कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेससँग हाम्रो गठबन्धन शान्ति सम्झौतादेखिकै हो : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको सत्तारुढ गठबन्धनलाई अहिले भर्खरै मात्र बनेको भनेर बुझ्नु गलत हुने बताएका छन् । उनले नेपाली कांग्रेस र माओवादीका बीचमा १२ बुँदे शान्ति सम्झौता हुँदा देखि नै सहकार्यको बातावरण बनेको र अहिलेको गठबन्धन त्यसैको निरन्तरता भएको बताए । दाहालले आसन्न निर्वाचनलाई सामान्य चुनावको रुपमा मात्रै लिन नहुने दाबी गरे ।

कांग्रेससँग हाम्रो गठबन्धन शान्ति सम्झौतादेखिकै हो : दाहाल

‘यो एउटा चुनावमात्रै होइन, यो यो अग्रगमन र प्रतिगमनका बीचको प्रतिस्पर्धा हो,’ शुक्रबार काठमाडौं क्षेत्र नं. ७ मा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘त्यसकारण संविधान र लोकतन्त्रको रक्षा, संविधानमा संशोधन र कार्यान्वयन तथा मुलुकको समग्र विकासको निम्ति गठबन्धनलाई जिताउन आग्रह गर्दछु ।’ अध्यक्ष दाहालले गठबन्धनका बारेमा फैलाइएका भ्रमका पछि नलाग्न समेत आग्रह गरे ।

उनले अहिले आफूले कांग्रेसका तत्कालिन सभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई स्मरण गरिरहेको बताए ।

‘हामीले यो गठबन्धन अहिलेमात्रै बनेको जस्तो गरेर बुझ्नु पनि गलत हुन्छ । नेपाली कांग्रेस र माओवादीका बीचमा विगतमा पनि गठबन्धन भएको उदाहरण छ । विस्तृत शान्ति सम्झौताको जग नै त्यही गठबन्धन हो,’ उनले भने, ‘म गिरिजाप्रसाद कोइरालालाई सम्झिन्छु, किनकि त्यतिबेला हामीबीचमा जुन सहकार्य भयो, त्यही सहकार्यले यो मुलुकलाई शान्ति, संविधान, विकास र समृद्धिको नयाँ दिशातिर अघि बढाएको थियो ।’

उनले अहिले पनि त्यही प्रक्रियाको निरन्तरताकोरुपमै गठबन्धन बनेको दाबी गरे । ‘यो गठबन्धन विगतकै उदेश्यमा आधारित हो । किनकि त्यही १२ बुँदे शान्ति सम्झौताको जगमा संविधान बन्यो । त्यही संविधानको रक्षा र कार्यान्वयनका लागि यो गठबन्धन अघि बढेको छ,’ उनले भने । कार्यक्रममा दाहालले यहाँबाट सत्ता गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईको प्रशंसा गरे ।

‘मानुषी क्षमतावन्, डायनामिक लिडर हुनुहुन्छ । उहाँ यही जन्मिएर यही हुर्किएर यहाँसम्म पुग्नुभएको छ,’ दाहालले भने, ‘अहिलेको व्यवस्था र लोकतन्त्रको रक्षा, संविधानको कार्यान्वयनका लागि उहाँलाई प्रतिनिधिसभामा पुर्‍याउन आवश्यक छ ।’

प्रकाशित : कार्तिक ४, २०७९ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?