एसपीपीमा ओलीको स्वीकृति, क्षत्रीको पत्राचार- समाचार - कान्तिपुर समाचार

एसपीपीमा ओलीको स्वीकृति, क्षत्रीको पत्राचार

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक २०७२ सालमा सरकारको नेतृत्व गरिरहेकै समयमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकासँग 'नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी)' सम्झौताका लागि पत्राचार गरेको देखिएको छ ।

तत्कालीन प्रधानसेनापति क्षत्रीले नेपालस्थित तत्कालीन अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई औपचारिक पत्राचार गर्दै नेपाल सरकारको तर्फबाट एनजीएसएसपी कार्यक्रममा निकट भविष्य नै सामेल हुन इच्छुक रहेको स्पष्ट पारेको तीन बुँदे पत्रको पहिलो बुँदामा उल्लेख गरिएको छ ।

यस्तै, दोस्रो बुँदामा भने यस कार्यक्रममा सहभागी हुँदा यसले दीर्घकालीन तथा दुई पक्षलाई नै फाइदा पुग्ने गरी सुरक्षा सम्बन्ध मजबुत हुनुका साथै सैन्य कुशलता तथा अनुभव आदानप्रदानमा सहयोग पुग्ने तथा सुरक्षा ज्ञान आदानप्रदान गर्न मद्दत पुग्नुका साथै सुरक्षा समन्वयमा थप क्षमता वृद्धि हुनेछ । यस कार्यक्रमले दुवै पक्षको चाहना रहेको प्रकोप प्रतिकार्य तयारी तथा व्यवस्थापन, वायुसेवा पूर्वाधार व्यवस्थापन र सुरक्षा आदानप्रदान र संवेदनशील पूर्वाधार विकासका साथै नेपाली सेनाका अधिकारीहरुको व्यावसायिकरण र विकासमा सहयोग पुग्नेछ ।

साथै, तेस्रो बुँदामा नेपाली सेना यस कार्यक्रमका लागि तत्पर रहेको हुँदा नेपालस्थित अमेरिकी दूतावासलाई उच्च प्राथमिकता दिन आग्रह गरिएको छ । यो पत्र सम्बन्धमा नेपाली सेनाले अध्ययन गरिरहेको बताएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले सार्वजनिक भएको पत्रबारे अध्ययन भइरहेको र सबै बुझेपछि प्रतिक्रिया दिने बताए ।

सच्याइएको : तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्री हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।


प्रकाशित : असार २, २०७९ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्

यसकारण मैले चलचित्र पुरस्कार बहिष्कार गरें

रीना मोक्तान

काठमाडौँ — यही असार ४ मा चलचित्र पत्रकार संघले दिने ‘चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ मैले केही समयअघि फेसबुकमार्फत् नलिने घोषणा गरिसकेकी छु । यसबीचमा धेरै साथी, सहकर्मीले मलाई उक्त घटनाबारे सोध्नुभयो । नजिकका केही साथीलाई सुनाएँ पनि । उक्त घटनाबारे बारम्बार सोध्दा मलाई असहज पनि भयो । सोध्ने जतिलाई सुनाउन पनि सकिनँ । र, त्यसैका आधारमा मेरो चरित्रमाथि नै प्रश्नहरू उठाइए । 

मैले पुरस्कार नलिने घोषणा गरेसँगै संघले सुरक्षा भट्टराईको संयोजकत्वमा सदस्यहरू सृष्टि पोखरेल, गोपीकृष्ण चापागाईं, अन्जान दाहाल (मनीष) र आशिष ओली रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गर्‍यो । घटनाका बारेमा जानकार आशीष ओली र साथी सुरक्षा भट्टराई (चार वर्षअगाडि रुँदै जसलाई मैले घटना सुनाएकी थिएँ) लाई नै छानबिन समितिमा राखियो । पीडक मेरा दुवै साथीका 'नेता' ।

उनीहरू दुवैलाई समितिमा राखेपछि त्यसमा राजनीतिक रंग मिसिएको गन्ध नआएको होइन । यौन दुर्व्यवहारजस्तो संवेदनशील विषयमा साक्षी बन्नुपर्नेहरूलाई नै छानबिन समितिमा राखेपछि संघले औपचारिकताकै लागि यो समिति गठन गरेको हो भन्ने लागेपछि मैले समितिलाई नाम नखुलाउने निधो गरें । समिति गठन गरेकै दिन संयोजक सुरक्षा भट्टराईसँग भण्डारी, सापकोटालगायत अन्य दुई सहभागी भएको गोप्य बैठकमा ती व्यक्तिले आफ्नो कर्तुत स्विकारेको मसँग प्रमाण नै छ ।

तैपनि समितिले छानबिन गरेपछि सार्वजनिक गरेको विज्ञप्तिमा त्यसबारे कतै उल्लेख गरेको पाइएन । संघले समितिमा अघिल्लो कार्यसमितिका परिपक्व व्यक्तिलाई संलग्न गराउन सक्थ्यो । महिला उपाध्यक्षलाई पनि समितिमा नराख्दा छानबिन समितिबाट केही अपेक्षा थिएन र त्यसैअनुरुपको विज्ञप्ति उनीहरूले सार्वजनिक गरे ।

०००

२०७३, फागुन २५ गते चलचित्र पत्रकार संघको चुनाव थियो । भर्खरै रेडियोबाट युट्युबतिर लागेको थिएँ म । फिल्म क्षेत्रको रिपोर्टिङमा एकदमै नयाँ; त्यसमाथि चुनाव पनि नयाँ । चुनावी माहोलमा घुलमिल हुन त्यतिबेला साथी आशीष ओली र एक जना पत्रकार दाइ (पीडक) ले गाइड गरिरहेका थिए । हामीले समर्थन गरेका व्यक्ति एकै थिए, त्यसैले पनि ती दाइ हामीसँग चुनावको समयदेखि नजिकिएका थिए । त्यस दिन उनी पनि सचिवमा निर्विरोध चुनिए ।

‘चुनावको नतिजा सुनेरै घर फर्कनू । बरु ढिला भए घर पुर्‍याइदिऊँला‚’ उनले यति भनेपछि, म मतपरिणाम कुरेर बसें । चुनाव सकिँदा रातको ९:३० नाघिसकेको थियो । उनले घर पुर्‍याइदिन्छु भन्दै स्कुटर निकाले । सँगैका आशिषले ढुक्कले मलाई बिदाइ गरे । स्कुटर बानेश्वरको अर्याल होटलबाट भक्तपुरतर्फ गुड्यो ।

कोटेश्वरमा पुगेपछि, उनले‚ ‘तिम्रो घर त टाढा रहेछ । स्कुटरको पेट्रोल सकिन लाग्यो । तिमी मेरो घरमा बस्नू, भाउजू सँगै भइहाल्नुहुन्छ‚’ भने । उनको गर्लफ्रेन्डलाई हामी त्यतिबेला भाउजु भन्थ्यौं । निकै राति भइसकेको थियो । मैले पनि 'भाउजू'सँग बस्नु ठीक ठानें । ट्याक्सी चढेर घर जान्छु भनेको थिएँ तर उनले मलाई बारम्बार भाउजुको नाम लिएर कन्भिन्स गर्न खोजे; अरु विकल्प पनि थिएन । स्कुटर फर्काएर बानेश्वर हुँदै अनामनगरतर्फ मोडियो । अनामनगर पुग्दै गर्दा उनले मलाई ‘अबेर भइसकेकाले परिवार सबै सुतिसकेको हुन सक्ने र ढोका बन्द हुने बताउँदै हनुमानस्थान नजिकैको एउटा होटलमा पुर्‍याइदिएर आफू घर फर्किने बताए । अर्काको घर गइरहनुभन्दा होटलमै बस्नु सजिलो लाग्यो; मैले ‘हस्’ भने । हनुमानस्थानको होटलमा कोठा नपाएपछि उनले मलाई पुतलीसडकको एउटा होटलमा लगे ।

उनले चोकैपिच्छे कुरा बनाउँदै हिँडेकाले मनमा शंका नउब्जिएको पनि होइन तर दाइ ठानेकाले पनि सुरक्षित ठाउँमै छाडिदेलान् भन्ने विश्वास भने थियो । उनले मलाई ‘रत्नराज्यलक्ष्मी क्याम्पस’ को पछाडिपट्टिको ‘कान्तिपुर होटल’ लगे । त्यसपछि उनले रिसेप्सनमा गएर दुईवटा चाउचाउ र पानी किनिदिए । रजिस्ट्रेसनमा आफ्नो नाम पनि टिपाएजस्तो लाग्छ । त्यसपछि म ढुक्क भएँ; सुरक्षित महसुस गरें । तर‚ त्यसपछि होटल सञ्चालकसँग चाबी मागेर उनी सरासर ‘बहिनीको रुम कस्तो छ म हेरेर जान्छु’ भनेर उक्लन थाले । अनि मन चिसो भयो ।

एकछिनअघिको सुरक्षाभाव क्षणभरमै अत्यासमा बदलियो । कोठामा प्रवेश गरेपछि एकछिन आराम गरेर ‘फर्कन्छु’ भन्दै उनी पलङमा पल्टिएपछि मन आत्तिन थाल्यो । मैले अवस्थालाई सामान्य बनाउन अनुहारमा डर झल्कन दिइनँ । अर्को पलङमा बसेर चाउचाउ खाने कोसिस गरें तर घाँटी अड्किरहेको थियो । उनी पलङको भित्तामा अडेस लागेर ढल्किए । दिमागमा अनेकथरि कुरा खेल्न थाल्यो; म एकोहोरिएछु । ‘बहिनी मेरो छेउमा बसेर चाउचाउ खाऊ’ भन्दा पो झल्याँस्स भएँ । दिमागले केही सोच्नै सकिरहेको थिएन । ‘दाइसँग डराको ?’ भन्न थालेपछि म छेउमा गएर चाउचाउ खान थालें । म निकै आँत्तिएकी थिएँ । त्यतिकैमा उनले मेरो कम्मर समाए । ‘दाइ मलाई यस्तो मन पर्दैन,’ डरले काँप्दै भनेँ ।

‘केही गर्दिनँ’ भन्दै फेरि कम्मरमा हात लगे; मैले हात झट्कारिदिएँ । रुन थालें; त्यसपछि उनी अलिकति डराए । म जोडले रुन खोज्थें तर आवाज भित्रै दबिन्थ्यो । त्यसपछि म अर्को पलङमा बसेर रुन थालें; शरीर लगलग काँपिरह्यो । आफूले दाइ मानेको व्यक्तिले यस्तो गर्लान् भनेर एक प्रतिशत पनि लागेको थिएन । उनलाई विश्वास गरेर होटलसम्म पुगेकोमा आफैंलाई दोषी ठानिरहेँ; पछुताइरहें; रोइरहें । आमाको याद आयो, साथी आशिषलाई सम्झें । फोन गरुँ; फोनमा चार्ज थिएन । रुनबाहेक गर्न केही सकिनँ । त्यतिन्जेलमा उनी निदाए ।

त्यतिबेलै भाग्ने सोचेको पनि हो तर ढोकाको आवाजले ब्युँझिएर जबरजस्ती नै गर्ने हो कि भन्ने लाग्यो । मलाई कतिखेर उज्यालो होला भन्ने भइरह्यो । त्यतिबेला १२/१ बजेको हुँदो हो । मध्यरातसम्म रोएरै बसें । बिहान ३/४ बजेपछि मानिसहरूको चहलपल बढेसँगै विक्षिप्त मानसिकतामै घर पुगें । त्यो कहालीलाग्दो क्षण सम्झँदा अहिले पनि मुटु काँप्छ ।

त्यो घटनाबारे मैले कसैलाई केही सुनाउन सकिनँ । घटनाले मलाई विक्षिप्त बनाए पनि त्यसलाई बिर्सेर अगाडि बढ्ने सोचें । घटना भएको २/४ दिनमै एउटा कार्यक्रममा ती व्यक्तिसँग मेरो भेट भयो । ती व्यक्तिले ‘बहिनी क्षमा माग्छु; मैले तिमीलाई अरु केटीजस्तै सोचेको थिएँ‚’ भने । तर‚ मैले न उनलाई क्षमा दिन सकें न घटना नै बिर्सन सकें । हरेक पटक फिल्मसम्बन्धी कार्यक्रममा ती व्यक्तिलाई देख्दा मलाई उक्त घटना ताजा हुन्थ्यो । मैले उक्त घटनालाई जति नै बिर्सन खोजे पनि सकिरहेको थिइनँ । म त्यस घटनाबाट अझै बाहिर निस्कन सकेको थिइनँ ।

मैले उक्त व्यक्तिलाई क्षमा दिने प्रयास पनि गरेको हो । विगतका वर्षहरूमा उक्त व्यक्ति र मेरो काम गर्ने क्षेत्र एउटै थियो, छ । एउटै कार्यक्रममा ठोक्किँदा उनीबाट अनुहार लुकाएर म भागिनँ । गल्ती मेरो थिएन भने म किन डराउनु ? रिपोर्टिङ गर्ने क्षेत्र एउटै हुँदा अधिकांश कार्यक्रममा भेट हुन्थ्यो । तर, यी वर्षहरूमा म निडर भएर उनको सामुन्ने प्रस्तुत भएकी छु । कहिलेकाहीँ मेरा साथीहरूको समूहमा उनी कुराकानी गर्न आउँथे । उनी छेउमा पर्नासाथ म उक्त घटना सम्झन्थें ।

०००

म घटनालाई चट्टक्कै बिर्सन चाहन्थें । मैले धेरै पटक यो घटनाबारे लेख्छु भन्ने सोचें तर जति पटक लेख्न बस्थें, मेरा हातहरू काँप्थे ।यौन दुर्व्यवहारबारे परिवारले थाहा पाए के भन्लान् ? आफन्त, साथीहरूले के सोच्लान् ? कतै सबैले मलाई नै दोषी देख्ने त होइन ? यिनै प्रश्नहरुबाट डराइरहें । यौन दुर्व्यवहारलगत्तै नजिकका केही साथीलाई घटनाबारे सुनाएको थिएँ तर सम्पूर्ण रूपमा खुल्न सकिनँ । उक्त घटना सम्झँदा आज पनि म विक्षिप्त हुन्छु ।

जब संघले दिने भनेको पुरस्कारको निर्णयमा ती व्यक्तिको पनि सहमति भएको सुनें तब मन पोल्न थाल्यो । अब त म बोल्नैपर्छ भन्ने भयो; मेरो आत्मविश्वास र आत्मसम्मानका लागि । त्यसैले मैले सामाजिक सञ्जालमा पुरस्कार नलिने सम्बन्धमा आफ्नो धारणा पोस्ट गरेँ ।

यो घटनाबारे बोलिसकेपछि अन्य यौन दुर्व्यवहारबारे बोल्ने महिलाले झैं मैले पनि 'भिक्टिम ब्लेमिङ'को सामना गर्नुपर्‍यो । छोटो स्टाटसकै भरमा धेरैले सुरुमै मेरो गल्ती देखे । पुरस्कार नलिने मेरो निर्णयलाई नियोजित र परिचालित ठाने । मैले आदर गर्ने पत्रकार दाजुहरूले पनि मलाई नै गलत देखाउँदै चारित्रिक प्रमाणपत्र थमाइदिन खोजे । सायद उनीहरूले अझै यौन दुर्व्यवहार के हो र पीडितलाई कस्तो व्यवहार गर्नुपर्छ भन्नेसमेत बुझेका छैनन् । 'अधिकांश पुरुषलाई यौन दुर्व्यवहारको अर्थ थाहा छ तर अधिकांश महिलाले यसलाई भोगेका छन्,' हार्वड बिज्नेस रिभ्युमा लियाना वाटरले भनेकी छन्, 'आफ्नो व्यवहार गलत छ भन्ने कुरा पुरुषले थाहा पाएका हुँदैनन् अनि महिलाले त्यही व्यवहारलाई लिएर तिललाई पहाड बनाइएको कुरा गर्छन् । त्यो एकदमै असत्य हो तर दुर्व्यवहारको खास अनुभव महिलाले गरेकी हुन्छिन् ।'

पत्रकार मार्था गिलले गार्डियनमा प्रकाशित एक लेखमा भनेझैं पछिल्लो समय सार्वजनिक वृत्त र अदालतबाट पीडितहरू (आरोपी) माथि नै झूट बोलेको आरोप लगाइन्छ । दुर्व्यवहार पुष्टि गर्न निकै मुश्किल हुन्छ भन्ने उदाहरण हुन् हलिउड निर्माता हार्भे विन्सटाइन । उनीविरुद्ध सयभन्दा बढी महिला साक्षी उभिएका थिए । एउटा साहसी आवाजले धेरै पीडकहरूको मुखौटो उघारिने मात्र होइन, धेरै महिलाहरू दुर्व्यवहारमा पर्नबाट समेत जोगिन्छन् ।

मलाई उक्त व्यक्तिबारे अरुलाई सचेत गराउनु अनि उनैलाई सुध्रिने मौका दिनु थियो । साथै उनको जस्तो नियत भएकाहरुलाई परिवर्तन हुने मौका दिनु थियो । अर्को कुरा, दुर्व्यवहारको घटना सुनाएर मन हलुका बनाउनु थियो । घटनाबारे बोलिसकेपछि धेरैले त्यो व्यक्तिलाई संघबाट ‘हटाइदिन्छु’ भन्दै नाम लिन उक्साए, जुन मेरो उद्देश्य होइन । यौन दुर्व्यवहार सहेर बसेका अन्य पीडितलाई बोल्ने साहस दिन मैले बोलेकी हुँ । यौन दुर्व्यवहारबारे बोलेपछि उक्त मुद्दामा कसरी अगाडि बढ्ने भन्ने संस्कृति हामीकहाँ अझै विकास भइसकेको छैन ।

प्रकाशित : असार २, २०७९ १७:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×