काठमाडौँ — त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास)ले आसन्न निर्वाचनबारे अध्ययन थालेको छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि दोस्रो पटक निर्वाचनबारे अध्ययन गर्न लागेको हो । सिनासले यसअघि २०५४ सालको स्थानीय निर्वाचनको अध्ययन गरेको थियो ।
नेपालको निर्वाचनबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय दृष्टिकोण निर्माणमा सघाउन पुर्याउने अध्ययनमा जुटेको सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले बताए । उनका अनुसार २००७ सालको परिवर्तनपछि अहिले आठौं पटक बहुदलीय प्रतिस्पर्धाको निर्वाचन हुँदैछ ।
‘हाम्रो अध्ययन लोकतन्त्रको व्यापीकरण केन्द्रित हुनेछ,’अध्ययन टोलीका संयोजक रहेका कार्कीले कान्तिपुरसित भने, ‘संविधानले दिएको अधिकारलाई कुन क्षेत्र, जाति, समुदायले अधिकार प्राप्तिका निम्ति राजनीतिकरूपमा कसरी उपयोग गर्दै आएका छन् । त्यसरी लोकतन्त्र सवलीकरणको पक्षमा भएका गतिविधि र परिणामबारे अध्ययनकेन्द्रित गरिनेछ ।’ राजनीतिक अधिकार प्राप्तिका समुदायले उठाएका भाषा, संस्कृति, क्षेत्रलगायत मुद्दाप्रति प्रमुख राजनीतिक दलहरूको धारणा र ती मुद्दा सम्बोधनमा देखाएका चासोबारे केलाइने छ ।
अध्ययन टोलीले निर्वाचन प्रणालीमा संलग्न राजनीतिक दल र तिनका घोषणापत्र, स्थलगत रूपमा भए/गरिएका राजनीतिक गतिविधिहरूबारे केलाउने छ । अध्ययनलाई तीन चरणमा विभाजन गरिएको कार्यकारी निर्देशक कार्कीले जनाए । ‘राजनीतिक गठबन्धनको निर्माण र विनिर्माणलाई मध्यनजर गरिने छ,’कार्कीले भने, ‘निर्वाचन प्रक्रियामा उम्मेदवारी नोमिनेसनदेखि अन्तिम परिणामलाई नियालिने छ । र, परिणामपछि गठबन्धनको स्वरूप के कसरी बदलिन्छ, त्यो नै मुख्य चासोको विषय हुनेछ ।’
अध्ययन टोलीले सातै प्रदेशको परिणामलाई केलाउने छ । चुनावको समयमा मधेस प्रदेशमा स्थलगतरूपमा खटिने जनाइएको छ । अध्ययन कार्यमा त्रिविका आंगिक क्याम्पसमा प्राध्यापनरत राजनीतिशास्त्र र समाजशास्त्रका प्राध्यापकहरू संलग्न रहने छन् ।
