कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

रातारात दल बदल्दै मनोनयन

प्रतिनिधिसभामा श्रीमान्–श्रीमती, प्रदेशसभामा दाजुभाइ उम्मेदवार
मधेस ब्युरो

जनकपुर — जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश उपाध्यक्ष शेषनारायण यादवले आइतबार दिउँसो कांग्रेसमा प्रवेश गरेर प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । धनुषा–४(क) मा जसपाबाट टिकट नपाएपछि रुष्ट बनेका उनलाई कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टी प्रवेश गराएर प्रदेशसभाको टिकट थमाइदिएका हुन् ।प्रदेश सांसद रहिसकेका पर्साका प्रह्लाद गिरी लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर एक महिनाअघि एमालेमा प्रवेश गरेका थिए ।

रातारात दल बदल्दै मनोनयन

आइतबार उनले एकीकृत समाजवादीबाट पर्सा–३(ख) मा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । जसपा छाडेर आइतबार बिहान एमाले प्रवेश गरेका लक्ष्मी महतोले महोत्तरी–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणका अभियुक्त महतोले वारेस मिथिलेशप्रसाद यादवमार्फत मनोनयन दर्ता गराएका हुन् ।

एमाले मधेस प्रदेशका निवर्तमान सचेतक किशोरी साह आइतबार नै जनमत पार्टी प्रवेश गर्दै उम्मेदवार बनेका छन् । साहले जनमत पार्टीबाट प्रदेशसभाका लागि धनुषा–१(क) बाट मनोनयन दर्ता गराएका हुन् । एमाले–जसपा तालमेलमा धनुषा–१(क) जसपाको भागमा परेपछि उनले पार्टी फेरेका हुन् । लोकतान्त्रिक समाजवादी पार्टीले टिकट नदिएपछि सुरिता साहले महोत्तरी–२(ख) बाट स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।

जसपासित गठबन्धन गरेकामा रुष्ट बनेको एमाले नेता प्रभु साहले पार्टीले दिएको टिकट पन्छाएर स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले रौतहट–३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका हुन् । साहले जनताको चाहनाअनुसार आफूले स्वतन्त्रमा उम्मेदवारी दिएको बताए । उनकै समूहका कुन्दन कुशवाहाले पनि प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । रौतहट–१ मा पूर्वप्रदेश सांसद बाबुलाल साह र रौतहट–४(क) मा पूर्वप्रदेश सांसद धनलाल ठोकरले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

लोसपा नेता एकवाल मियाँले एमालेमा प्रवेश गरेर प्रतिनिधिसभा सदस्यका लागि बारा–४ मा उम्मेदवारी दिएका छन् । उक्त क्षेत्रमा एमाले–जसपा गठबन्धन छ । कांग्रेस नेता लालबाबु सिंह लोसपाबाट प्रतिनिधिसभाका लागि बारा–३ मा उम्मेदवार बनेका छन् । उनी रातारात कांग्रेस परित्याग गरी लोसपा प्रवेश गरेका हुन् । जसपाका कलैया नगर अध्यक्ष शिवनाथ पटेलले हाम्रो नेपाली पार्टीमा प्रवेश गरी बारा–३(क) बाट प्रदेशसभाका लागि उम्मेदवारी दिएका हुन् । बारा–१(ख) मा मधेस प्रदेशका निवर्तमान सभामुख सरोज यादवले लोसपा परित्याग गरी जसपाबाट उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनका कारण टिकटबाट वञ्चित भएपछि स्वतन्त्र उम्मेदवारी दिने नेता थुप्रै छन् । जसपाकी पूर्वप्रदेश सांसद करिमा बेगमले पर्सा–२(क) बाट स्वतन्त्र उम्मेदवारी दिएकी छन् । जसपाकै पूर्वप्रदेश सांसद जन्नत अन्सारी पर्सा–१(क) बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । जसपाकै नेता मुकेश द्विवेदी पर्सा–२(ख) मा स्वतन्त्र रूपमा उठेका छन् । यस्तै, पर्सा कांग्रेसका नेता अजयकुमार द्विवेदीले क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । द्विवेदीले दाबी गरेको पर्सा–१ मा सत्ता गठबन्धनबाट लोसपाका लक्ष्मणलाल कर्ण उम्मेदवार बनेका छन् । लोसपा नेता शशिकपुर मियाँ पर्सा–१(ख) बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । कांग्रेसका युवा नेता सुधीर पटेलले पनि पर्सा–१(क) बाट प्रदेशसभाका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेका सचिव रघुवीर महासेठले धनुषा–४ र उनकी श्रीमती जुली महतोले धनुषा–३ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका छन् । महासेठ ०७४ को निर्वाचनमा धनुषा–४ बाट निर्वाचित भएका थिए भने महतो एमालेबाट समानुपातिक सांसद थिइन् । महासेठले मनोनयन गरेको क्षेत्रमा सत्ता गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले उम्मेदवारी दिएका छन् । महतोको मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका लोसपाका नेता अनिल झासँग हुने भएको छ ।

झा ०७४ को निर्वाचनमा रौतहट–१ बाट विजयी भएका थिए । त्यहाँ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उठेका कारण उनी धनुषा आएका हुन् । धनुषा–३ मा यसअघिको निर्वाचनमा लोसपाकै राजेन्द्र महतो विजयी भएका थिए । २०४३ को राष्ट्रिय पञ्चायत चुनावमा धनुषाबाट हेमबहादुर मल्ल र उनकी पत्नी शारदा मल्ल विजयी भएका थिए । ‘शेरे धनुषा’ ले कहलिएका हेमबहादुरको पञ्चायतकालमा धनुषाको राजनीतिमा दबदबा थियो ।

जसपाबाट धनुषामा प्रदेशसभा सदस्यका लागि दाजुभाइले मनोनयन दर्ता गराएका छन् । जसपाका जितेन्द्र यादव धनुषा–३(क) बाट र उनका दाजु शैलेन्द्र धनुषा–२(क) बाट उम्मेदवार बनेका छन् । शैलेन्द्र जसपाका पूर्वप्रदेश सांसद हुन् भने जितेन्द्र मुख्यमन्त्री लालबाबु राउतका प्रमुख स्वकीय सचिव हुन् ।

दल बदले, टिकट पाएनन्

यसअघिको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट पर्साको प्रदेश निर्वाचन क्षेत्र नं. ३ (ख) मा निर्वाचित प्रह्लाद गिरी हालै एमाले प्रवेश गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टीका लगाएर पार्टी परिवर्तन गरेका उनले आगामी मंसिर ४ को निर्वाचनमा टिकट पाउने आश्वासन पाएका थिए । तर, जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल भएपछि एमालेले उक्त क्षेत्र जसपाका लागि छाडेको छ । अन्तिम समयमा एमालेबाट टिकट नपाएपछि गिरीले नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दर्ता गराएका छन् ।

जसपाका केन्द्रीय सदस्य वीरेन्द्र यादव दुई महिना अगाडि मात्र पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गरे । उनले पनि प्रदेशसभा निर्वाचनमा टिकट पाउने आश्वासन पाएका थिए । तर, सत्तारूढ गठबन्धनको भागबन्डामा उक्त क्षेत्र कांग्रेसको भागमा परेको छ । यादवले प्रदेशसभाका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जसपाकी मधेस प्रदेश सांसद अञ्जु यादव असोज पहिलो साता जनकपुरमा आयोजित एक कार्यक्रममा एमाले प्रवेश गरिन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले यादवलगायत नेतालाई टीका लगाएर पार्टीमा स्वागत गरेका थिए । यादवका श्रीमान् डा. अनुज यादवले पर्साको निर्वाचन क्षेत्र नं. २ (ख) बाट टिकट पाउने आशा राखेर सांसद यादवले पार्टी प्रवेश गरेकी थिइन् । उक्त निर्वाचन क्षेत्रमा एमालेले हरिराम कुर्मीलाई टिकट दिएको छ ।

– अवधेश झा (सप्तरी), सन्तोष सिंह (धनुषा), श्यामसुन्दर शशि (जनकपुर), सुनिता बराल (महोत्तरी), ओमप्रकाश ठाकुर (सर्लाही), शिव पुरी (रौतहट), लक्ष्मी साह (बारा), भूषण यादव (वीरगन्ज) र शंकर आचार्य (पर्सा)

प्रकाशित : आश्विन २४, २०७९ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?