अर्घाखाँची — अघिल्ला चुनावताका शितगंगा नगरपालिका–१४ को दुर्गम बस्ती कँरेंचुलीका थर्कबहादुर पाण्डे अबदेखि वर्षायाममा पनि गाडी चढेरै बजार आउजाउ गर्न पाइने भयो भनेर फुरुङ्ग थिए । गाउँ आएका उम्मेदवारले हिउँद/वर्षामा पनि सरर गाडी चल्ने बाटो बनाइदिन्छौं, बाटो ग्राभेल र पिच गरिदिन्छौं भन्दा उनले पत्याएका थिए ।
तर, यो वर्षामा पनि कच्ची बाटा सबै भत्किए । उनीसहित धेरै स्थानीय सामान्य बिरामी पर्दा पनि उपचारका लागि कपिलवस्तुको पिपरा, बुटवल जान डोको र डोलीको भरमा घण्टौं पैदल हिँड्नुपर्ने बाध्यता हटेन ।
‘यो वर्षामा यति आपत् पर्यो कि न स्वास्थ्य चौकीमा सिटामोल पाइयो, न अस्पताल जाने बाटो नै खुल्यो,’ उनले भने, ‘बिरामीलाई घरबाट गाडी चल्ने बाटोसम्म लैजान डोको र डोलीमा बोकेर तीन/चार घण्टा हिँड्नुपर्यो । त्यही बाटो पनि हिलाम्मे, कहाँ बाढीपहिरोले च्याप्छ भन्ने त्रास भयो ।’
यसअघिका सबैजसो चुनावमा ‘बाटो बनाइदिन्छौं, अबदेखि दुःख हुँदैन’ भनेर उम्मेदवारहरू गाउँमा आएर भोट मागेको उनलाई सम्झना छ । गत स्थानीय चुनावमा पनि त्यही कुरा दोहोरियो । मंसिर ४ मा तोकिएको चुनाव नजिकिँदै गर्दा फेरि उही नारा लागेको छ । ‘भोट माग्दा सडक अहिल्यै पिच हुन्छ कि भन्ने गरी उम्मेदवारले भाषण गर्छन् तर बन्छ कहिले ? हामीलाई पत्यार लाग्न छाड्यो,’ उनले भने । बस्ती दुर्गम छ । यहाँ चुनावका बेला नेता देखिन्छन्, अरू बेला झुल्किँदैनन् । ‘गर्न नसक्ने काम उम्मेदवारले किन गरिदिन्छौं भनेर जनतालाई झूट बोलेर भोट माग्ने ?’ उनको प्रश्न छ, ‘जितेपछि कँरेंचुली गाउँले नेताको मुखै देख्न पाउँदैन ।’
चारैतिर जंगलले घेरेको कँरेंचुलीमा खानेपानीको पनि संकट छ । ‘विद्यार्थीले घरबाटै बोतलमा पानी बोकेर विद्यालय जान्छन्, धारो छैन, कुवाबाट गाग्रीमा पानी बोक्ने हो,’ स्थानीय शकुन्तला सारुले भनिन्, ‘पञ्चायतकालदेखि खानेपानी, सडक, स्वास्थ्य, मोटरबाटोका नारा उम्मेदवारले घोकाइरहन्छन् । एकैपटक सबै काम पूरा गरिदिन्छौं भनेर भोट मागेर जित्छन् । त्यसपछि वर्षौंसम्म गाउँमा देखिँदैनन् । एउटै योजनाको विकास पनि वर्षौंसम्म पूरा हुँदैन ।’
विक्रमसोताबाट कँरेंचुलीसम्म सडक ल्याउन वर्षौं लाग्यो । हिउँदमा धूलेबाटोमा गाडी चले पनि वर्षामा सडक भत्केर पूरै ठप्प हुन्छ । त्यतिबेला बिरामी परे उपचार पाइँदैन । गरिब परिवार त भगवान् भरोसा भन्दै बस्ने गरेका अर्की स्थानीय सीता पाण्डेले सुनाइन् । हो । अहिलेसम्म नेताहरूले आश्वासन मात्रै बाँडेकोमा उनी आक्रोश पोख्छिन् । ‘अहिलेसम्म होला कि भन्दै आशा गर्दै भोट दिइयो,’ उनले भनिन्, ‘यसपालि गफ गर्नेलाई होइन, जसले दुर्गम बस्तीको दुःख, पीडा, भावना बुझ्छ, त्यस्तालाई भोट दिने हो ।’
जितेपछि बरू सांसद गाउँमा नआए पनि हुन्छ, तर चुनावमा बोलेका वाचा पूरा गर्ने, विकास योजनामा बजेट पठाइदिने नेतालाई यसपालि खुलेर मत दिने उनले सुनाइन् । ‘राजनीतिप्रति हामीलाई चासो छैन,’ उनले भनिन्, ‘सुगममा जस्तै विकास गरिदिएर दुर्गम गाउँको अवस्था बदलिदिने नेतालाई समर्थन गर्ने हो ।’
