गठबन्धनमा जुटेन सहमति, आज पनि बैठक

फाल्गुन ६, २०७८

बबिता शर्मा

काठमाडौँ — अमेरिकी सहयोग निकाय एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान ९ बजे फेरि बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्झौतालाई जतिसक्दो छिटो संसद्मा अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तयार नरहेकाले शुक्रबारको बैठकमा सहमति हुने सम्भावना भने कमै रहेको गठबन्धनका एक नेताले बताए ।

बिहीबार अपराह्न बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले शुक्रबारको संसद् बैठकमा एमसीसी सम्झौता टेबल गर्ने प्रस्ताव राखेका थिए । उनले फागुन १६ भित्र एमसीसी सम्झौतालाई निष्कर्षमा पुर्‍याउनैपर्ने भएकाले संसद्मा पेस गरेर छलफल गर्नुपर्ने उनको भनाइ थियो । प्रधानमन्त्रीले यसअघि बुधबारकै बैठकमा सम्झौता अघि बढाउन कोसिस गरेका थिए । ‘एमसीसी सम्झौता पूर्ववर्ती सरकारले संसद्मा दर्ता गरेको हो । 

सरकार अविच्छिन्न उत्तराधिकारी हो । फागुन १६ सम्म निष्कर्षमा पुर्‍याउनुपर्ने हुनाले संसद्मा टेबल गर्न प्रधानमन्त्रीज्यूले प्रस्ताव गर्नु भएको छ,’ सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘त्यही प्रस्तावको वरिपरि छलफल भएको छ ।’ 

बैठकमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले परिमार्जन नभई एमसीसी सम्झौताका पक्षमा जान नसकिने उल्लेख गर्दै टेबल गर्न पनि संसद् खोल्नुपर्ने सर्त दोहोर्‍याएका थिए । ‘यति महत्त्वपूर्ण मुद्दा संसद् अवरोध रहेको बेला लैजान सम्भव हुन्न । त्यसकारण संसद् सञ्चालन छलफल र बहससहित निर्णय प्रक्रियामा जाने वातावरण बनाउनुपर्‍यो,’ बैठकमा राखेको धारणा उल्लेख गर्दै श्रेष्ठले भने, ‘सँगसँगै पार्टीबीच सहमति बनेर कार्यसूचीमा राख्नुपर्छ ।’ श्रेष्ठपछि बोलेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको धारणा त्यही रहेको उल्लेख गरेका थिए । 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ७ गते (शनिबार) पार्टीको बैठक भएको जनाउँदै त्यसपछि निर्णय दिने बताएका थिए । ‘कांग्रेस र माओवादीले धारणा बनाइसके । हामी पनि बैठकबाट निर्णय गरौंला,’ अध्यक्ष नेपालले भनेका थिए । लगत्तै प्रधानमन्त्री देउवाले ‘त्यसो भए ८ गते पेस गर्ने सहमति यही बैठकबाट गरौं’ भनेर अर्को प्रस्ताव गरेका थिए । जवाफमा नेपालले पार्टी निर्णय नहुँदा सम्म ग्यारेन्टी गर्न नसकिने बताएका थिए । एकीकृत समाजवादीका नेता झलनाथ खनालले भने परिमार्जन हुनुपर्ने अडान राखेका थिए । 

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले ‘शुक्रबार नै संसद्मा टेबल गरौं’ भन्ने प्रधानमन्त्री देउवाको प्रस्तावमा समर्थन जनाएका थिए । ‘कमसेकम टेबल त गरौं । सार्वभौम संसद् हो । त्यसले छलफल गर्छ । जनतामा रहेको भ्रम संसद्को बहसले चिर्छ । हामी कोठामा बसेर माथापच्छी गर्नुभन्दा त्यो राम्रो हुन्छ,’ बैठकमा राखेको धारणा उल्लेख गर्दै भट्टराईले भने । तर जसपाकै नेता एवं मन्त्री राजेन्द्र श्रेष्ठले भने गठबन्धनमा सहमति नभई एक्लै अगाडि नबढ्न प्रधानमन्त्री देउवालाई आग्रह गरे । ‘सहमति नभई एक्लै अगाडि बढेर निकास आउँदैन,’ उनले भनेका थिए । 

आफ्नै पार्टीमा पनि केही नेता संकीर्णताको पक्षमा देखिएको तर ठूलो संख्या एमसीसी सम्झौता अनुमोदन गरेर जानुपर्ने पक्षमा रहेको भट्टराईले दाबी गरे । दाहाल र नेपालको राजनीतिक स्वार्थले अन्योल सिर्जना गरेको उनको टिप्पणी छ । ‘कांग्रेसले आफ्नो पोजिसन स्पष्ट गरेको छ । 

प्रचण्डजीहरू सरकारमा रहन चाहिराख्नुभएको छ, एमसीसीको विपक्षमा लाग्ने अडान पनि लिनु भएको छ । माधवजी पनि त्यस्तै अवस्थामा हुनुहुन्छ । झलनाथ खनालजीले विरोध गर्नुभएको छ,’ भट्टराईले कान्तिपुरसँग भने, ‘राष्ट्रवादी छवि बनाएर जनताको भोट लिने, सत्ताको लाभ पनि लिइराख्ने भन्ने अन्तरद्वन्द्वमा अल्झिनु राम्रो होइन । यसले निकास दिँदैन । सबैले अडान राख्ने र निकास पनि दिने गर्नुपर्छ ।’ 

बैठककै बीचमा प्रधानमन्त्री देउवाले आफू एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जान लागेको जानकारी दिएका थिए । एक नेताका अनुसार देउवाले बालकोट जाने भनेपछि अरूले ठट्यौली पारामा ‘त्यहाँ केही सहमति हुँदै छ कि के हो ?’ भनेका थिए । ‘होइन, संसद्को अवरोध अन्त्य गर्नुपर्‍यो र एमसीसीबारे आफ्नो अडान प्रस्ट पार्नुपर्‍यो भन्न जान लागेको हो,’ देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने । गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा बालकोटस्थित एमाले अध्यक्ष ओलीको निवासमा पुगेका थिए ।

एकीकृत समाजवादीका एक नेताले एमसीसी सम्झौता अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने खेल सुरु भएको दाबी गरे । ‘केपी ओली सबै सत्ता साझेदारी गर्न र एमसीसी पनि पास गर्न सहमत भए संसद् खुल्छ र यो प्रक्रियामा अगाडि बढ्छ । त्यसो हुँदा सभामुखलाई हटाउन कसरी दुई तिहाइ पुर्‍याउने भन्नेमा जान्छन् । ओली सहमत भएनन् भने के हुन्छ भन्नेचाहिँ अन्योल छ ।’

एमसीसी आज टेबल हुने सम्भावना न्यून

प्रतिनिधिसभाको शुक्रबार बस्ने बैठकमा एमसीसी सम्झौता हुने सम्भावना न्यून छ । संसद् सचिवालयले बिहीबार निकालेको सम्भावित दैनिक कार्यसूचीमा एमसीसीसम्बन्धी एजेन्डा उल्लेख छैन ।

संघीय संसद्का महासचिव भरतराज गौतमद्वारा जारी दैनिक कार्यसूचीको सम्भावित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदन प्रस्तुत गर्ने उल्लेख छ । सभामुख अग्निप्रसाद सापकोटाले कार्यसम्पादन परामर्श समितिको बैठक शुक्रबार ११ बजे बोलाएका छन् । गठबन्धनमा सहमति नहुँदासम्म एमसीसी सम्झौता अघि बढाउन सभामुख सापकोटा तयार देखिएका छैनन् । 

कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले भने एमसीसी सम्झौता शुक्रबार संसद्‍मा टेबल गर्न प्रयास गर्ने बताएका छन् । ‘दलहरूबीच सहमतिका लागि दुई दिनको समय लिइएको हो, त्यसअनुसार प्रधानमन्त्रीज्यू आफैं सक्रिय भएर सहमतिको प्रयास निरन्तर गरिरहनुभएको छ, उहाँले सबैलाई सहयोगको आह्वान गर्नुभएकै छ,’ उनले भने, ‘जे भए पनि सम्झौतालाई संसद्‍मा पेस नगरी हुँदैन ।’ उनले एमसीसी सम्झौताका विषयमा शुक्रबारसम्म राष्ट्रिय सहमति वा अन्य दलबीच सहमति हुन सक्ने बताए । ‘भोलि (शुक्रबार) सम्म केही हुन्छ,’ उनले भने । 

मन्त्री बडूले दलहरू विभाजित हुँदा जनता पनि विभाजित भएर सडक प्रदर्शनमा उत्रिएकाले संसद्‍मा पेस भएपछि त्यसका राम्रा, नराम्रा पक्षमाथि बहस गरेर सडक शान्त पार्न सकिने बताए । ‘यो संसद्को क्षेत्राधिकारको विषय हो, केपी ओलीकै सरकारले यसलाई संसद्‍मा दर्ता गरिसकेको छ, अहिले हामीले त्यसैलाई अघि बढाउन खोजेका हौं,’ उनले भने, ‘हिजो उहाँहरूले नै अघि बढाएको कुरामा अहिले असहयोग गर्नुपर्ने कारण के छ र ?’ मन्त्री बडूले यसमाथि लामो अलमल हुँदा जनतामा थप आशंका फैलिएको बताए । ‘गठबन्धन सरकार भनेकै विभिन्न विचारको मेल हो । छलफल गरेर अघि बढ्नुपर्छ भन्ने हो, तर उहाँ (माओवादी केन्द्र, एकीकृत समाजवादी) हरूले निर्णय दिन सक्नुभएन,’ उनले भने, ‘सहयोग गर्छौं पनि भन्ने तर टेबल गर्नै नदिने गर्नुभयो । अब ढिलो नगरी निकासतर्फ लैजानुपर्छ ।’ मन्त्री बडूले आफ्नै सरकारले अघि बढाएको विषयमा एमाले चुप लागेर बस्न नमिल्ने बताए ।

एमसीसी

बबिता शर्मा कान्तिपुर दैनिकमा राजनीतिक ब्यूरोमा कार्यरत छिन् ।

Link copied successfully