कपिलवस्तु — प्रमुख राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभातर्फ महिलालाई टिकट दिन कन्जुस्याइँ गरेका छन् । मंसिर ४ मा तोकिएको निर्वाचनमा जिल्लामा ८ प्रतिशत मात्रै महिला उम्मेदवार छन् । सत्ता गठबन्धन, एमाले, जसपा र लोसपालगायतले महिलालाई अघि सारेका छैनन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा १ सय ४३ उम्मेदवार चुनावी मैदानमा छन् । यीमध्ये ७८ जना विभिन्न दलका उम्मेदवार हुन् । ६५ जना स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाका ३ निर्वाचन क्षेत्रमा पाँच मात्र महिला उम्मेदवार छन् । प्रदेशसभाका ६ निर्वाचन क्षेत्रमा ६ महिला उम्मेदवार छन् । ११ मध्ये कोही पनि प्रमुख राजनीतिक दलका उम्मेदवार छैनन् ।
पार्टीभित्र महिलाले टिकटका लागि दाबी छ भनेर प्रस्ताव नै राख्न नपाएको महिला संघकी जिल्ला नेतृ सुमित्रा शर्माले बताइन् । ‘राजनीतिमै जीवन व्यतीत गरेका महिलाले निर्वाचनमा भाग लिने तीव्र इच्छा देखाएका थिए,’ उनले भनिन्, ‘तर, पार्टीका पुरुष सहकर्मीहरूले समानुपातिकमा राख्ने भन्दै थुमथुमाए । पछि त्यहाँ पनि राखेनन् ।’
क्षेत्र नं. १ मा २१ उम्मेदवार छन् । दुई महिला छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४८ वर्षीया सन्जुसिंह विष्ट र स्वतन्त्र उम्मेदवार ४४ वर्षीया गीतादेवी पौडेल चुनावी मैदानमा छन् । प्रदेश सभा १ (१) मा ९ उम्मेदवार छन् । तीमध्ये एकमात्र ४० वर्षीया विमला परियार स्वतन्त्र महिला उम्मेदवार बनेकी छन् । कपिलवस्तु १ (२) मा १८ उम्मेदवार छन् । तीमध्ये मंगोल नेसनल अर्गनाइजेसनकी ४६ वर्षीया लक्ष्मी नेपाली मात्रै महिला उम्मेदवार हुन् । संसदीय निर्वाचन क्षेत्र नं २ मा ११ उम्मेदवार छन् । तीमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीकी ३० वर्षीया सविता शर्मा एक्ली महिला उम्मेदवार छन् । प्रदेशसभा २ (१) मा १२ उम्मेदवार छन् । तीमध्ये एक जना पनि महिला उम्मेदवार छैनन् ।
प्रदेशसभा २ (२) मा १० उम्मेदवार छन् । तीमध्ये ६२ वर्षीया कबुतरी बरइनी स्वतन्त्र उम्मेदवार छन् । संसदीय निर्वाचन क्षेत्र नं. ३ मा १८ उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये नेपाल जनता पार्टीबाट ५८ वर्षीया गीता शुक्ला र स्वतन्त्रबाट ३८ वर्षीया आरती रजौरिया भुसाल दुई महिला उम्मेदवार छन् । प्रदेशसभा ३ (१) मा १९ जना उम्मेदवार छन् । तीमध्ये नेपाल जनता पार्टीबाट ५६ वर्षीया कान्ति गोसाइन र स्वतन्त्रबाट ४४ वर्षीया लक्ष्मी हमालले उम्मेदवारी दिएकी छन् । प्रदेशसभा ३ (२) मा २५ उम्मेदवार छन् । तीमध्ये मंगोल नेसनल अर्गनाइजेसनकी ३३ वर्षीया तनमति रोकामगर एक मात्र महिला उम्मेदवार हुन् ।
गठबन्धनबाट पुरुष नेताको निर्वाचन क्षेत्र सुरक्षित हुँदा महिला उम्मेदवार बन्नबाट वञ्चित भएको अधिकारकर्मी रवि ठाकुरले बताए । अवसर पाएका महिलामा पनि नेताका आसेपासे र पहुँचवाला नै हाबी हुँदा निष्ठा र आदर्शको राजनीति गर्ने पछि परिरहेको उनको भनाइ छ । नेताले आफूअनुकूलको कानुन बनाउँदा सक्रिय राजनीतिमा रहेका गरिब, विपन्न र दलित महिला प्रत्यक्ष निर्वाचनमा सहभागी हुनबाटै वञ्चित भएको अर्का अधिकारकर्मी आरडी ठाकुरले सुनाए । संविधानले प्रतिनिधिसभा र प्रदेशसभामा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।
