काठमाडौँ — बैठकको सुरुमै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल गरेर संसद्मै छलफल गर्न प्रस्ताव गरेका थिए । तर, नेताहरूले त्यसलाई अस्वीकार गरेका छन् । जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बैठकमा एमसीसीबारे छलफल भएपनि सबैले आ–आफ्नै अडान दोहोर्याएको बताए ।
‘बैठकको सुरुमै प्रधानमन्त्रीले एमसीसीमा धेरै विभाजित नहोऔँ, यो अनावश्यक हो भनेर आव्हान गर्नुभयो । तर, अरु साथीहरूको अडान कायमै रह्यो,’ उनले इकान्तिपुरसँग भने, ‘आज सहमति जुटेन । भोलि फेरि छलफल गर्ने कुरा छ ।’
बैठकमा प्रधानमन्त्री देउवाले संसद्मा टेबल गर्दैमा पास गर्ने वा फेल गर्नेबारे निर्णयमा पुग्नु नपर्ने भनेका थिए । ‘पहिले संसद्मा पेश गरौँ । त्यसपछि यसमाथि छलफल गरेर पास फेलबारे निर्णयमा पुगौँला, भोलि पेश गरौँ, त्यही छलफल गरौँ,’ प्रधानमन्त्री देउवाको प्रस्ताव थियो ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले भने अहिलेकै अवस्थामा एमसीसी संसद्मा टेबल गर्नै नमिल्ने अडान लिएका थिए । ‘टेबल गरेपछि यथार्थ के हो ? जनतालाई पनि थाहा हुन्छ, त्यसैले यसलाई टेबल गर्नै नमिल्ने केही पनि छैन, सरकारलाई टेबल गर्न दिऔँ,’ बैठकमा नेता भट्टराईले भनेको सुनाए ।
बैठकमा सबै दलहरूले आ–आफ्नो कुरा राखेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । ‘एमसीसी सम्झौता पूर्ववर्ती सरकारले नै टेबल गरेको हो, सरकार अविछिन्न उत्तराधिकारी संस्था हो । त्यसैले हामीले अहिले संसद्मा टेबल गरौँ भनेको हो । तर, सहमति भइसकेको छैन । अहिले हामीले फागुन १६ गतेभित्र एउटा निष्कर्षमा पुर्याउनुपर्ने अवस्था छ, छलफल भइरहेको छ, भोलि पनि छलफल हुन्छ,’ उनले भने । उनले शुक्रबार बिहान १० बजे पुनः छलफल हुने बताए ।
प्रधानमन्त्री देउवा तत्कालै संसद्मा एमसीसी टेबल गरेर एक साताभित्रै पास गर्नुपर्ने पक्षमा छन् । तर, त्यसमा गठबन्धन दलमै सहमति छैन । सरकारले बुधबारको प्रतिनिधिसभा बैठकमै एमसीसी टेबल गर्ने प्रस्ताव गरेको थियो । तर, गठबन्धनको विमतिकै कारण रोकिएको थियो । अहिलेको गठबन्धनको छलफलपछि एमसीसी शुक्रबार टेबल हुने वा नहुनेबारे अझै अन्योल कायमै छ । शुक्रबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।
बैठकमा प्रधानमन्त्री देउवा, कांग्रेसबाट महामन्त्री गगन थापा, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ लगायत नेताहरू सहभागी थिए ।
बिहीबारको बैठकमा राष्ट्रिय जनमोर्चालाई भने बोलाइएको थिएन । बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादवसमेत सहभागी थिएनन् ।
