उम्मेदवार : जित्नुअघि आश्वासन, जितेपछि बेवास्ता

कार्तिक २०, २०७९

वीरेन्द्र केसी

अर्घाखाँची — चुनावताका उम्मेदवारले मत माग्दा बोलेका वाचा सांसद भएपछि गरून् भन्ने पाणिनि बहुमुखी क्याम्पस प्रमुख बुद्धिराम भुसाललाई छ ।  तर, चुनावअघिको बोलाइ र चुनावपछिको गराइमा फरक हुँदा सबै मतदाता निराश हुने गरेको उनी बताउँछन् ।

‘जनताको आधारभूत आवश्यकता, रोजगारी, शिक्षा र स्वास्थ्यमा ध्यान गएन,’ उनले भने, ‘निर्माणमा सांसद र जनप्रतिनधिको रुची बढी भयो । २०४५ सालमा निर्माण भएको गोरुसिंगे–सन्धिखर्क सडकको अवस्थातिर ध्यान गएन । अहिलेसम्म दुई लेनमा भएन, यात्रा जोखिमपूर्ण नै छ ।’ 

जित्नका लागि मत माग्दा धेरै आश्वासन हुन्छ । के बोलेर मत खस्छ, बोलिहाल्छन्, पछि त्यो गर्न सकिँदैन । त्यसैले यो चुनावमा खासै मतदाताप्रति उत्साह देखिँदैन । ‘गाउँमा एउटा योजना सञ्चालन भएको हुन्छ, सरकार फेरिँदा त्यसमा काटिन्छ, पुरा हुँदैन, वर्षौसम्म अलपल रहन्छ,’ उनले भने, ‘त्यहाँको आवश्यकता हो कि होइन, कुनै पहिचान हुँदैन । आफ्ना कार्यकर्ता भएको ठाउँमा बजेट धेरै हाल्ने र नभएकोमा शून्य पारिदिने गर्नाले बजेटको समेत सही सदुपयोग हुन सकेको छैन ।’ युवाहरू बर्सेनि विदेसिएका छन् । उनीहरूलाई रोक्न स्वरोजगार नारा चुनावमा जोडतोडले उठ्छन् । तर, त्यसप्रति बजेटभन्दा भत्काउने र निर्माण गर्नेमा जोड हुन्छ । युवालाई स्वरोजगार बनाउन पूर्वाधार तयार गर्नेमा नेताको ध्यान कम भएको उनले बताए । अधिकांश नेताहरूको बानी नै बोल्ने एकातिर गर्ने अर्काेतिर भएका कारण पनि मतदातालाई निर्वाचनको उत्साह र रौनक अहिलेसम्म छैन । 

अझै पनि जनताका आधारभूत आवश्यकता गाँस, बास र कपास पूरा हुन नसकेको तर्क अधिवक्ता जगन्नाथ भुसालको छ । ‘पहिलो सामान शिक्षा, रोजगार, स्वास्थ्य, खानेपानी लगायतका अत्यावश्यक आवश्यकता पूरा गर्न बजेट हुनुपर्छ,’ उनले भने, ‘अर्घाखाँचीमा यो समस्या छ । खाली भत्काउने र निर्माण गर्नेमै ध्यान भयो । स्थानीय तहका जनप्रतिनिधि र सांसदको विकास गर्ने मोडलको तरिका नै अनुपयुक्त छ ।’ चुनावमा घरैपिच्छे रोजगारी, केवलकार निर्माणजस्ता नारा उम्मेदवारले लगाउँछन् । 

‘जसरी चुनाव जितिहाल्नु पर्‍यो भन्ने मानसिकताले गर्नै नसक्ने काम पनि फ्याट्ट बोल्दिहाल्ने गर्छन्,’ उनले भने, ‘जितेपछि भोट माग्दा आफूले बोलेका कुरामा चासो नदिने गर्छन् । मालारानी, पाणिनि गाउँपालिकाले कोल्डस्टोर निर्माण गर्‍यो, अहिले ती खाली छन् । स्टोर भर्ने तरकारी, खाद्यवस्तु खै ? वस्तुस्थिति अध्ययन बिना हुने विकास अर्थपूर्ण छैन ।’ गाउँमा नेताको पहुँचको आधारमा धेरै बाटो खनिए । त्यस्ता सडक अहिले भत्किएर नाम निशाना नै हराइसके । वैदेशिक रोजगारीमा फर्किएका युवाले आफ्नो ढंगले कृषि फार्म खोलेका छन् । विदेश जान लागेको युवालाई सरकारले रोक्यो र यही उद्यममा लगायो भन्ने छैन । अहिले बाटो पिच र ग्राभेल गर्ने, खानेपानीको धारा बनाएर घरघरमा पानी, घरैपिच्छे रोजगारी, वर्षौंदेखि सम्पन्न नभएको अधुरा सडकलाई आफूले गरेको भनेर जस लिने र चुुनावमा भोट माग्नेको होडबाजी नै छ । 

२०६४ सालदेखि गाउँमा बाँदर धपाइदिन्छौं भोट दिनुस् भनेर उम्मेदवार थाकेका छैनन् । ‘भोट दिनुस् बाँदरमुक्त गाउँ बनाइदिन्छौं भन्छन् । जितेर गएपछि चासो दिँदैनन्,’ बल्कोटकी शारदा खनालले भनिन्, ‘गाउँमा आएको बेला र फोनमा खै बाँदर धपाइदिएको भन्दा यसोउसो भनेर टार्छन् । अहिले पनि छत्रदेवतिर उम्मेदवारको मुख्य नारा नै यही छ । कृषि उद्यमबाट स्वरोजगार बनाउँछौं भनेर नारा घन्काउँदा उत्पादन गरेको वस्तु बाँदरले सखाप पारिदिएपछि कसरी युवालाई स्वरोजगार बनाउँछन् ।’ चुनाव जित्नलाई ठूला आश्वासन दिए पनि ती अहिलेसम्म पूरा नभएको उनले बताइन् ।

वीरेन्द्र

Link copied successfully