काठमाडौँ — विवादित अर्थमन्त्री जनार्दन शर्मालाई हटाउन सत्तारुढ दल नेपाली कांग्रेसभित्र चर्को दबाब छ । तर, पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा अर्थमन्त्रीलाई बर्खास्त गर्न तयार छैनन् । अर्थमन्त्रीलाई बर्खास्त गर्दा गठबन्धनमा समस्या हुने र त्यसले आसन्न चुनावमा क्षति हुन सक्ने देउवाको बुझाइ छ । पार्टीका नेताहरुले अर्थमन्त्रीलेबारे प्रस्ट धारणा राखे पनि देउवा भने बोलेका छैनन् । अर्थमन्त्री विवादमा कांग्रेस मझधारमा उभिएको छ ।
गठबन्धन सरकारको नेतृत्वमा रहेको कांग्रेसले अर्थमन्त्रीका गलत गतिविधिको विरोध गर्ने, तर कारबाही भने नगर्ने देखिएको छ । 'यो गठबन्धन सरकार हो । प्रधानमन्त्रीले अर्थमन्त्री हटाउन मिल्दैन, फेरि गठबन्धनमा समस्या हुनसक्छ,' प्रधानमन्त्री निकट एक नेताले भने, 'अर्थमन्त्रीमाथि जुन आरोप छ, यदि त्यो साँचो हो भने मन्त्रीले राजीनामा दिएर छानबिनका लागि सहज गरिदिनुपर्छ ।'
स्रोतका अनुसार विवादित अर्थमन्त्रीबारे प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग निरन्तर संवादमा छन् । दाहालले अर्थमन्त्री शर्मालाई हटाउन चाहे प्रधानमन्त्री देउवा पनि तयार छन् । तर दाहालको सहमतिविपरीत देउवाले शर्मालाई अर्थमन्त्रीबाट बर्खास्त गर्ने अवस्था नरहेको ती नेताको भनाइ छ ।
यसबारे प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच मंगलबार साँझ बालुवाटारमा छलफल भएको थियो । देउवा र दाहालबीच बुधबार संसदीय छानबिन समिति गठन गर्ने र अर्थमन्त्री शर्मामाथि छानबिनको प्रक्रिया अघि बढाउने सहमति छ । बुधबारै अर्थमन्त्री शर्माले संसद्लाई सम्बोधन गर्दैछन् ।
'अर्थमन्त्रीलाई बर्खास्ति होइन, बरु माओवादी केन्द्रले आफ्नो मन्त्रीको सेट नै फेरेको राम्रो हुने प्रधानमन्त्रीको सुझाव छ,' ती नेताले भने । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने अर्थमन्त्री विवादबारे संसदीय छानबिन समिति बनाएर सत्यतथ्य सार्वजनिक हुनुपर्ने बताए ।
'बजेट निर्माणको विषय समेत जोडेर संसद् र आमजनमानसको गम्भीर चासोको विषय बनेको छ । यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय समिति बनाएर यथार्थ कुरा सार्वजनिक गर्नुपर्छ,' उपसभापति खड्काले भने, 'यसरी छानबिन गर्ने विगतदेखि कै अभ्यास हो । मैले त आजै त्यसबारे संसदीय छानबिन समिति बनाऔँ, र विषयलाई छिटो भन्दा छिटो टुंगोमा पुर्याऔँ भनिरहेको छु ।'
उनका अनुसार अर्थमन्त्री शर्मा विवादमा परेको विषयमा प्रधानमन्त्री देउवाले पनि चासो र छलफल गरिरहेका छन् । त्यसबारे गठबन्धनमा समेत छलफल भएको छ ।
कांग्रेसकै अर्का उपसभापति धनराज गुरुङले भने विवादित अर्थमन्त्री शर्मामाथि छानबिनका लागि समिति बनाउनुपर्ने र छानबिन समितिलाई सहयोगकालागि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका छन् ।
'गैरसंवैधानिक कार्य गर्नेहरुका लागि सीसी क्यामेरामार्फत् निगरानी गरिन्छ । सार्वजनिक पद धारण गर्ने व्यक्ति विवादमा तानिएपछि सीसी टिभी फुटेज सार्वजनिक गर्नुपर्छ। जनताले हेर्न पाउनुपर्छ,' उनले भने । उपसभापति गुरुङले विवाद समाधानका लागि तीन वटा विकल्प दिएका छन्, पहिलो- छानबिन समिति गठन, दोस्रो- छानबिन समितिलाई सहयोगकालागि राजीनामा र तेस्रो- अर्थमन्त्रीले राजीनामा नदिए बर्खास्त ।
अर्थमन्त्री विवादमा कांग्रेसका अन्य पदाधिकारी र सांसदहरुले पनि प्रष्ट धारणा राख्दै आएका छन् । अर्थमन्त्रीले राजीनामा दिनु सबैभन्दा उपयुक्त हुने नेताहरुको सुझाव छ ।
सोमबारमात्रै कांग्रेस महामन्त्री गगनकुमार थापाले अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनुपर्ने सुझाव दिएका थिए । अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधानमन्त्रीले पदबाट हटाउनुपर्ने थापाको सुझाव थियो ।
कांग्रेसको मंगलबार बसेको सभापति देउवाबाहेक पदाधिकारीहरुको बैठकमा समेत महामन्त्री थापाले अर्थमन्त्रीका कारण कांग्रेसको इमेज ड्यामेज भइरहेको बताए ।
प्रवक्ता प्रकाशसरण महतले पार्टीको बैठकमा अर्थमन्त्रीबारे कुनै छलफल नभएको बताए । बैठकमा अर्थमन्त्रीबारेको विवाद छलफलको औपचारिक विषय बनेनँ । तर, नेताहरुबीच त्यसबारे छलफल भएको अर्का एक नेताले बताए । 'सरकारको नेतृत्वमा कांग्रेस छ । अर्थमन्त्रीका कारण कांग्रेसको इमेज ड्यामेज भइरहेको छ भन्ने नेताहरुको कुरा थियो,' ती नेताले भने ।
नेताहरुले अर्थमन्त्री विवादबारे सामाजिक सन्जालबाट टिप्पणी गरेका छन् । कांग्रेस सांसद डिला संग्रौलाले अर्थमन्त्री शर्माले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताइन् । 'नैतिकता भन्ने कुरा हराएको हो ? प्रश्न उठिसके पछि राजीनामा दिनुपर्छ कि पर्दैन ?,' संग्रौलाको प्रश्न छ । उनले सरकारका मन्त्रीहरु जवाफदेही हुनुपर्ने बताएकी छिन् ।
