लुम्बिनी — मंसिर ४ का लागि तोकिएको आमनिर्वाचनका लागि विभिन्न दलबाट उम्मेदवार चुनिएका छन् । ती उम्मेदवार यसबेला घरदैलो, भेटघाट तथा प्रचारमा व्यस्त छन् । उम्मेदवार आउने, मत माग्ने र ‘यसो गर्छु, उसो गर्छु’ भनेर दिने आश्वासनप्रति खासगरी युवा मतदाताले चासो बढाएका छन् । ‘जुनै जोगी आए पनि कानै चिरेका’ भन्ने ध्येय पालेका उनीहरूले उम्मेदवार र दलप्रति दृष्टिकोण बनाउने, छलफल गर्ने र मत दिने मानसिकताको तयारी गर्दै गरेको सुनाए ।
रूपन्देहीका चोक, गल्लीदेखि चिया पसलसम्मै अहिले मत कसलाई र किन दिने भन्ने विषयमा चर्चा र छलफल भएको सुनिन्छ । युवा पिँढी भने मताधिकारको प्रयोग नयाँ अनुहारमा गर्ने मानसिकता बनाइरहेका छन् । अरूलाई मौका दिएको र केही हुन नसकेको निराशा हटाउन नयाँ अनुहारमा मतदान लक्षित रहने उनीहरूको भनाइ छ ।
भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाउने उम्मेदवारलाई आफ्नो मत जाने बुटवल उपमहानगरपालिका–११ का दीपक ढकालले बताए । भ्रष्टाचारमुक्त राष्ट्र बनाउने अभिभारा लिन सक्ने नेता नै असल र सफल हुने उनको बुझाइ छ । ‘म र मेरो परिवारको सोच नै भ्रष्टाचाररहित सुशासनयुक्त समाजको परिकल्पनामा आधारित छ,’ उनले भने, ‘पुराना र दलका नेताभन्दा पनि नयाँ केही गर्छु भनेर अगाडि आउने युवा पंक्तिलाई भोट दिने सोच छ ।’ सुशासन तथा सदाचारबिनाको राजनीतिले देशलाई आर्थिक विनाशतर्फ धकेलिरहेकाले आर्थिक रूपमा तडकभडकरहित निर्वाचन प्रक्रिया वा सरकार चलाउने नेता नै चुन्ने गरी अघि बढ्ने उनको भनाइ छ ।
तिलोत्तमा नगरपालिका–३ की प्रकृति आचार्य भने नयाँ पिँढीलाई नै मत दिने मानसिकता बनाएर बसेको बताउँछिन् । परम्परागत शैलीबाट आएका नेताको धेरै वर्षको यात्रा देखे पनि केही परिवर्तन नदेखेको उनले सुनाइन् । ‘पुराना र पाका भनिने नेताका अब दिन गए, सबैले नवीनतम् सोच भएकालाई अघि सार्नुपर्छ भन्छु म त,’ उनले भनिन्, ‘पुरानाले बिगारेर भताभुंग पारेको भए पनि नयाँले बिगार्दैनन् भन्ने विश्वास छ ।’ नयाँ जोस, जाँगर तथा नीतिलाई कसै न कसैले त मत दिएर काम गर्ने स्थानसम्म ल्याउनुपर्ने धारणा राख्दै आफ्नो मत नयाँ उम्मेदवारलाई नै जाने उनले बताइन् ।
पुरानाले दिएको निराशा मेटाउन नयाँ अनुहारकै विकल्प देखेको तिलोत्तमा–६ का विनोद आचार्य बताउँछन् । स्वतन्त्र युवा नेतृत्वले पुरानाले भन्दा बेग्लै केही त गर्लान् भन्ने आशा रहेकाले मतको प्रयोग सोहीसरह गर्ने उनले बताए । ‘सबै पार्टीलाई कुनै न कुनै समयमा मत दिएर जनताले जिताएकै हुन्, तर आशातित केही गरेनन्,’ उनले भने, ‘विचार गर्न मौका दिन त पर्यो, त्यसैले यसपल्ट युवालाई मौका दिनुपर्छ भन्ने लागेको छ ।’ यही समाजका नागरिक नै नयाँ उम्मेदवारका रूपमा आउने भएकाले उसको पृष्ठभूमि बुझेर नयाँ योजना ल्याउने उनको धारणा छ ।
गणतन्त्र स्थापनापछि देशले झनै विकराल दिशामा बाटो मोडेको महसुस भइरहेको सिद्धार्थनगर–६ का धीरज मल्लिकको बुझाइ छ । उनले विभिन्न दल भनी चुनाव गर्दै देशको ढुकुटी सिध्याउने खेल मन नपर्ने बताए । ‘मताधिकार प्रयोग गर्ने खालको वातावरण नै देखिँदैन,’ उनले भने, ‘शक्ति भएकाको हालीमुहालीमा स्वच्छ राजनीतिज्ञलाई मत दिए पनि अर्थ लाग्दैन ।’ मत दिने विषयमा सुनेका कतिपय अग्रजका बोलीमा आस्थाकै कुरा झल्किने भएकाले आफूजस्ता युवा वर्गको कुरा समाजलाई काँचो लाग्ने उनले तितो अनुभव सुनाए । आफूजस्ता युवाले भने स्वतन्त्र रूपमा आउन चाहने नयाँ अनुहारलाई मौका दिनेबारे छलफल गरिरहेको पाएको उनले दाबी गरे ।
मत दिने बेलामा आस्था सम्झिने प्रवृत्ति नबदलिएको भन्दै देवदह–३ का राज अधिकारीले चिन्ता जनाए । ‘बुबाआमाले जता मत दिए पनि मलाई भने स्वतन्त्र र पैसाको तामझाम नदेखाउने नेतालाई मत दिन मन छ,’ उनले भने, ‘त्यस्ता उम्मेदवारले जित्दैनन् तर आफूलाई सन्तुष्टि मिल्छ ।’ नयाँलाई मत दिनु जोखिम र हार्ने सम्भावना बढी भए पनि आफूलाई त्यसैमा खुसी मिल्ने उनले बताए ।
