कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समानुपातिकबाट कम्तीमा ७६ महिला निर्वाचित हुँदै

एमालेले १९, कांग्रेसले २९, माओवादीले १२, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५–५, जनता समाजवादी पार्टीले ४, जनमत पार्टीले २ महिला समानुपातिकबाट प्रतिनिधित्व गराउनुपर्ने
मणि दाहाल

काठमाडौँ — प्रतिनिधिसभा सदस्यमा समानुपातिक प्रणालीबाट कम्तीमा ७६ महिला निर्वाचित हुने भएका छन् । संघीय संसद्मा महिलाको एक तिहाइ प्रतिनिधित्व सुनिश्चित गर्न दलहरूले समानुपातिकबाट निर्वाचित हुने १ सय १० जनामध्ये ७६ महिलाको नाम पठाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षबाट ९ महिला मात्र निर्वाचित भएका छन् । 

समानुपातिकबाट कम्तीमा ७६ महिला निर्वाचित हुँदै

समानुपातिकमा ३४ सिट पाएको एमालेले कम्तीमा १९ महिला निर्वाचित गर्नुपर्नेछ । कांग्रेसले ३२ मध्ये २९, माओवादी केन्द्रले १४ मध्ये १२, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ मध्ये ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ मध्ये ५, जनता समाजवादी पार्टीले ५ मध्ये ४ र जनमत पार्टीले ५ मध्ये २ महिला समानुपातिकबाट प्रतिनिधित्व गराउनुपर्नेछ । प्रत्यक्षमा ४४ सिट जितेको एमालेका सांसद राष्ट्रिय सभामा ९ महिलासहित १६ जना छन्, प्रतिनिधिसभामा प्रत्यक्षबाट ४ महिलाले चुनाव जितेका छन् ।

समानुपातिकमा एमालेले आदिवासी जनजाति १०, खसआर्य ११, थारू २, दलित ५, मधेसी ५, मुस्लिम १ र पछिडिएको क्षेत्रबाट १ जना प्रतिनिधित्व गराउनुपर्नेछ । कांग्रेसले आदिवासी जनजाति ९, खसआर्य १०, थारू २, दलित ५, मधेसी ५, मुस्लिम १ र पिछडिएको क्षेत्रबाट १ जना चयन गर्नुपर्नेछ । कांग्रेसमा प्रत्यक्षबाट निर्वाचित महिला एक जना छन् । राष्ट्रिय सभामा कांग्रेसका तीन महिलासहित १० सांसद छन् । माओवादीले समानुपातिकमा जनजाति आदिवासी ४, खसआर्य ४, थारू १, दलित २, मधेस २, मुस्लिम १ र पिछडिएको क्षेत्रबाट १ जना निर्वाचित गराउनुपर्नेछ । माओवादीमा पनि प्रत्यक्षबाट निर्वाचित महिला एक जना मात्रै छन् । राष्ट्रिय सभामा माओवादी सांसद तीन महिलासहित १५ जना छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट आदिवासी जनजाति ३, खसआर्य ४, थारू १, दलित २, मधेसी २, मुस्लिम १ र पिछडिएको क्षेत्रमा १ जनाको प्रतिनिधित्व हुने गरी समानुपातिक सांसद हुनेछन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले आदिवासी जनजातितर्फ न्यूनतम २ र अधिकतम ३, खसआर्य न्यूनतम २ र अधिकतम ३, थारू बढीमा १, मधेसी न्यूनतम १ र बढीमा २, मुस्लिम बढीमा १ जनाको प्रतिनिधित्व गराउनुपर्नेछ । राष्ट्रिय सभामा राप्रपाको प्रतिनिधित्व छैन ।

जनता समाजवादी पार्टीबाट आदिवासी जनजाति १ देखि २, खसआर्य १ देखि २, दलित बढीमा १ जना, मधेसी बढीमा १, मुस्लिम बढीमा १ जना समानुपातिक सांसद निर्वाचित हुनेछन् । राष्ट्रिय सभामा जसपाका १ महिलासहित ३ सांसद छन् ।

जनमत पार्टीले आदिवासी जनजाति १ देखि २ जना, खसआर्य १, थारू बढीमा १ र दलितमा बढीमा १ जनाको नाम पठाउनुपर्नेछ । राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी नयाँ दल भएकाले राष्ट्रिय सभामा प्रतिनिधित्व छ्रन । समानुपातिकमा १० सिटभन्दा कम पाउने दलहरूका लागि ‘क्लस्टर’ को समानुपातिक प्रतिनिधित्व फरक हुन् व्यवस्था छ ।

प्रदेशमा कम्तीमा १ सय ८७ महिला

प्रदेश १ मा समानुपातिकतर्फ छानिने ३७ सांसदमध्ये कम्तीमा ३४ महिला हुनेछन् । प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेले प्रत्यक्षतर्फ २५ सिट जितेको छ । उसले समानुपातिकमा १५ सिट पाएको छ । प्रत्यक्षमा कुनै महिला निर्वाचित नभएका कारण एक तिहाइ हिस्सा पुर्‍याउन एमालेले समानुपातिकतर्फ १४ महिला निर्वाचित गर्नुपर्नेछ ।

प्रत्यक्षमा १७ स्थान जितेको कांग्रेसले समानुपातिकका लागि १२ सिट पाएको छ, जसमा कम्तीमा १० महिला हुनुपर्नेछ । प्रत्यक्षतर्फ ९ सिट जितेको माओवादी केन्द्रले समानुपातिकतर्फ ४ सिट प्राप्त गरेको छ । माओवादी केन्द्रबाट ५ महिला पठाउनुपर्ने भए पनि सिट संख्या कम छ । राप्रपाबाट एक महिलासहित दुई जना प्रत्यक्षमा निर्वाचित भएका छन् । समानुपातिक ४ सिट पाएको राप्रपाले समानुपातिकमा १ महिला छान्नुपर्नेछ । प्रत्यक्षमा ३ सिट जितेको एकीकृत समाजवादीले समानुपातिकमा एक सिट पाएको छ । त्यसमा महिलाको प्रतिनिधित्व गराउनुपर्नेछ । जसपाले समानुपातिकमा पाएको १ सिटमा पनि महिला पठाउनुपर्ने छ ।

मधेस प्रदेशमा समानुपातिकबाट ४३ सांसद निर्वाचित हुन्छन्, जसमा कांग्रेसले ८, एमालेले ७, जनता समाजवादी पार्टीले ६, जनमत पार्टीले ५, माओवादी केन्द्रले ३, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले २–२, नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति र राप्रपाले १–१ महिलाको प्रतिनिधित्व गराउनुपर्नेछ । प्रदेशमा एमाले, एकीकृत समाजवादी र जसपाबाट १–१ महिला मात्रै प्रत्यक्षबाट निर्वाचित भएका छन् । मधेस प्रदेशमा कांग्रेसले ९, एमालेले ८, जसपा र जनमत पार्टी ७–७, माओवादी केन्द्रले ४, एकीकृत समाजवादीले ३, लोसपाले २, संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति र राप्रपाले १–१ वटा समानुपातिक सिट पाएका छन् । मधेसमा प्रत्यक्षबाट एमालेका १५, कांग्रेसका १३, जसपाका ९, लोसपाका ९, जनमतका ७, स्वतन्त्र ७, माओवादी र एकीकृत समाजवादीका ४–४ जना निर्वाचित छन् ।

वाग्मती प्रदेशमा समानुपातिकबाट निर्वाचित हुने ४४ जनामध्ये ३४ महिला हुनुपर्नेछ । प्रत्यक्षतर्फ निर्वाचित ६६ जनामध्ये ५ जना मात्रै महिला छन् । एमालेले समानुपातिकतर्फ प्राप्त गरेको १४ मध्ये ९ र कांग्रेसले १२ मध्ये ११ महिला छान्नुपर्नेछ । माओवादी केन्द्रका समानुपातिकमा ७ मध्ये ५ र राप्रपाले ६ मध्ये ५ महिला सांसद हुनेछन् ।

एकीकृत समाजवादी र नेपाल मजदुर किसान पार्टीको २ र हाम्रो नेपाली पार्टीको एक–एक समानुपातिक सिट छ । एकीकृत समाजवादीले २, नेमकिपा र हाम्रो नेपाली पार्टीबाट १–१ महिला निर्वाचित हुनेछन् । त्यसमा महिलाकै प्रतिनिधित्व गराउनेछ । प्रत्यक्षतर्फ कांग्रेसले २५, माओवादी केन्द्रले १४, एमालेले १३, राप्रपाले ७, एकीकृत समाजवादीले ५, नेमकिपा र हाम्रो नेपाली पार्टीले एक–एक स्थानमा जितेका छन् । प्रत्यक्षमा कांग्रेस र माओवादीबाट २–२ र एकीकृत समाजवादीबाट एक जना महिला निर्वाचित छन् ।

गण्डकी प्रदेशमा प्रत्यक्षतर्फका ३६ मध्ये २ स्थानमा मात्रै महिला निर्वाचित भएकाले समानुपातिकका २४ सिटमध्ये १९ वटामा महिला पठाउनुपर्नेछ । समानुपातिक एमालेले १० मध्ये ६, कांग्रेसले ९ मध्ये ९, माओवादीले ३ मध्ये र राप्रपाले प्राप्त गर्ने १ सिटमा महिला पठाउनुपर्नेछ । एमालेका प्रत्यक्षतर्फ १२, कांग्रेसका १८, माओवादी केन्द्रका ५ र स्वतन्त्र १ निर्वाचित छन् ।

लुम्बिनी प्रदेशसभामा समानुपातिकतर्फका ३५ मा कम्तीमा ३० महिला चयन गर्नुपर्नेछ । एमालेबाट १०, कांग्रेसबाट ९, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्तिबाट दुई–दुई महिला पठाउनुपर्नेछ । जनमत पार्टी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक–एक महिला समानुपातिकबाट निर्वाचित हुन्छन् ।

लुम्बिनीमा एमालेले प्रत्यक्षतर्फ १८ र समानुपातिकमा ११, कांग्रेसले प्रत्यक्षमा १७ र समानुपातिकमा १०, माओवादीले प्रत्यक्ष ५ र समानुपातिकतर्फ ४ सिट पाएका छन् । नागरिक उन्मुक्ति, राप्रपा, जसपा, लोसपाले प्रत्यक्षतर्फ २–२ र जनमत पार्टीले एक सिट जितेका छन् । समानुपातिकतर्फ राप्रपा, नागरिक उन्मुक्ति, जनमत पार्टीले समानुपातिकतर्फ २–२ स्थान प्राप्त गरेका छन् । एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा र लोसपाले १–१ स्थानमा प्राप्त गरेका छन् ।

कर्णाली प्रदेशमा समानुपातिक १६ स्थानमध्ये १५ मा महिला पठाउनुपर्नेछ । ४० सदस्यीय संसद्मा प्रत्यक्षतर्फ २४ जना निर्वाचित भएकामा एक जना पनि महिला छैनन् । सो प्रदेशमा कांग्रेस र माओवादी केन्द्रले ९–९ सिट, एमालेले ५ र स्वतन्त्रले १ सिट जितेका थिए । समानुपातिकतर्फ ५ स्थान प्राप्त गरेको एमालेले ४ जना महिला पठाउनुपर्नेछ । कांग्रेसले समानुपातिकतर्फ प्राप्त गरेका ५ स्थानमै महिला पठाउनुपर्नेछ । माओवादीले समानुपातिकमा पाएको ४ सिटमै महिला पठाउनुपर्ने छ । समानुपातिकमा एक एक स्थानमा प्राप्त गरेका राप्रपा र एकीकृत समाजवादी पनि महिलालाई निर्वाचित गराउनुपर्ने छ ।

सुदूरपश्चिम प्रदेशमा समानुपातिकतर्फको २१ स्थानमा कम्तीमा १८ महिलाको प्रतिनिधित्व हुने भएको छ । प्रदेशसभामा कुनै पनि दलबाट प्रत्यक्षतर्फ निर्वाचत महिला छैनन् । एमालेले प्राप्त गरेको समानुपातिक ७ सिटमा ४ महिला निर्वाचित गर्नुपर्नेछ । प्रदेशसभामा प्रत्यक्षबाट एमालेका ३ जना निर्वाचित भएका छन् । कांग्रेसले समानुपातिकका सबै ७ स्थानमा महिला प्रतिनिधित्व गराउनुपर्नेछ ।

कांग्रेसका प्रत्यक्षतर्फ निर्वाचित सांसद १२ जना छन् । प्रत्यक्षतर्फ ८ स्थानमा निर्वाचित माओवादी केन्द्रले समानुपातिमा ३ सिट पाएको छ, त्यसमा सबै महिला पठाउनुपर्नेछ । प्रत्यक्षमा ५ स्थान जितेको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ २ सिट पाएको छ, त्यसमा महिला मात्रै पठाउनुपर्नेछ । राप्रपा र एकीकृत समाजवादीले समानुपातिक प्राप्त गरेको एक–एक स्थानमा पनि महिला पठाउनुपर्नेछ । एकीकृत समाजवादीले प्रत्यक्षतर्फ ३ स्थान जितेको छ ।

प्रकाशित : मंसिर २२, २०७९ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?