कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सभामुखले बोलाए कार्यव्यवस्था समिति बैठक

कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । शुक्रबार दिँउसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकका कार्यक्रम तय गर्नका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । 

सभामुखले बोलाए कार्यव्यवस्था समिति बैठक

सभामुखको सचिवालयका अनुसार शुक्रबार बिहान साढे ११ बजे बस्ने गरी कार्यव्यवस्था समितिको बैठक बोलाइएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरको शंकर हलमा बस्नेछ ।

कार्यव्यवस्था समितिमा एमसीसी प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्ने प्रस्ताव सरकारले यसअघि नै राखेको छ । एमालेले भने बुधबारको कार्यव्यवस्था समिति बैठक बहिस्कार गरेको थियो । संसद् बैठक निरन्तर अवरोध गर्दै आएको एमालेले कार्यव्यवस्था समितिमा आफ्ना भनाइ राखेर बाहिरिँदै आएकोमा बुधबार भने बहिष्कार नै गरेको थियो ।

कार्यव्यवस्था समितिमा एमसीसीलाई प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्ने विषयमा सत्तारुढ गठबन्धनका दलहरूबीच मत मिलेको थिएन । कांग्रेसले एमसीसी प्रस्तुत गर्नुपर्ने धारणा राखेपनि माओवादी र एकीकृत समाजवादीले भने प्रतिनिधिसभा अवरोध भइरहेको अवस्थामा एमसीसी लगायत कुनै पनि विषय प्रवेश गर्न नसक्ने बताएका थिए ।

शुक्रबारका लागि सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा एमसीसी राखिएको छैन । कार्यसूचीको टुंगो कार्यव्यवस्था समिति बैठकपछि लाग्ने गर्छ ।

सत्तारुढ गठबन्धनमा एमसीसी संसद् बैठकमा प्रस्तुत गर्नेबारे बिहीबार साँझको बैठकमा सहमति जुटेको छैन । सत्तारुढ गठबन्धन शुक्रबार बिहान फेरि बैठक गर्ने तय भएको छ । सत्तारुढ गठबन्धनको बैठकपछि प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठक बस्नेछ ।

प्रकाशित : फाल्गुन ५, २०७८ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?