दलका पुरानै अनुहार, स्वतन्त्रको लर्को

दलका नेताहरु मात्र होइन, पूर्वप्रहरी महानिरीक्षकदेखि विभिन्न पदबाट निवृत्त भएका प्रहरी अधिकृत पनि उम्मेदवार

आश्विन २४, २०७९

ऋषिराम पौड्याल

काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजधानीका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको १५ निर्वाचन क्षेत्रमा ठूला दलले प्रायः पुरानै अनुहारलाई उम्मेदवार बनाएका छन् । काठमाडौंको १० निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ६, माओवादीले ३ र समाजवादीले १ क्षेत्रमा उम्मेदवारी दिएका छन् । एमालेले भने काठमाडौंका सबै क्षेत्रबाट उम्मेदवारी दर्ता गराएको छ ।

खेलाडी, कलाकार र विभिन्न पेसामा संलग्न व्यक्तिले स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराएका छन् । यस पटकको निर्वाचनमा उपत्यकामा निवर्तमान सांसदसहितले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उपत्यकाका तीनै जिल्लामा यस पटक स्वतन्त्र उम्मेदवारको लर्को छ ।

दलका नेताहरू मात्र होइन पूर्वप्रहरी महानिरीक्षकदेखि विभिन्न पदबाट निवृत्त भएका प्रहरी अधिकृत पनि उम्मेदवार बनेका छन् । कतिपय क्षेत्रमा २०७४ को संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरेका ठूला दलका उम्मेदवार नै दोहोरिएका छन् । त्यस्ता निर्वाचन क्षेत्रमा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने भएको छ । 

कांग्रेस महामन्त्री गगन थापा काठमाडौं–४ बाट उम्मेदवार भएका छन् । उनी तेस्रो पटक उम्मेदवार बनेका हुन् । उनले २०७० को दोस्रो संविधानसभा निर्वाचन र २०७४ को संसदीय निर्वाचनमा सोही क्षेत्रबाट जितेका थिए । उनले पार्टी संसदीय दलमा प्रतिस्पर्धा गरेर प्रधानमन्त्रीको उम्मेदवार बन्ने घोषणा नै गरेका छन् । उक्त क्षेत्रमा एमालेले राजन भट्टराईलाई उम्मेदवार बनाएको छ । २०७४ को निर्वाचनमा पनि थापा र भट्टराईबीच प्रतिस्पर्धा भएको थियो । थापा माओवादी र एकीकृत समाजवादीसहितको गठबन्धनका उम्मेदवार हुन् । 

कांग्रेस नेता प्रकाशमान सिंह निर्वाचन क्षेत्र १ बाट उम्मेदवार बनेका छन् । यसअघि पनि उनले सोही क्षेत्रबाट थोरै मतान्तरणमा विवेकशील पार्टीका रवीन्द्र मिश्रलाई पराजित गरेका थिए । उक्त क्षेत्रमा स्वतन्त्र उम्मेदवारका रूपमा चर्चामा रहेका पुकार बम राष्ट्रिय स्वतन्त्र पार्टीको चिह्नमा उम्मेदवार बनेका छन् । २०७४ मा कांग्रेस नेता सिंहसँग थोरै मतान्तरले पराजित भएका रवीन्द्र मिश्र यस पटक राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार छन् । त्यतिबेला मिश्र साझा पार्टीबाट उम्मेदवार भएका थिए । विवेकशील र साझा पार्टी एकीकरण गरेर विवेकशील–साझा पार्टी गठन भएको थियो तर आन्तरिक कलह बढ्दै गएपछि मिश्र राजसंस्थाको स्थापना, हिन्दुधर्म र संघीयता खारेजीको मुद्दामा सहमत भएर राप्रपा प्रवेश गरेका छन् । उक्त क्षेत्रमा गठबन्धनका तर्फबाट कांग्रेसका सिंह, राप्रपाका मिश्र, सुशासन पार्टीका रमेश खरेल, एमाले भ्रातृ संगठन युवासंघका अध्यक्ष किरण पौडेल र स्वतन्त्र उम्मेदवार पुकार बमबीच प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । 

काठमाडौं ५ मा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा कांग्रेसका प्रदीप पौडेलले पनि सोही क्षेत्रमा उम्मेदवारी दिएका छन् । पौडेलले गृहजिल्ला तनहुँ २ बाट उम्मेदवार बन्ने इच्छा राखेका थिए तर अन्तिममा उनलाई काठमाडौं ५ बाट उम्मेदवार बनाइएको हो । २०७४ को निर्वाचनमा एमालेका पोखरेल उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । त्यतिबेला एमाले–माओवादी गठबन्धनका उम्मेदवार पोखरेलसँग कांग्रेस प्रवक्ता प्रकाशशरण महत पराजित भएका थिए । महत अहिले समानुपातिकमा बसेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले काठमाडौं ८ बाट उम्मेदवारी दर्ता गराएका छन् । सत्तारूढ गठबन्धनका तर्फबाट उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । २०५३ देखि २०६३ सम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव रहेका श्रेष्ठ हाल नेपाल ओलम्पिक कमिटीका अध्यक्ष पनि हुन् । 

ललितपुर ३ बाट माओवादी केन्द्रकी उपमहासचिव तथा ऊर्जामन्त्री पम्फा भुसाल र काठमाडौं २ बाट पूर्वसभामुख तथा माओवादी नेत्री ओनसरी घर्तीले उम्मेदवारी दर्ता गराएकी छन् । घर्ती २०६४ को संविधानसभामा समानुपातिक सांसद थिइन् । २०७० को संविधानसभामा भने रोल्पा २ बाट निर्वाचित भएकी थिइन् । दोस्रो संविधानसभाले संविधान जारी गरेपछि उनी सभामुख निर्वाचित भएकी थिइन् । २०७० देखि २०७२ सम्म संविधानसभा उपाध्यक्ष रहेकी उनी २०७२ देखि २०७४ सम्म सभामुख थिइन् । उक्त क्षेत्रमा एमालेले मणिराम फुयाललाई उम्मेदवार बनाएको छ । भुसालले २०७४ सालको संसदीय निर्वाचनमा सोही क्षेत्रबाट सांसद जितेकी थिइन् । २०७४ सालमा समानुपातिक सांसद बनेकी ओनसरी रोल्पाकी हुन् ।

एमालेले कृष्णगोपाल श्रेष्ठलाई काठमाडौं ९ मा उम्मेदवार बनाएको छ । उनले यसअघि पनि सोही क्षेत्रबाट जितेका थिए । काठमाडौं १० मा कांग्रेसका राजेन्द्रकुमार केसीले उम्मेदवारी दर्ता गराएका छन् । माओवादी–समाजवादीसहितको गठबन्धनको समर्थनमा उठेका केसीले यसअघि पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य जितेका थिए तर माओवादी स्थायी कमिटी सदस्य एवं निवर्तमान सांसद अञ्जना विशंखेले गठबन्धनप्रति असहमति जनाउँदै बागी उम्मेदवारी दर्ता गराएकी छन् । 

काठमाडौं ७ मा कांग्रेससहितको गठबन्धनका तर्फबाट माओवादीको चिह्नमा उम्मेदवार मानुषी यमी भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् । उनी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी हुन् । बाबुरामले भने निर्वाचनमा नउठ्ने घोषणा गरेका थिए । आफूले उठ्ने क्षेत्र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई छाडेका थिए । उक्त क्षेत्रमा राप्रपाका ध्रुवविक्रम मल्लले उम्मेदवारी दिएका छन् । उनी माओवादीबाट राप्रपा प्रवेश गरेका हुन् । ललितपुर २ मा गठबन्धनका तर्फबाट नेकपा समाजवादीका कृष्णलाल महर्जन उम्मेदवार छन् । एमालेले उक्त क्षेत्रमा प्रेमबहादुर महर्जनलाई उठाएको छ । 

भक्तपुर १ मा एमालेका महेश बस्नेत र कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले उम्मेदवारी दिएका छन् । बस्नेत यसअघि पनि सोही क्षेत्रबाट सांसद निर्वाचित भएका थिए । क्षेत्र नम्बर २ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले उम्मेदवारी दिएका छन् । उनले यसअघि पनि सोही क्षेत्रबाट जितेका थिए । उक्त क्षेत्रमा माओवादीबाट सुनील गोथे (बासु) ले उम्मेदवारी दिएका छन् । उक्त क्षेत्र मजदुर किसान पार्टीको प्रभाव क्षेत्र मानिन्छ । 

विगतको तुलनामा यस पटक काठमाडौंमा स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य छ । निर्वाचन आयोगले आइतबार राति अबेरसम्म दिएको विवरणअनुसार काठमाडौं १ र २ मा मात्र क्रमशः १२ र ११ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै काठमाडौं ४ र ७ मा क्रमशः १७ र १६ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन् । अन्य क्षेत्रमा पनि स्वतन्त्रको संख्या उल्लेख्य रहेको आयोग स्रोतले जानकारी दियो । 

एमालेका निवर्तमान सांसद रामवीर मानन्धरले काठमाडौं–७ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनी २०७० को दोस्रो संविधानसभा निर्वाचन तथा २०७४ को संसदीय निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । एमालेले उक्त क्षेत्रमा श्याम घिमिरेलाई उम्मेदवार बनाएको छ । 

काठमाडौं ५ मा रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । उनी २०७४ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा उठेकी थिइन् । विवेकशील पार्टीबाट उठेकी उनले २३ हजारभन्दा बढी मत प्राप्त गरेकी थिइन् । मिलन पाण्डेले नयाँ गठन भएको साझा पार्टीको पाइला चिह्न प्रयोग गरेर काठमाडौं ९ मा उम्मेदवारी दिएका छन् । उनले उक्त पार्टीको चिह्न प्रयोग गरे पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully