निर्वाचन सन्देश प्रवाह गरिदिन व्यवसायीलाई आयोगको आग्रह

कार्तिक २२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले निजी क्षेत्रका उद्योगी/व्यवसायीहरूलाई मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसार एवं मतदाता शिक्षामा सहयोग गरिदिन आग्रह गरेको छ । 

आयोगको कान्तिपथस्थित कार्यालयमा निर्वाचनको सन्दर्भमा 'निजी क्षेत्रसँग अन्तरक्रिया’मा आयोगले व्यावसायिक सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत आफ्नो सूचना सम्प्रेषण संयन्त्रमार्फत आयोगका सूचना तथा सन्देशहरू प्रवाह गरिदिन आग्रह गरेको हो । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगको समाजिक सञ्जालमा आबद्ध भई आयोगमार्फत उत्पादित मतदाता शिक्षा, आचारसंहिता पालना तथा निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देशहरू आफ्नो सांगठानिक संयन्त्र तथा सामाजिक सञ्जालमार्फत प्रवाह गरिदिएर सहयोग गरिदिन पनि आग्रह गरे । 

व्यवसायीहरूको सहयोग मुलुक र लोकतन्त्रका लागि महत्वपूर्ण हुने विश्लेषण गर्दै उनले आ–आफ्नो संस्थामा कार्यरत कर्मचारीलाई मतदान गर्न पाउनेगरी सहजीकरण गरिदिनसमेत आग्रह गरे । उनले देशको अर्थतन्त्र निक्कै अप्ठ्यारो स्थितिमा रहेका तथ्यहरू विश्लेषण गर्दै निर्वाचनपछि यो माहोलमा परिवर्तन आउने विश्वास व्यक्त गरेका आयोगले इलेक्सन बुलेटिनमा जनाएको छ । 

प्रमुख आयुक्त थपलियाले संसारभरिको अभ्यासबाट निर्वाचनमा गरिने खर्च अनुत्पादक हुने देखिएको विश्लेषण गर्दै आयोगले निर्वाचनलाई मितव्ययी बनाउने क्रममा निजी व्यवसायीलाई असर परेको भए क्षमा गरिदिन आग्रह गरे । प्रमुख आयुक्त थपलियाले मतदानका दिन अत्यावश्क क्षेत्रका सवारी साधनका साथै आवश्यकता र औचित्यताका आधारमा अन्य सवारी साधनलाई व्यवस्थित र नियन्त्रितरूपमा सञ्चालन गर्न दिने विषयमा गृहकार्य भइरहेको बताए । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्र ढकालले निर्वाचन सफल बनाउने सन्दर्भमा आयोगले निजी व्यवसायीहरुलाई पनि सम्झिएकामा खुसी प्रकट गरे । उनले आफ्नो संयन्त्रमार्फत आयोगको आग्रह कार्यान्वयन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यसअघिको स्थानीय निर्वाचनमा मतपत्रमा धेरै निर्वाचन चिह्नहरू हुँदा मतदाता सही ढंगले मतदान गर्नेबारे अन्योलमा परेको उल्लेख गर्दै उनले यसपटक निर्वाचन आयोगले मतपत्रमा गरेको फेरबदलले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे । 

कान्तिपुर

Link copied successfully