मोरङ — पहिलो प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार थियो । ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये एमालेले ३६ र माओवादी केन्द्रले ११ गरी ४७ वटा क्षेत्रमा वाम गठबन्धनले जितेको थियो । कांग्रेसले ८ र तत्कालीन संघीय समाजवादी फोरमले १ क्षेत्र मात्र जितेको थियो । ३७ समानुपातिक प्रदेश सांसदमध्ये एमालेले १५, माओवादीले ५, कांग्रेसले १३, संघीय समाजवादीले २, राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले १/१ प्रदेश सांसद पाएका थिए ।
९३ सदस्यीय प्रदेशसभामा वाम गठबन्धनका एमाले र माओवादीले संयुक्त सरकार निर्माण गरेका थिए । प्रत्यक्ष र समानुपातिक गरी एमालेको ५१ प्रदेश सांसद पुगेको थियो । जुन सरकार बनाउनका लागि पर्याप्त थियो । तर १६ प्रदेश सांसद पाएका माओवादी र एमालेको गरी प्रदेशसभामा दुई तिहाइभन्दा बढी ६७ सांसदको बलमा गठन भएको एमाले नेतृत्वको सरकारले प्रदेशमा राजनीतिक स्थायित्व हुनेमा प्रदेशवासी ढुक्क थिए ।
निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीचको पार्टी एकीकरण भई बनेको नेकपाकै सरकारले पाँच वर्ष जनभावनाअनुसार काम गर्नेमा प्रदेशवासी आशावादी थिए । तर नेकपाको विभाजनसँगै एमालेबाट पनि टुक्रिएर नेकपा (एकीकृत समाजवादी) अलग्गिएपछि न नेकपा सरकार रह्यो, न त एमालेले नै सरकार बनाउन सक्यो । साढे तीन वर्षमै नेकपा सरकार ढलेपछि प्रतिपक्षी कांग्रेस, संघीय समाजवादी, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले माओवादी र एससँग गठबन्धन गर्दै नयाँ सरकार बनाए । तर राजनीतिक स्थायित्व भने धरापमा पर्यो ।
भागबन्डा पुर्याएर सरकार बचाउने खेलोमा मन्त्रालय ७ वटाबाट १३ वटा पुर्याइयो । प्रदेश सरकारको धान्नै नसक्ने खर्चले प्रदेशवासीलाई निराश बनायो । यही निराशाका बीच दोस्रो प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरू यतिबेला चुनावी मैदानमा छन् । अब कस्तो प्रदेश सरकार बन्छ ? के अब बन्ने प्रदेश सरकारले प्रदेशको नामकरणसँगै राजनीतिक स्थायित्व दिएर जनभावनाअनुसार विकास निर्माण, बेरोजगारी समस्या समाधान, आत्मनिर्भर समृद्ध प्रदेश निर्माणलगायतका काम अघि बढाउलान् ? यी यस्ता प्रश्नहरू यतिबेला राजनीतिक चिन्तकबीच बहसको विषय बनेको छ ।
पहिलो प्रदेशसभामा दलहरूले अधिकांश दोस्रो तहका नेताहरूलाई प्रदेश सांसदमा पठाएका थिए । तर यस पटकको निर्वाचनमा प्रमुख दलहरूले केन्द्रीयस्तरका र प्रभावशाली युवा नेतालाई प्रदेशसभा सदस्यमा उठाएका छन् । जसले जिल्ला र क्षेत्रहरूमा प्रतिनिधिसभाभन्दा प्रदेशसभाका उम्मेदवारहरू नै मतदातामाझ चासो र चर्चाको विषय बनेका छन् ।
यस प्रदेशका मुख्यमन्त्री तथा एसका सचिव राजेन्द्रकुमार राईलगायत ८ मन्त्री, निवर्तमान उपसभामुख सरस्वती पोखरेलसँगै पहिलो प्रदेशसभाको अनुभव प्राप्त गरिसकेका २८ निवर्तमान प्रदेश सांसद चुनावी प्रतिस्पर्धामा छन् । भोजपुर १ (२) बाट उम्मेदवार भएका मुख्यमन्त्री राईसँग एमालेका दोस्रो कार्यकाल केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हरिबहादुर राई चुनावी प्रतिस्पर्धामा छन् । भोजपुर १ (१) मा गठबन्धन दलबाट कांग्रेसका जिल्ला सभापति विनोद राईसँग एमालेका अनुभवी नेता खड्गबहादुर कार्की प्रतिस्पर्धामा उत्रेका हुन् ।
पाँचथर १ (२) मा साढे ४ वर्ष आर्थिक मामिला तथा योजनामन्त्री भएका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य इन्द्रबहादुर आङ्बोसँग एमालेको केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य आइन्द्र सुन्दर नेम्वाङको प्रतिस्पर्धा हुँदै छ । पाँचथर १ (१) मा गठबन्धन दलबाट नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष कमलप्रसाद जबेगू र एमालेका जिल्ला अध्यक्ष राजकुमार भण्डारीबीच रोचक चुनावी प्रतिस्पर्धा हुँदै छ । झापामा पनि प्रदेशसभाका उम्मेदवार कारण निर्वाचन रोचक बनेको छ । झापा ४ (१) कृषिमन्त्री तथा माओवादीका केन्द्रीय सदस्य झलकबहादुर मगर र एमालेका राधाकृष्ण खनाल, झापा ५ (१) मा पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री तथा एमालेका केन्द्रीय सदस्य हिक्मतकुमार कार्की र कांग्रेसका जीवनकुमार राईबीच प्रतिस्पर्धा छ ।
उदयपुर १ (२) मा सडक पूर्वाधार तथा सहरी विकासमन्त्री तथा कांग्रेसका दोस्रोपटक उदयपुर जिल्ला सभापति भएका हिमाल कार्की र एमालेका ईश्वरमणि राउत, मोरङ ६ (२) मा कांग्रेसका युवा नेता आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की र एमालेका युवा नेता पर्शुराम भन्ने कृष्ण बस्नेतबीच प्रतिस्पर्धा छ । मोरङ १ (२) मा एकीकृत समाजवादीका यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे र एमालेबाट पूर्वजिल्ला विकास समिति सभापति खड्गबहादुर बस्नेत चुनावी मैदानमा छन् । मोरङ ५ (२) मा जसपाबाट केन्द्रीय सदस्य संविधानसभा सदस्य तथा स्वास्थ्यमन्त्री जयराम यादव र कांग्रेसबाट केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अमृत अर्याल चुनावी दौडमा छन् ।
मोरङ क्षेत्र ४ (१) मा गठबन्धन दलबाट कांग्रेसका प्रभावशाली नेता गुरुराज घिमिरे र ग्रामीण विकासविज्ञ एमालेका जयप्रकाश चौधरी, मोरङ ४ (२) मा कांग्रेसका केन्द्रीय सदस्य तथा विराटनगर महानगरका पूर्वप्रमुख भीम पराजुली र एमालेका केन्द्रीय सदस्य जीवन घिमिरे भिड्दै छन् । सुनसरी २ (२) बाट प्रदेशसभाका कांग्रेसका निवर्तमान संसदीय दलका नेता तथा पार्टीका केन्द्रीय सदस्य राजीव कोइराला र एमालेका प्रभावशाली नेता रामप्रसाद महतो, ओखलढुंगा १ (१) मा गठबन्धन दलबाट कांग्रेसका केन्द्रीय सदस्य प्रदीप सुनुवार र एमालेका निर्वतमान प्रदेश सांसद तथा पूर्वमन्त्री अम्बिरबाबु गुरुङ भोट माग्दै छन् । ओखलढुंगा (२) मा गठबन्धनबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य बाबुराम गौतम र एमाले नेता ज्ञानबहादुर खड्का प्रतिस्पर्धामा छन् ।
यी उम्मेदवारहरूले राष्ट्रिय राजनीतिक मुद्दासँगै प्रदेशको विकास, बेरोजगारी समस्या समाधान, नदी, बाढी, पहिरो नियन्त्रण, सामाजिक न्याय, समाजवादी आर्थिक नीतिसहित आत्मनिर्भर समृद्ध प्रदेश निर्माणको स्पष्ट खाकासहित चुनावी प्रचारमा छन् । ५६ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धन दलबाट कांग्रेसका २६, माओवादीका १९ र एसका ११ जना उम्मेदवार चुनावी परीक्षा दिँदै छन् । विपक्षी गठबन्धनबाट एमालेका ५२ र राप्रपा र जसपाका २/२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
स्थानीय तहमा प्राप्त गरेको मतका आधारमा अधिकांश प्रदेश निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन नै अगाडि छ । तर बागी उम्मेदवारीले प्रदेशसभामा एमाले पनि आशावादी छ । तर एमाले गठबन्धनलाई सरकार बनाउने जनादेश प्राप्त हुने अवस्था नरहेको जिल्लाका प्रमुख नेताहरू बताउँछन् । तर गठबन्धन दलको सरकार भइहालेमा पनि राजनीतिक स्थायित्व हुनेमा भने प्रदेशवासी ढुक्क छैनन् ।
राजनीतिक विश्लेषक प्राध्यापक भेषप्रसाद धमलाले संघीयता कार्यान्वयनका लागि बलियो र ५ वर्षसम्मका लागि स्थायी सरकार आवश्यक भएको तर अहिलेको चुनावी माहौलले त्यसमा आफू आशावादी नभएको बताउँछन् । उनले अब पनि नेताहरू पालैपालो मुख्यमन्त्री र मन्त्री बनेर सत्ता स्वार्थपूर्तिकै खेलमा लाग्ने अवस्था देखिएको बताए ।
प्रदेशलाई आत्मनिर्भर बनाएर संघीयताको मर्मअनुसार काम गर्न बलियो सरकार आवश्यक रहेको तर सत्ता र विपक्षी गठबन्धनको खेलले त्यो सम्भव नदेखिएको प्रस्ट रहेको धमलाको बुझाइ छ । दुई तिहाइभन्दा बढी हैसियतको नेकपा सरकारले ५ वर्षे कार्यकाल पूरा गर्न नसकेको अवस्थामा गठबन्धन दलको सरकार बने पनि कार्यकाल पूरा गर्छ भन्नेमा अहिले नै विश्वास गर्ने अवस्था नरहेको उनको आकलन छ । पहिलो प्रदेशसभामा एमालेबाट शेरधन राई र भीमप्रसाद आचार्य र एसबाट राजेन्द्रकुमार राई गरी तीन जना मुख्यमन्त्री भएका हुन् ।
यस प्रदेशको पहिलो प्रदेशसभामा भूगोल र पहिचानको पक्षमा दलहरूभित्रै प्रदेश सांसदहरू विभाजित भएर प्रदेशको नामकरण थाती नै रहेकाले पनि प्रदेशसभाको निर्वाचन रोचक बनेको छ । अघिल्लो प्रदेशसभामा हरेक दलका आदिवासी जनजाति प्रदेश सांसदहरू पहिचान र ब्राह्मण, क्षेत्री, मधेसी र मुस्लिम समुदायका प्रदेश सांसद भूगोलका आधारमा प्रदेश नामकरण हुनुपर्नेमा विभाजन भएका थिए । भूगोल पक्षधरभन्दा पहिचान पक्षधरका प्रदेश सांसदहरूको संख्या पहिलो प्रदेशसभामा बढी भएको तर दुई तिहाइ नभएकाले नै प्रदेशको नामकरण थाती रह्यो ।
अघिल्लो प्रदेशसभामा क्षेत्री/बाहुन ३४, राई लिम्बू २८, मधेसी आदिवासी १५, नेवार ५, गुरुङ, मगर र पहाडी दलित ३/३ र मुस्लिम समुदायबाट २ जनाले प्रतिनिधित्व गरेका थिए । दोस्रो पटक भइहेको प्रदेशसभा निर्वाचनमा ब्राह्मण क्षेत्री समुदायका ५९, राई, लिम्बू, गुरुङ ३४, मगर ३, नेवार ३, मुस्लिम २, थारू, राजवंशी ४ र मधेसी समुदायबाट ७ गरी ५६ क्षेत्रमा १ सय १२ उम्मेदवार दुवै गठबन्धन दलबाट प्रतिस्पर्धामा छन् ।
प्रा.डा. वेदराज आचार्यले प्रदेशसभाको दोस्रो कार्यकालमा पनि प्रदेश नामकरण चुनौतीकै विषय बन्ने अवस्था रहेको बताए । उनले यसपटक पनि भूगोल र पहिचान पक्षधरबीच सन्तुलन हुने गरी प्रदेश सांसदहरू जितेर आउने परिदृश्य नदेखिएकाले प्रदेश नामकरण थप पेचिलो बन्ने आशंका व्यक्त गरे ।
