुन्छ, त्यसैले यसको यात्रा जोखिमयुक्त छैन,’ ढुंगेलले भने । क्रुजले नारायणी नदीमा ४० किलोमिटरसम्म यात्रा गर्न पाउने अनुमति लिएको छ तर नदीको हालको अवस्थाले गर्दा त्यति पर पनि नजाने ढुंगेलले बताए । गार्डहरू, उद्धारक, रेस्क्यु बोट र रेस्क्यु युनिट क्रुजमै तयारी हालतमा रहने उनको भनाइ छ । ढुंगेलले उद्योग विभागमा कम्पनी दर्ता गरेर पर्यटन विभागबाट क्रुज सञ्चालनको अनुमति लिएको बताए । साथै, क्रुजका हरेक यात्रुको १० लाख रूपैयाँ बराबरको बिमा पनि गरिएको ढुंगेलले बताए ।

साहसिक र मनोरञ्जनात्मक जलयात्राका साधन सञ्चालन गर्न पर्यटन विभागले अनुमति दिए पनि क्रुजजस्ता पानीजहाजकै स्वरूपका ठूला साधनको नियमन नेपाल पानीजहाज कार्यालयबाट हुनुपर्ने पर्यटन विभागका सूचना अधिकारी सूर्यप्रसाद उपाध्यायको भनाइ छ । नेपाल पानीजहाज कार्यालयका सूचना अधिकारी रवीन प्रधानले कार्यालयलाई ऐन, नियमको अभाव रहेको स्विकारे । ‘नारायणीमा ठूला साधन चलेको समाचारहरूबाट थाहा पाएको हो । यसबारे औपचारिक जानकारी छैन,’ उनले भने, ‘त्यस्ता साधनको नियमन हाम्रो कार्यालयले नै गर्नुपर्ने हो तर हामीसँग काम गर्न ऐन छैन ।’

प्रकाशित : माघ १८, २०७९ ०८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×