२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

वालेन्द्रलाई बधाई दिँदै सिंहले भनिन् : महानगरवासीको भावना बमोजिम काम गर्न साथ रहनेछ

'मत जित्न सकिनँ तर नगरवासीको मन जित्न सकेँ'

काठमाडौँ — काठमाडौं महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले मेयरमा विजयी वालेन्द्र साह र जनप्रतिनिधिहरूलाई बधाई दिएकी छन् । उनले कार्यकालभरी मेयर साहसहित जनप्रतिनिधिलाई आफ्नो रचनात्मक सहयोग र साथ रहने प्रतिवद्धता व्यक्त गरेकी छन् । 

वालेन्द्रलाई बधाई दिँदै सिंहले भनिन् : महानगरवासीको भावना बमोजिम काम गर्न साथ रहनेछ

सिंहले भनेकी छन्, 'काठमाडौं महानगर प्रमुखमा निर्वाचित वालेन्द्र साहलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु l साथै उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबै आदरणीय व्यक्तित्वमा बधाई ज्ञापन गर्दै महानगरवासीको भावना बमोजिम कार्य गर्न पूर्ण कार्यकालभरी मेरो रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु l'

सिंहले महानगरवासीको मन जित्न सकेको तर मत जित्न नसकेको भन्दै हार स्वीकार गरेकी छन् । 'वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको उम्मेदवारका रूपमा मलाई नगरवासीले दिनुभएको अपार माया, हौसला र समर्थनप्रति म हृदयदेखि आभार प्रकट गर्दछु,' उनले भनेकी छन्, 'विजयी हुने गरी निश्चय नै मत जित्न सकिनँ तर नगरवासी आमाबुबा, दिदीबहिनी, दाजुभाइको मन जित्न सकेँ l अतः लोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापूर्वक स्वीकार र आत्मसात गर्दछु l'

उनले आफू राजनीतिमा निरन्तर लागिरहने पनि बताएकी छन् ।

काठमाडौं महानगरको मेयरमा उनी पराजित भएकी थिइन् । मेयरमा स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७ सय ६७ मत ल्याई विजयी भएका थिए । कांग्रेसकी सिंहले ३८ हजार ३ सय ४१ मत ल्याएकी थिइन् । एमालेका केशव स्थापित तेस्रो भएका थिए । उपमेयरमा एमालेकी सुनिता डंगोल ६८ हजार ६ सय १२ मतसहित विजयी भएकी थिइन् ।

प्रकाशित : जेष्ठ १३, २०७९ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?