चुनावप्रति नै निराश मतदाता

कार्तिक ४, २०७९

चन्द्र कार्की

तेह्रथुम — संखुवासभा, तेह्रथुम र ताप्लेजुङको सीमा गुफा क्षेत्रमा यो पटकको चुनावी चहल पहल अघिल्लो जस्तो छैन । स्थानीयलाई यसको कुनै पर्वाह छैन । गुफा बजारभन्दा केही माथिको जोरपोखरीका ६४ वर्षीय लाक्पा शेर्पा चुनावदेखि निराश छन् । ‘चुनावले हामीजस्ता दुःख गर्ने भुइँमान्छेका लागि हुनेवाला केही छैन,’ उनले चुनावप्रति निराशा पोखे ।

यो रुटमा पर्ने वसन्तपुरदेखि चौकी र मंगलबारे क्षेत्रका साना पर्यटकीय बजारका मतदातामा पनि चुनावबारे चासो देखिएन । चुनावले यहाँको माहौलमा खासै फरक नपारेको मंगलबारेका व्यवसायी ओमनाथ शाहले बताए । ‘पहिला घरघरमा झन्डा हुन्थे, स्थानीय काम पन्छाएर चुनावमा होमिन्थे, अहिले त्यस्तो जोसजाँगर देखिएको छैन,’ शाहले भने, ‘चुनाव लक्षित व्यापार पनि चम्किएको छैन ।’ उनले भनेझैं यो पदमार्गको चौकी बजारमा पुग्दा पनि चुनावी उमंग देखिएन । दलका नेता तथा उम्मेदवार भोट माग्न पनि आइपुगेका छैनन् । सर्वसाधारण दैनिक कार्यमा व्यस्त भेटिए ।

दल र तिनका उम्मेदवारले टोल तथा वडास्तरमा मात्र भेला र घरदैलो गरिरहेका छन् । चार दशक बढीदेखि शिक्षण पेसामा संलग्न स्थानीय उदयकुमार लोले नेताहरूले अघिल्लो चुनावमा गरेका वाचा पूरा नगर्दा मतदातामा निराशा छाएको बताउँछन् । २०७४ मा सम्पन्न निर्वाचन संघीयता कार्यान्वयनपछिको पहिलो भएकाले पनि उत्साह निक्कै थियो । नयाँ संविधान कार्यान्वय र नेपालमा संघीयताको अभ्यास सुरु भएकाले पनि चुनावमा मतदाताको निकै उत्साह देखिन्थ्यो ।

उम्मेदवारले पनि गाउँमै सिंहदरबारको कर्णप्रिय नारा लगाएका थिए । अघिल्लो चुनावको प्रतिबद्धताअनुसार अहिलेसम्म पनि काम नहुँदा मतदाता खिन्न देखिएको मंगलबारेका शंकर कार्कीको बुझाइ छ । द्वन्द्वकालमा माओवादीको भूमिगत राजनीति गरेका उनी अहिले सामान्य व्यवसाय गर्छन् । ‘राजनीतिको ट्र्याक बिग्रियो,’ उनले भने, ‘राजनीतिलाई कमाउधन्दा बनाइएकाले विश्वास घट्दै गएको हो ।’

गुफा बजारको याक होटलमा भेटिएका संखुवासभाको चैनपुर नगरपालिका–१ का वडाध्यक्ष बुद्धिमान् लिम्बूका अनुसार गाउँदेखि बजारसम्मै चुनावी माहोल छैन । बजारको आधा भाग यही वडामा पर्छ । स्थानीयमा चुनावी उत्साह नदेखिँदा दलका उम्मेदवार र कार्यकर्ता पनि चलायमान देखिँदैनन् । विगतमा देशको नयाँ संरचनाका कारण चासो, चर्चा र उत्साह धेरै भएको तर अहिले चुनावी माहोल तात्न बाँकी नै रहेको उक्त बजारमा भेटिएका मादी नगरपालिका–१ का सुरेन्द्रकुमार कार्कीको बुझाइ छ । उक्त गुफा क्षेत्रमा ०५२ देखि याक होटलका सञ्चालक ६३ वर्षीय फुजुङ शेर्पासँग विगतका निर्वाचनमा धेरैपटक भोट हालेको अनुभव छ । यसपटकको निर्वाचनमा भिन्न र खिन्न माहोल भएको उनले बताए । हरेक निर्वाचनमा दल र तिनका उम्मेदवारले बाँड्ने आश्वासनले न त दैनिकी फेरिएको छ, न कुनै परिवर्तन आएको छ ।

‘जनताका समस्याप्रति नेताले चासै दिँदैनन्, सिंहदरबारको अधिकार गाउँमा आयो भन्नुमात्रै हो,’ शेर्पाले भने, ‘हरेक पटक जनतालाई झुक्याउने काम मात्रै भयो ।’ निर्वाचनमा दलहरूले दिने भाषण र आश्वासनले स्थानीयको समस्या समाधान गर्न नसकेको गुनासो उनकी श्रीमती डोङगा शेर्पाले गरिन् । भलै उनी राजनीतिमा उति सारो चासो दिँदिनन् । पर्यटक ओहोरदोहोर गरिरहने ३ हजार २ सय मिटर माथिको सुकेपोखरीमा खानेपानीको चर्को समस्या छ । पिउनकै लागि स्थानीयले १ घण्टा टाढाबाट पानी बोकेको वर्षौं बितिसक्यो । विद्यालय टाढा हुँदा पढाइमा समस्या छ  । सडकको अवस्थामा पटक्कै सुधार छैन ।

तर, नेताको भाषणमा भने यस्ता समस्या समावेश नै नहुने स्थानीय फुर्वा भोटेको बुझाइ छ । बरु जनता कसरी आफ्नो पक्षमा पार्न सकिन्छ ? र चुनाव जितिन्छ भन्ने मात्रै ध्यानमा दलहरू लाग्दा जनताले जहिल्यै दुःख पाइरहेको उनको छ । २०७४ को निर्वाचनमा जिल्लालाई पाँच वर्षमा समृद्ध बनाउने नारा सबैले लगाए । घरघरमा रोजगारी, खानेपानी, एक गाउँ एक उत्पादन, पर्यटकीय पूर्वाधार निर्माणजस्ता आश्वासन पनि दलका नेताले घरघरमै आएर दिएका थिए । तर, पाँच वर्षमा ती कुनै पनि वाचा पूरा भएका छैनन् ।

अहिले पनि दलहरू तिनै नारा र आश्वासन लिएर आफूहरूसँग आउन सक्छन् भन्ने अनुमान स्थानीयले गरिरहहेका छन् । आफूले जिते गाउँ र नगर समृद्ध हुने उनीहरूका दाबी अहिले पनि दोहोरिनेमा कुनै शंका छैन । यी तिनै जिल्लाका हिमाली र उच्च पहाडी क्षेत्रबाट आएर चार दशक बढी समयदेखि व्यवसाय, चौंरी, याक र भेडापालन गरिरहेका मतदातामा निराशा मात्र बाँकी छ । यस क्षेत्रमा शेर्पा, तामाङ र भोटे समुदायको बाहुल्य छ ।

चन्द्र

Link copied successfully