

काठमाडौँ — सन् १९८१ मा आजकै दिन (जनवरी ३१) मा अमेरिकी गायक तथा अभिनेता जस्टिन टिम्बरलेकको जन्म भएको थियो । अमेरिकी राज्य टेनेसीको मेम्फिसमा जन्मिएका टिम्बरलेकले निकै सफल बोई ब्यान्ड ‘एनएसवाईएनसी’ को सदस्यका रूपमा निकै लोकप्रिय बनेका थिए ।

टिम्बरलेकले सन् १९८० को दशकका अन्त्यदेखि आफ्नो सांगीतिक करिअर सुरु गरेका हुन् । त्यसताका उनले डिज्ने च्यानलको ‘द न्यु मिक्की माउस क्लब’ मा चर्चित गायिका तथा गायकहरू ब्रिटनी स्पेयर्स, क्रिस्टिना अगुइलेरा, जेसी चासेजलगायतसँग प्रस्तुतिहरू दिएका थिए । ‘एनएसवाईएनसी’ को तेस्रो एल्बमपछि सन् २००१ देखि टिम्बरलेकले आफ्नो एकल रेकर्डिङ सुरु गरेका थिए ।
टिम्बरलेक विश्वमै सबैभन्दा बढी एल्बम तथा गीत बिक्री हुने कलाकारमा पर्छन् । उनले १० पटक ग्रामी अवार्ड, ४ पटक प्राइमटाइम एम्मी अवार्ड, ३ पटक ब्रिट अवार्ड, ९ पटक बिलबोर्ड म्युजिक अवार्डसहित दर्जनौं सम्मान तथा पुरस्कार पाइसकेका छन् ।
सन् २००६ मा टिम्बरलेक आफ्नो दोस्रो एल्बम ‘फ्युचर सेक्स’ का कारण भने उनी आलोचित भएका थिए । उनका पहिला दुई एल्बम एक करोडभन्दा बढी बिक्री भएका थिए । २००८ देखि २०१२ सम्म भने उनी अभिनयको क्षेत्रमा क्रियाशील रहेका थिए । उक्त अवधिमा उनले ‘द सोसियल नेटवर्क’, ‘द ब्याड टिचर’, ‘फ्रेन्ड्स विथ बेनिफिट्स’, र ‘इन टाइम’ फिल्ममा अभिनय गरेका थिए ।
सन् २०१३ मा पुनः सांगीतिक दुनियाँमा सक्रिय भएका टिम्बरलेकले त्यस वर्ष चौथो एल्बम ‘द २०/२० एक्सपेरियन्स’ निकालेका थिए । त्यस्तै, उनले २०१८ मा ‘म्यान अफ द वुड्स’ ल्याएका थिए । उक्त एल्बमले वर्षकै सबैभन्दा बढी बिक्री हुने रेकर्ड बनाएको थियो ।
प्रकाशित : माघ १७, २०७९ ०७:५७