सरकार नेतृत्वका लागि आफूलाई निर्वाचित गर्न थापाको आग्रह

कार्तिक २२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा नेतृत्व परिवर्तनका लागि आफूलाई संसद्‍मा निर्वाचित गरेर पठाउन आग्रह गरेका छन् । उनले आफू सांसद निर्वाचित भए संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने बताएका हुन् । जसको माध्यमबाट सरकारको नेतृत्वमा पनि आफ्नो दाबी रहने उनको भनाइ छ । 

कांग्रेसको काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिले मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजना गरेको कार्यक्रममा थापाले आफू संसदीय दल र सरकारको नेतृत्व दाबी गर्ने बताएका हुन् । सरकार र संसदीय दलको नेतृत्व परिवर्तन गर्नका लागि काठमाडौं क्षेत्र नम्बर ४ का मतदाताले जिताउनुपर्ने उनको भनाइ छ । त्यसका लागि लाग्न काठमाडौं ४ का अगुवाहरूलाई उनले आग्रह गरेका थिए । 

महामन्त्री थापाले संसदीय व्यवस्थामा संसद्मा जितेमात्रै संसदीय दलमा निर्वाचन लड्न पाउने भएकाले त्यसका लागि आफूलाई निर्वाचित गराउन सबैले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । आफूलाई सांसदमा निर्वाचन गराएर पठाए १० वर्षमा मुलुकको राजनीतिलाई पूरै सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । ‘ठूलो मतदाताले काठमाडौंमा राजनीतिक नेतृत्वको बदलाव खोजिरहनु भएको छ । तर, राजनीतिक यथार्थ के छ ? राजनीतिक यथार्थ यो पटक निर्वाचन पछाडि कुनै पनि नेपालको ठूलो राजनीतिक दलको संसदीय लदको चुनाव समेत पनि हुनेवाला छैन । म अरु दलको बारेमा चर्चा गर्दिनँ । प्रत्येक दलका आ–आफ्नो विशेषता हुन्छ, आ–आफ्नै चरित्र हुन्छ । तर, मैले बुझेको कुनै पनि दलको संसदीय दलको निर्वाचन हुनेछैन । भयो भने जम्मा एउटामा हुन्छ । कांग्रेसमा हुन्छ । कांग्रेसमा पनि कतिखेर हुन्छ ? कांग्रेसमा पनि एउटा अवस्थामा मात्रै चुनाव हुन्छ, क्षेत्र नम्बर ४ बाट तपाईंले चुनाव लड्ने मान्छे जिताएर पठाई दिनुभयो भने बल्ल चुनाव हुन्छ । नभए त्यहाँ पनि हुँदैन,' उनले भने, 'देशमा ठूलो परिवर्तन सबैलाई चाहिएको छ । राजनीतिक नेतृत्व परिवर्तन गर्ने भनेको कि पार्टीको महाधिवेशन हो कि त्यही संसदीय दल हो । जहाँनेर प्रतिस्पर्धा गर्ने हो त्यो प्रतिस्पर्धा नै भएन भने चाँही परिणाम कहाँबाट आउने हो ? अनि, त्यो प्रतिष्पर्धा गर्ने, लडाइँ लडने मान्छे चाहिएला नि पहिला । मेरो प्रस्ताव विश्वप्रकाश शर्मा झापाबाट जितेर आउनुपर्ला । उम्मेदवार जित्ने मान्छे जितेर जानुपर्ला । अनि बल्ल लडाईं होला । लडाईं भएन न परिणाम आउने सम्भावना बाँकी रहला !'

राजनीतिमा परिवर्तन संसदीय व्यवस्थामा नै सम्भव भएको थापाको भनाइ थियो । मतदाताले सांसद चुन्ने र सांसदले प्रधानमन्त्री चुन्ने भएकाले राम्रो व्यक्तिलाई सांसद निर्वाचित गर्न उनको आग्रह थियो । 'मेरो मतदातालाई गएर तपाईंले यो कुरा बताईदिनुपर्नेछ, जो परिवर्तनको पक्षमा छन । भनिदिनुपर्नेछ, कुरा बुझाइदिनुपर्नेछ । तपाईं आफैं हुनुहुन्छ त्यो ठाउँमा । तपाईं गइदिनुपर्नेछ,' उनले भने ।

महामन्त्री थापाले अबको निर्वाचनपछि पनि मतदाताको प्रतिष्ठा राख्ने काम सांसदहरूले नगरे मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थानै नरहने चेतावनी पनि दिएका छन् । जनप्रतिनिधिहरूले अब पनि मतदाताहरूमाथि निर्वाचनमा गरेको बाचा अनुसार काम नगरे उनीहरूले फेरि चुनाव लड्न नपाउने पनि उनले बताए । 

‘बहुमत ल्याउन चाहन्छौं । बहुमत किन ल्याउन चाहन्छौं ? स्थिर सरकार चलाउन चाहन्छौं । स्थिर सरकार किन चलाउन चाहन्छौं ? हामी जनतासँग गरिएका बाचाहरू पूरा गर्न चाहन्छौं । जनतालाई निराशाबाट बाहिर ल्याउन चाहन्छौं,' थापाले भने, 'जनजीविकासँग जोडिएका विषयहरूलाई सम्बोधन गर्न चाहन्छौं । यसका निम्ति हामी एक ठाउँमा हो । यसलाई हामी प्रयोग गर्न चाहन्छौं । म क्षेत्र नम्बर ४ बाट निर्वाचन भएर संसदको त्यो समूहमा जाँदैगर्दा मैले निर्वाह गर्ने कर्तव्य यही हो ।'

नागरिकमा निराशा छाएको भन्दै आशा जगाउने गरी काम गर्न नसकिए आक्रोश छाउने र मुलुक बर्बाद हुने थापाको भनाइ थियो । 

कान्तिपुर

Link copied successfully